१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगको ४२ प्रतिशत क्षमता उपयोगमा आएन

वीरगन्ज पथलैया औद्योगिक करिडोर। तस्बिर : रितेश /नागरिक

काठमाडौं - सरकारले औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने रणनीति लिएका बेला उद्योगले क्षमताको करिब आधा मात्र उत्पादन गरेका छन्। प्रमुख उद्योगले क्षमताको ५७.१० प्रतिशत मात्र प्रयोगमा ल्याएको एक अध्ययनले देखाएको छ। ४२ प्रतिशत क्षमता खेर गएको छ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा अघिल्लो वर्षको तुलनामा उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष उद्योगले क्षमताको ५९.७० प्रतिशत उपयोग गरेकामा यस वर्ष घटेर ५७.१० प्रतिशतमा झरेको छ। यो आर्थिक वर्षमा पनि उत्साहजनक नदेखिएको उद्योगी बताउँछन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले उद्योगको उत्पादन क्षमता भएर पनि प्रयोगमा ल्याउन नसक्नु चिन्ताको विषय भएको बताए। नमुनाका रूपमा गरिएको अध्ययनमा उद्योग आफ्नो क्षमताअनुसार सञ्चालन गर्न नसकेको पाइएको भट्टले बताए।

‘पूर्वाधार निर्माणले गति लिन नसक्दा सिमेन्टको माग बढ्न सकेन,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अझै कठिन देखिन्छ।’ उद्योगको क्षमता बढाउन अुनदान र संरक्षणका कार्यक्रम ल्याउनुपर्ने उनले बताए। ‘स्याम्पलका रुपमा गरिएको अध्ययनमा उद्योगको अवस्था कमजोर देखियो,’ भट्टले भने, ‘उद्योगको क्षमताअनुसार चल्ने वातावरण बनाउनुपर्छ।’ राष्ट्र बैंकका अनुसार फलामको रड, सिमेन्ट उद्योग, पशु दाना, चामल, खाने तेललगायत उद्योगले क्षमता उपयोग गर्न सकेका छैनन्। सिमेन्ट उद्योगले आफ्नो क्षमताको ४०.४० प्रतिशत मात्र उपयोग गरेका छन्। त्यस्तै, फलामे रड उद्योग ६१.५० प्रतिशत, पशु दाना उद्योग ५७.३० प्रतिशत, खाने तेल उद्योग ४८.१०, चामल उद्योग ३१.६० र चुरोट उद्योगले ३६.७० प्रतिशत क्षमता उपयोगमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्दै व्यापारघाटा कम गर्ने रणनीति अपनाइएको बेला  उद्योग क्षमताअनुसार नचलेको भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका छन्।
 

औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्ने रणनीति बनाइरहेका बेला उद्योग क्षमताअनुसार नचलेको भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका छन्। उद्योगले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा क्षमता पूर्ण रुपमा प्रयोगमा ल्याउन नसकिएको उनीहरूको भनाइ छ। नेपाल उद्योग परिसंघ (सिएनआई)का पूर्वअध्यक्ष हरिभक्त शर्मा उद्योगको लागत महँगो भएकाले पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताउँछन्। शर्माका अनुसार भन्सारबाट वस्तु न्यून बिजकीकरण र खुल्ला आयात हुने भएकाले पनि प्रतिस्पर्धा गर्न कठिन भएको छ। ‘दुई ठूला औद्योगिक मुलुकका बीचमा छौं,’ शर्माले भने, ‘विदेशी उद्योगले कम लागतमा उत्पादन गर्ने भएकाले यहाँका उद्योगलाई चुनौती थपिएको छ।’ नेपालका उद्योगको प्रविधि, उपकरण र गुणस्तर कमजोर भएकाले सहज रुपमा विदेशी उत्पादन आएपछि यहाँका उद्योगले कम उत्पादन गरिरहेको बताइएको छ। ‘उद्योगहरू पूर्ण स्तरमा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटेको बताए पनि उद्योगले पूर्ण रूपमा विद्युत् नपाएको गुनासो गरेका छन्। उद्योगको उत्पादकत्व कम र कामदार लागत महँगो रहेको शर्मा बताउँछन्। ‘धेरै समस्याका कारण विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन छ,’ सिएनआईका पूर्वअध्यक्ष शर्माले भने, ‘लागत महँगो भएकाले पनि क्षमतामा चलाउन नसकेका हुन्।’ सरकारले औद्योगिक वातारण तयार गर्ने बताउँदै आए पनि उद्योगी विश्वस्त हुन सकेका छैनन्। बैंकबाट लिइएको कर्जाको ब्याज महँगो, सरकारबाट कुनै छुट नपाइएको जस्ता समस्या रहेको उद्योगी बताउँछन्। ‘नीतिमा पनि परिमार्जन गर्नुपर्छ,’ शर्माले भने, ‘सरकारले सहजीकरण गर्नुपर्छ।’ तीन तहको सरकार निर्माण भएपछि करको दर वृद्धि भएकाले पनि त्यसको मार उद्योगमा परेको उद्योगी बताउँछन्। ‘उत्पादन बजारमा पठाएका आधारमा कर लिन्छन्,’ एक उद्योगीले भने।

विगतमा गलैंचा र कार्पेट उद्योग झैं अहिले अन्य उद्योग समस्यामा पर्न थालेको उद्योगी बताउँछन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाका अनुसार सिमेन्ट उद्योग बढे पनि माग नबढेकाले उत्पादन क्षमतालाई पूरै प्रयोगमा ल्याउन नसकिएको हो। करिब चार खर्ब लगानीमा ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। विगतमा विदेशी सिमेन्ट प्रयोग गर्दै आएकामा अहिले यहाँको सिमेन्ट उद्योगले स्वदेशी बजारको माग धानेर विदेश निर्यात गर्ने समेत क्षमता विकास गरेका छन्। नेपाली बजारमा करिब वार्षिक ९० लाख मेट्रिक टन सिमेन्ट माग छ। यहाँका उद्योगको सिमेन्ट उत्पादन क्षमता एक करोड ३० लाख टन पुगेको छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App