१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरको विकासमा एक भएर जाऔँ : देउवा

विश्व नेपाली साहित्यिक महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिरः पुष्पराज/नागरिक

कैलाली- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै पार्टीका नेताहरुलाई सुदूरको विकासका लागि एक भएर आउन आग्रह गरेका छन् । उनले राजनीतिमा सबै दलको आ–आफ्ना विचार भए पनि सुदूरपश्चिमको विकासका लागि भने एक भएर आउन आग्रह गरेका हुन् ।  

सात दिनदेखि धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवको समापन समारोहमा बोल्दै सभापति देउवाले नेकपा र कांग्रेसका नेता तथा कार्यकर्तालाई राजनीतिमा आ–आफ्ना कुरा भए पनि सुदूरको विकासमा एक भएर जान आग्रह गर्दै भने,‘हाम्रा मत अभिमत फरक होलान्,तर सुदूरपश्चिमको विकासका लागि हामी सबै पार्टीका नेताहरुले एक भएर बोल्नुपर्छ ।’ उनले पश्चिम सेती परियोजनालाई निर्माणका लागि विदेशीको मुख ताक्नुभन्दा सुदूरपश्चिमेलीलाई शेयर दिएर यहिँका नागरिकले आफ्नै पैसाले बनाउन आँट गर्नुपर्ने बताए ।

‘पश्चिम सेती बनाउने भन्दा भन्दै वर्षौ वित्यो, तर निर्माण हुन सकेन,’ उनले भने,‘अब हामीले यहीँका नागरिकलाई शेयर दिएर सरकारले पश्चिम सेती बनाउने आँट गर्नुपर्छ ।’ उनले सुदूरपश्चिमका नागरिकले आँट गरेमा पश्चिम सेती दस वर्षमै बनाउन सकिने बताए । ‘हामीले कुनै अवरोध नगरी पश्चिम सेती बनाउन चाहेमा दस वर्षमै बन्छ,’ उनले भने,‘त्यसका लागि हामी सबै जागरुक हुन जरुरी छ ।’

धनगढीमा जारी विश्व नेपाली साहित्यिक महोत्सव सफल भएकोमा बधाई दिँदै उनले भने,‘आज सुदूरपश्चिमले विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुलाई नेपाली भाषाको उद्गमस्थल रहेका काली–कर्णालको सभ्यता सिकाएको छ ।’ नेपाल बहुभाषिक बहुसांस्कृतिक राष्ट्र भएको बताउँदै उनले भने,‘त्यसमा पनि सुदूरपश्चिमको भेषभूषा, कला संस्कृति, रहनसहन मौलिक खालको छ, त्यसको संरक्षण गर्न हामी सबैले लाग्नु पर्छ ।’ उनले सुदूरपश्चिममा पनि यहाँको भाषा बोल्न र लेखनमा वृद्धि होस् भन्दै शुभकामना दिए । उनले डोटेली भाषाको छुट्टै व्याकरण निर्माण गरेर यहाँको भाषा संस्कृतिको संरक्षण गर्न पनि आग्रह गरे ।   

यस्तै विश्व नेपाली साहित्यिक महोत्सवको समापन समारोहका विशिष्ठ अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भाषा कला र साहित्यमार्फत् विश्वभरिका नेपाली भाषीलाई सुदूरपश्चिमसँग जोडाएकोमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धन्यवाद दिए । उनले भने,‘यो महोत्सव यहाँको भाषा, कला र साहित्यिक उत्थानका लागि कोशेढुंगा सावित भएको छ ।’

कार्यक्रममा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिमलाई संघीय सरकारले पनि विकासका लागि नयाँ योजना बनाएको बताए । उनले भने,‘हामीले यहाँको पर्यापर्यटनसँगै उद्योगधन्दामा विशेष जोड दिएका छौँ ।’ सुदूरपश्चिममा प्राचीन समयमा उत्खनन भएका फलाम खानीको अन्वेषण गरेर ती खानीलाई सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

 

प्रकाशित: २० फाल्गुन २०७६ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App