१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

‘नियम मिचिएको’ नियुक्तिविरुद्ध प्राध्यापकहरू आन्दोलित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले नियम मिचेर अवैधानिक रूपमा त्रिवि वनविज्ञान अध्ययन संस्थानको सहायक डिन र पोखरा क्याम्पस प्रमुख नियुक्त गरेको भन्दै प्राध्यापकहरू आन्दोलित बनेका छन्। दुई वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुख तथा वनविज्ञान अध्ययन संस्थानको सहायक डिनको नियुक्तिलाई उपकुलपतिले अड्काएर हाल मनोमानी ढंगले नियुक्ति गरेको आन्दोलित प्राध्यापकहरूको आरोप छ। अध्ययन संस्थाका डिन कृष्णराज तिवारीले त्रिवि नियमअनुसार क्याम्पस प्रमुखमा सहप्राध्यापक डाक्टर ठाकुर सिलवाललाई सिफारिस गरेका थिए।

वनविज्ञानकै सहप्राध्यापक भएको, यस विषयमा विभिन्न अध्ययन अनुसन्धान गरेको विषयविज्ञता भएको तथा वरिष्ठताको आधारमा डिन तिवारीले क्याम्पस प्रमुखमा सिलवाललाई सिफारिस गरेको भए पनि उपकुलपति बाँस्कोटाले त्यसलाई लत्याएर दलगत राजनीतिक हिसाबले नियम मिचेर कनिष्ठलाई प्रमुखमा नियुक्ति गरेको प्राध्यापकहरूको भनाइ छ। यो कुनै पनि अवस्थामा सह्य नहुने भन्दै आफूहरू आन्दोलनमा उत्रेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिका सभापति राजन सुवेदीले बताए।

उपकुलपति बाँस्कोटाले डिनको सिफारिसलाई बेवास्ता गर्दै उनले जियोलोजीका उपप्राध्यापक रामप्रसाद शर्मालाई तीन महिने कलेज प्रमुखको नियुक्ति दिएका छन्। डिन तिवारीले सहायक डिनमा संस्थानकै वरिष्ठ विषयविज्ञको आधार र कार्य–सम्पादनको आधारमा सहप्राध्यापक डाक्टर राजुराज रेग्मीलाई सहायक डिनका लागि सिफारिस गरी उपकुलपतिसमक्ष पेस गरेका थिए। तर यसलाई समेत लत्याउँदै उपकुलपतिले कनिष्ठ उपप्राध्यापक महेन्द्रसिंह थापालाई सहायक डिनमा तीन महिने नियुक्ति गरेका छन्। हाल प्राध्यापकहरूले कलेज प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी कलेज प्रवेशमा रोक लगाएका छन् भने उपकुलपतिले गलत निर्णय नसच्याए संस्थान ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।

‘पूर्णकालीन कलेज प्रमुख नभएको दुई वर्ष भयो। हाम्रो कलेजको सबै दीर्घकालीन काम–कारबाहीहरू ठप्प बनेका छन्। विश्वविद्यालयमा बढ्दै गएको दलगत भागबन्डाले उच्चशिक्षाको गुणस्तरै खस्किँदै गएको छ,’ सभापति सुवेदीले नागरिकसँग भने, ‘प्राविधिक क्षेत्रका उपकुलपति पाएर हामी उच्चशिक्षा सुधार हुनेमा आशावादी थियौं। तर उपकुलपति बाँस्कोटा सरले भाषण गर्दा विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउने प्रतिबद्धता गरे पनि कार्य–सम्पादनका सवालमा उहाँले पनि राजनीतिक घेराबन्दीमै बसेर काम गर्नुभयो।’

सभापति सुवेदीका अनुसार संस्थानमै नौ जना विषयविज्ञहरू योग्य प्राध्यापक छन्। वरिष्ठता र योग्यताको आधार हेर्ने हो भने पनि त्यही नौ जनाबाटै नियुक्ति गरिनुपर्छ। तर नियुक्ति गरिएका दुवै पदाधिकारीहरू वरिष्ठ होइनन् र विषय विज्ञ पनि होइनन्। राजनीतिक आस्थाकै आधारमा नियम मिचेर गरिएको गलत प्रवृत्तिको विरोध प्राध्यापकहरूले गरेका हुन्।

डिन तिवारीले त्रिविमा पदाधिकारी नियुक्तिबारे स्पष्ट मापदण्ड नहुँदा विश्वविद्यालयमा राजनीतिक विकृति बढ्दै गएको जनाए। उनले आफूले त्रिविको नियमअनुसार वरिष्ठता, विषयविज्ञता, अनुसन्धान गरेको आधारमा कलेज प्रमुख र सहायक डिनको नाम सिफारिस गरे पनि त्यसलाई लत्याएर उपकुलपतिले आफूखुसी नियुक्ति गरेकोमा दुःख व्यक्त गरे। त्रिवि नियमअनुसार सहायक डिन र क्याम्पस प्रमुखको नाम डिनले सिफारिस गरेको आधारमा उपकुलपतिले नियुक्ति गर्नुपर्छ।

‘उपकुलपतिले हामीलाई प्रणालीमा बस भन्ने तर आफू चाहिँ राजनीति दलको कार्यकर्ता बन्नु गलत कार्य हो,’ डिन तिवारीले नागरिकसँग भने, ‘उपकुलपतिले मंसिर १२ गते प्राध्यापक तथा पदाधिकारीहरूसँगको भेटमा विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउने र राजनीतिक भागबन्डा अन्त्य गर्ने प्रतिबद्धता गर्नुभएको थियो। तर कार्य सम्पादन गर्दा उहाँले पनि आफूनिकट व्यक्तिलाई खल्तीबाट नियुक्ति दिनुभयो।’

उपकुलपति धर्मकान्त बाँस्कोटासहित नवनियुक्त कलेज प्रमुख रामप्रसाद शर्मा र सहायक डिन महेन्द्रसिंह थापालाई कम्युनिस्टनिकट प्राध्यापक मानिन्छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App