१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सरकार भाषणमा सफल, काममा असफल’

नेपाल प्रेस युनियन बाँकेको पत्रकार भेटघाटमा कांग्रेस नेतृ डा. डिला संग्रौला । तस्बिर: नागरिक

नेपालगन्ज - नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले सरकार अझै पनि अलोकतान्त्रिक बाटोमा जान खोजेको बताएकी छन्। सरकारबाट उत्पन्न भएका विभिन्न काण्ड र घटनाक्रमले यसलाई पुष्टि गरेको उनको भनाइ छ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा मंगलबार गरेको पत्रकार भेटघाटमा प्रतिनिधि सभाका सांसद समेत रहेकी संग्रौलाले भनिनन्, ‘सरकार अलोकतान्त्रिक बाटोमा जान खोज्दैछ, प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दैछन्, मुलुक अराजक अवस्थामा जादैछ।’ नेपाली जनताले विकासको अनुभुती गर्न नपाएको र जनतामा निराशा पैदा भएको नेतृ संग्रौलाले जिकिर गरिन्।

नेपाली कांग्रेसले कुनै समयमा कम्युनिष्ट शासन आयो भने बोल्न पाइदैन, लेख्न पाइदैन भनेर भन्दा केही मानिसहरु हाँस्ने गरेको स्मरण गराउँदै अहिले सरकारको गतिविधीले सोही कुराको पुष्टि गरेको उनले बताइन्। कम्युनिष्ट सरकार समृद्धि र सुशासन दिन तथा कानुन बनाउन असफल भएपनि भाषणमा र कार्यान्वयनमा भने असफल भएको उनको धारणा छ। सरकारले एकपछि अर्को गरी काण्ड निम्त्याउने गरेको नेतृ संग्रौलाले जोड दिइन्।

‘पछिल्लो काण्डको रुपमा सरकारले प्रतिनिधि सभामा हारेका बामदेव गौतमलाई फेरि राष्ट्रिय सभामा ल्याउने गरी संविधान संशोधन गर्ने काण्ड ल्यायो, समिति आफै गठन ग-यो, समिति आफै भंग भयो,’ उनले भनिन् ‘नेपाली जनताले उपचार नपाउने, खान नपाउने, किसानले मुल्य नपाउने, बेराजगार युवाले रोजगारी नपाइरहेको अवस्थामा ‘सर्वहारा’ पार्टीका यो मुलुकका प्रधानमन्त्रीले खर्चिलो रुपमा नेपालको नक्सा भएको केक चिरा–चिरा काटेर धेरैलाई भोज खुवाएर राजतन्त्रको शैलीमा जन्मदिन मनाएका छन्, म खबरदारी गर्छु, जनताको पसिनाबाट उठेको करलाई दुरुपयोग गर्न पाइदैन।’

पत्रकारले सोधेको जिज्ञासामा नेतृ संग्रौलाले पार्टीको आसन्न १४ औं महाधिवेशन महिला मैत्री हुने र महाधिवेशनको नेतृत्व महिलाले गर्नुपर्नेमा जोड दिइन्। उनले थपिन्, ‘संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई आरक्षण दिए पनि वर्तमान सरकारले पु¥याउन सकेको छैन, तर नेपाली कांग्रेसको विधानले एक तिहाई महिला भनेको छ, अब बन्ने समिति र १४ औं महाधिवेशन महिलामैत्री हुन्छ।’ महाधिवेशनका लागि वितरण गर्न लागिएको ५० प्रतिशत कृयाशिल सदस्यताले सबै जात, जातीलाई समेट्ने विश्वास गरिन्।

महाधिवेशनको संघारमा पार्टीले विभाग गठन गरेको सन्र्दभमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिदै संग्रौलाले ढिलै भए पनि पार्टीको विधानलाई समेटेर सभापतिले विभाग गठन गरेको बताइन। विभाग गठन विधान सम्मत भएको उनको जिकिर छ।

‘विभाग गठन सँग–सँगै नेपाली कांग्रेसभित्र केही असन्तुष्टीका स्वर सुनिएको छ, त्यसलाई म स्वीकार गर्छु, लोकतान्त्रिक पार्टीभित्र जहिले पनि नेपाली काग्रेसको इतिहासमा सहमति, समन्वय र सहकार्यको यात्रा हो,’ उनले थपिन् ‘असन्तुष्टि हुन्छन भने पार्टी सभापतिले समय दिएर अगाडि लैजानुपर्छ, त्यो स्वरलाई पनि समेटेर सभापति ज्युले लैजानु हुन्छ, तमाम साथीहरुले गहन जिम्मेवारी पाउनु हुनेछ।’ विभाग गठन समयमै भइदिएको भए चार वर्षको पार्टीभित्र धेरैले जिम्मेवारी पाएर संगठनलाई नयाँ उचाइँमा पु¥याउन योगदान पुग्ने नेतृ संग्रौलाको विश्वास छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App