१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मनाङलाई बुढा सुब्बा गोल्डकप

२२औं बुढासुब्बा टुबोर्ग गोल्डकप विजेतान मनाङका खेलाडी ट्रफीका साथ। तस्बिर / रोहित राई

धरान - एनओसी मनाङ मर्स्याङ्दी क्लब २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकपको च्याम्पियन भएको छ। शनिबार धरान रंगशालामा भएको फाइनलमा चिर प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ च्याम्पियन भएको हो। मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गोल गरेका थिए। पुलिसका भोला सिलवालले गोल गरे पनि सान्त्वनामा सीमित भयो। यो सिजनमा सहिद स्मारक लिगमा तेस्रो भएको मनाङको मोफसलमा यो पहिलो उपाधि हो।

बुढा सुब्बाको इतिहासमा भने मनाङको यो चौथो उपाधि हो। मनाङले यसअघि छैटौं, १३औं र १८औं संस्करणमा पनि उपाधि जितेको थियो। मनाङले छैटाैँ र १८औं संस्करणमा पनि पुलिसलाई हराउँदै उपाधि उचालेको थियो। यस्तै, १४औं र १७औं संस्करणमा फाइनल खेले पनि मनाङ उपाधिबाट वञ्चित भयो। फाइनलमा मनाङका तर्फबाट ११औं मिनेटमा गोल गर्दै  दयानन्दले अग्रता दिलाएका थिए। पुलिसका गोलकिपर सञ्जित श्रेष्ठको गल्तीमा उनले बल खोसेर जाली चुमाएका थिए।  खेलको ४९औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए। अन्जन विष्टको क्रसमा उनले दर्शनीय गोल गरे। 

मनाङले गरेको दोस्रो गोलको १८ मिनेटपछि पुलिसका भोला सिलवालले पेनाल्टीबाट गोल गर्दै अन्तर २–१ मा झारेका थिए। पेनाल्टी एरियामा मनाङका खेलाडीको हातले बल छोएपछि रेफ्री सुदेश पाण्डेले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए। पेनाल्टीमा गोल गर्दै भोलाले पुलिसको खेलमा फर्कने आशा जीवित बनाए। तर, दोस्रो हाफको इन्जुरी समयमा विमल रानाले गोल गर्दै मनाङको जित सुनिश्चित गरे। उपाधिविजेता मनाङले नगद १० लाखसहित  ट्रफी हात पार्‍यो भने उपविजेता पुलिसले ५ लाख हात पार्‍यो। मनाङका म्यानेजर कुमार भट्टराईले  धरानमा उपाधि जित्नैका लागि टोली आएको भन्दै लक्ष्यमा सफल भएकोमा खुसी व्यक्त गरे।

खेलाडीहरूले मिहिनेत गरेर फाइनलमा वास्तविक खेल पस्किएको  उनको भनाइ थियो। पुलिसका प्रशिक्षक दिनेश गुरुङले पहिलो गोलकिपरको गल्तीमा खानु नै खेलको टर्निङ प्वाइन्ट भएको प्रतिक्रिया दिए। ‘गोलकिपरको गल्तीमा पहिलो गोल खायौं, त्यो नै खेलको टर्निङ प्वाइन्ट भयो,’ उनले भने। फाइनल खेलको म्यान अफ दी म्याच मनाङका अन्जन विष्ट  भए। उनले नगद १५ हजार पाए। फाइनलको उत्कृष्ट गोलको पुरस्कार मनाङका विमल रानाले पाए। उनले नगद ५ हजार थापे। प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङका सुरज विक घोषित भए। उनले डियो स्कुटर पाए। यस्तै, उत्कृष्ट गोलकिपर मनाङका अशोक बराल, उत्कृष्ट मिडफिल्डर मनाङकै पूजन उपरकोटी, उत्कृष्ट प्रशिक्षक मनाङकै फुजा टोपे, उत्कृष्ट डिफेन्स पुलिसका सुमन सुवेदी र उत्कृष्ट फरवार्ड पुलिसका जुमानु राई घोषित भए।

उनीहरूले जनही नगद २५ हजार रुपैयाँ हात पारे। प्रतियोगिताभर ४ गोल गरेका दयानन्द सिंहले हाई स्कोररको पुरस्कार नगद ३५ हजार पनि पाए भने राइजिङ प्लेयरको पुरस्कार धरान फुटबल क्लबका रिवस मास्केले पाए। उनले नगद १० हजार र केल्मीको बुट पाएका थिए। यस्तै, प्रतियोगिताको उत्कृष्ट समाचार लेखेबापत पत्रकार प्रदीप मन्याङ्बो र शिशिर राईले जनही १० हजार हात पारे। उनीहरूलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App