१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खानीडाँडाबाट शनिबार र मंगलबार उडान

खोटाङ – खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा फागुन २४ गतेदेखि नियमित उडान हुने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थलमा नेपाल वायु सेवा निगमले हप्ताको शनिबार र मंगलबार उडान भर्नेगरी उडान तालिका सार्वजनिक गरेको छ। जिल्लाको केन्द्रकारुपमा रहेको दिक्तेलबजारबाट सबैभन्दा नजिक रहेको विमानस्थलमा झण्डै २१ महिनापछि नियमित उडानको सेड्युल आएको हो।

डिलको माटो कटान हुँदा रन–वेसम्मको भाग भासिएपछि मर्मत गरिएको विमानस्थलमा परीक्षण उडान गरेको ११ दिनपछि नियमित उडान भर्न लागिएको नेपाल वायु सेवा निगमले जनाएको छ। २०७५ जेठदेखि अवरुद्ध विमानस्थलमा फागुन १३ गते नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भरेको थियो। २०७५ जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो सुरु भएपछि विमानस्थल अवरुद्ध भएको थियो। सो विमानस्थल २०७२ असारमा कालोपत्रे गरिएको हो।

रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०–१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएपछि मर्मत गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले विमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको थियो। कटानका कारण विमानस्थलको रन–वेभन्दा दुई–तीन मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्स्ट्रक्सनले करिब साढे ६ करोडमा मर्मतको ठेक्का पारेको थियो। वर्षाको भलपानी निकासका लागि टावर नजिकै राखिएको कल्भर्ट थुनिँदा विमानस्थल कटान भएको यो दोस्रो पटक हो। भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साउनमा धावनमार्गमाथिबाट बगेको भलपानीले विमानस्थलको डिल कटान गर्दा उडान अवरुद्ध भएको थियो।

विमानस्थल पुग्ने सडकको दूरवस्था
मनमायाँ राई खानीडाँडा विमानस्थलमा नियमित उडान भर्नका लागि सेड्युल आए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ। विमानस्थलसम्म पुग्नका लागि प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम भइरहेको छ। तर, कालोपत्रेको काममा ढिलासुस्ती हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको युवा व्यवसायी अजय बस्नेतले बताए। वर्षा भएका बेला अहिले पनि सडक हिलाम्मे हुने गरेको छ। ‘विमानस्थल उडानका लागि तयार भएर मात्र पुग्दैन,’ व्यवसायी बस्नेतले भने, ‘विमानस्थल पुग्ने सडकको अवस्था नाजुक छ। सडकको स्तरोन्नतिमा ध्यान जान जरुरी छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App