१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुसपैठले वनक्षेत्र मासिँदै

महोत्तरी – वसन्त ऋतु रूखबिरुवामा नयाँ पालुवा फेर्ने मौसमका रूपमा चिनिन्छ। तर वसन्त ऋतुमै वनक्षेत्र उजाडिने, अतिक्रमण हुने, काँचा नयाँ लाथ्रा काटिने र डढेलोले लाग्ने भई वनक्षेत्र मासिँदै गएको छ। जिल्लाको उत्तरवर्ती मुख्य व्यापारिक नगर बर्दिबास नगरपालिका–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ। ५८ दशमलव ३ हेक्टर क्षेत्रफलको यो वन क्षेत्रमा पाँच हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालयले स्वीकार गरेको छ।

प्रत्येक तीन÷तीन वर्षमा नक्सांकन गरिने वनक्षेत्रमा यसअघि २०७४ को प्रारम्भमै गरिएको नक्सांकनभित्रको पाँच हेक्टर क्षेत्रफलमा करिब सयजनाले अतिक्रमण गरी कब्जा गरेको पाइएको डिभिजन कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। अतिक्रमित क्षेत्रमा अहिले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव पे्रमनारायण कँडेल आफैं उपस्थित भएर नयाँ नक्सांकन गरिरहनुभएको छ।

अतिक्रमित क्षेत्रमा कब्जा गर्नेले धमाधम नयाँ पक्की घर बनाउने, तारबार र गरा छुट्ट्याएर आ–आफ्नो साँध छुट्ट्याइएको पाइएको छ। अब यो अतिक्रमणबाट वनक्षेत्र जोगाउन डिभिजन वन कार्यालयले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका सम्बद्ध निकायसँग समन्वय गरेर अघि बढिने डिभिजन प्रमुख साहको भनाइ छ।

यता वनक्षेत्र कज्याएका व्यक्तिले भने यो नयाँ अतिक्रमण वा फँडानी नभई आफ्ना बाबु पुर्खाले वर्षौं पहिलेदेखि भोगी चर्ची आएको बताएका छन्। यस बाहेक जिल्लाका अन्य सामुदायिक वनक्षेत्र र जिल्लाकै सागरनाथ वन विकास परियोजनाका वनक्षेत्र पनि अतिक्रमणको चपेटामा परेका छन्। वनक्षेत्रमा पालुवा भर्खर फेर्दै गरेका बहुमूल्य काठ मानिने साखु (सखुवा) का लाथ्रा काटिने र वनक्षेत्रमा डढेलो लगाउनेक्रम पनि ह्वात्तै बढेको छ।

वनक्षेत्रमा बर्सेनि लगाइने डढेलोले यहाँको वनक्षेत्र उजाड बन्दो छ। प्रत्येक वर्ष फागुन लागेसँगै बढ्ने डढेलो नियन्त्रणका लागि पूर्वसजगता नअपनाइँदा वन क्षेत्र उजाड हुनेक्रम बढेको वनक्षेत्र नजिकका सर्वसाधारण बताउँछन्। ‘वसन्तऋतु रूखबिरुवाले नयाँ पालुवा फेरेर नयाँ जीवन सुरु गर्ने मौसमका रूपमा अथ्र्याइन्छ तर हाम्रो वनक्षेत्रका रूखबिरुवा वसन्तपूर्व नै डढेलोले सखाप हुन्छन्,’ गौशाला नगरपालिका–८ बेलगाछी बस्तीका मीन रहपालले आफ्नै बस्ती छेउको वनक्षेत्रमा डढेलोले ठुट्याएका सालका ठुटा देखाउँदै भने। वन क्षेत्र बर्सेनि फागुन लागेसँगै बढ्ने डढेलो र लाथ्रा (कलिला रूख) काट्ने क्रमले नांगिँदै गएको रहपालको थप भनाइ छ।

जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने वन क्षेत्रमा अतिक्रमण गर्ने, डढेलो लगाउने र लाथ्रा काटिने क्रम बढेपछि जिल्लाको वन क्षेत्र नांगिने क्रम बढेको हो। पूर्वपश्चिम राजमार्गको दक्षिणमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट बढीजसो अतिक्रमणको चपेटामा परेका छन्। पछिल्ला ३० वर्षयता जिल्लामा वनक्षेत्र अतिक्रमणको चपेटामा पर्नेक्रम बढेको बर्दिबास–५ का वडाध्यक्ष दलबहादुर थापा बताउँछन्। पूर्वपश्चिम राजमार्ग वारिपारीको वन क्षेत्रमा डढेलो लगाउने र लाथ्रा काट्नेक्रम ह्वात्तै बढेपछि यहाँका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा अब रूखभन्दा ठुटा (डढेलोले डढाएर र काटिएर बाँकी रहेका रूखको भाग) बढी देखिने गरेका छन्।

फागुन सुरु भएसँगै बढेको डढेलो लगाउनेक्रम नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम ह्वात्तै बढेको स्थानीयको भनाइ छ। वनरक्षक सेवाको काम नभएर जागिर भएको बुझ्ने प्रवृत्ति र वन कार्यालयको उदासीनताले वन उजाड हुँदै गएको वन क्षेत्रसँगै जोडिएको गौशाला नपाएकै लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउनुहुन्छ। वन कर्मचारीको कामप्रतिको उदासीनताले वन सखाप भइरहेको महतोको थप आरोप छ। फागुन लागेसँगै वनमा डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बूढापाकाको ठम्याइ छ।

त्यसैगरी ससाना काँचा लाथ्रा काट्न सामान्य घरेलु हतियार (खुकुरी, खुर्पा, बन्चरो) भए हुने, यस्ता लाथ्रा काट्न धेरै समय नलाग्ने र चाँडै सुक्ने भएकाले वन पसेका सर्वसाधारणले ससाना बुट्यान काट्ने गरेका लक्ष्मीनियाँकै बटुवा बस्तीका सूर्यनारायण महतो बताउँछन्। बर्सेनि फागुन लाग्नासाथै डढेलो लगाउनेक्रम बढ्ने गरेको थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दा एकमुखले बताउँछन्।

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाकोसमेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाउँदै आएको छ। तर पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रूखविहीन बन्दै गएका छन्। यसमध्ये चार हजार हेक्टरभन्दा बढी अतिक्रमणको चपेटामा परेका र यसै सेरोफेरोको क्षेत्रफल डढेलो र लाथ्रा काटिने क्रमले नांगिएका छन्। यद्यपि पछिल्लो एक वर्षयता भएको जनशक्ति यथाशक्य परिचालित गरेर सुरक्षा बन्दोबस्त बढाइएको डिभिजन वन कार्यालयका प्रमुख साह बताउँछन्। वन क्षेत्रको सुरक्षा र प्रबद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट बढी प्रभावकारी हुने हुँदा आफ्नो प्रयत्न यस दिशामा केन्द्रित रहेको साहको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर परिचालित गरिएको र यो कार्यलाई सघन बनाइँदै लगिने जानकारी दिए। कुनै निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासनले जनाएको छ।रासस

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App