१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डेमोक्रेटिकको ‘प्राइमरी’ चुनावमा बाइडेनको फराकिलो अग्रता

अमेरिकाको इससेक्स जक्समा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्डर्सका समर्थक ‘प्राइमरी’ चुनाव ¥यालीका क्रममा उत्सव मनाउँदै। तस्बिर ः एपी।

वासिंटन – डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’ चुनावमा पूर्वउपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता बनाएका छन्। अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपतिकी आकांक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गरेकी हुन्।

अमेरिकी समकालीन राजनीतिमा सिनेटर बर्नी स्यान्डर्स र वारेन दुवैले समाजवादी प्रगतिशील धारको प्रतिनिधित्व गर्छन्।
आगामी जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनका लागि म्यासाचुसेट्स राज्यबाट ९१ प्रतिनिधि सहभागी हुन पाउँछन्। आफ्नै गृहराज्यबाट पराजित भएसँगै वारेनको चुनावी दौड समाप्त हुने अड्कलबाजी गरिएका छन्।

पूर्वउपराष्ट्रपति बाइडेनले मंगलबार १४ राज्यमा सम्पन्न चुनावमा ८ वटामा विजयी भएका छन्। डेमोक्रेटिक पार्टीको अन्तिम सम्मेलनबाट चुनिने व्यक्तिले अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न पाउने छन्।

अर्का प्रतिस्पर्धी स्यान्डर्सले भने तीन वटा राज्यमा मात्र विजय हासिल गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार जो बाइडेनले म्यासाचुसेट्ससहित अलाबामा, अर्कान्सा, मिनेसोटा, ओक्लाहोमा, नर्थ क्यारोलिना, टेनेसी र भजिर्निया तथा स्यान्डर्सले भर्मन्ट, कोलोराडो र उटाहामा विजय भएका छन्।

सन् २०१६ मा सम्पन्न प्राइमरी चुनावमा स्यान्डर्सले हिलारी क्लिन्टनलाई मिनेसोटा र ओक्लाहोमामा परास्त गरेका थिए। तर, यसपटक उनी यी दुवै राज्यमा पराजित भएकी छन्। तेलको धनी राज्य क्यालिफोर्निया र टेक्सासको चुनावी नतिजा आउन बाँकी छ। यी राज्यमा स्यान्डर्सको उपस्थिति बलियो रहेको मानिन्छ।

मंगलबारको यस प्राइमरीमा कूल एक हजार तीन सय ५७ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए। देशका कूल पार्टी प्रतिनिधिमध्ये यो संख्या करिब एक तिहाई हो। पूर्वउपराष्ट्रपति बाइडेनलाई डेमोक्रेटिक पार्टीका वरिष्ट नेताहरूले समर्थन जनाएका छन्। उनलाई चुनावी प्रतिस्पर्धामा रहेका एमी क्लोबुचार र पिट बुटिजीजले पनि समर्थन जनाएका छन्। उनीहरू दुवैले चुनावी प्रतिस्पर्धा त्यागेका छन्।

धेरैवटा राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेका कारण स्यान्डर्सको उम्मेदवारीमाथि प्रश्नचिह्न लागेको छ। तर, उनले क्यालिफोर्नियामा आफ्ना उत्साही समर्थकलाई सम्बोधन गर्दै अमेरिकाको इतिहासमा सर्वाधिक खतरा ठानिएका ट्रम्पलाई हराउन आफू मात्र सक्षम रहेको दाबी गरे। ‘पुरानै शैली, व्यवहार र अजेन्डाका आधारमा ट्रम्पलाई हराउन सकिन्न भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ स्यान्डर्सले भने।

अर्कोतर्फ, लस एन्जलसमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी यात्रा निकै जीवन्त रहेको बताए। ‘कुनै गल्ती नगरौं, अबको चुनावबाट डोनाल्ड ट्रम्प बिदा भएरै छाड्ने छन्,’ उनले भने।

राष्ट्रपतिको उम्मेदवार हुन चाहने मुख्य चारै जना प्रतिस्पर्धीहरू (बाइडेन, स्यान्डर्स, एलिजाबेथ वारेन र माइकल ब्लुमबर्ग)ले क्यालिफोर्नियाको चुनावी नतिजा पर्खिरहेका छन्। अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले चुनावका लागि करोडौं डलर खर्चिएका छन्। तर, उनी समोआ द्विपबाहेक कुनै पनि स्थानमा विजयी भएका छैनन्।

चुनावी नतिजा टेलिभिजनमा हेरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवारप्रति विगतमा झैं व्यंग्यपूर्ण ट्विटहरू गरेका थिए। यसको प्रत्यूत्तरमा बाइडेनले ‘नोभेम्बरमा भेटौंला, हामी तपाईंलाई अवश्य हराउनेछौं’ भन्दै ट्विट गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App