१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स-परिवार र्‍याफ्टिङ गर्दै सुनकोशीमा अध्यक्ष दाहाल (फोटोसहित)

तस्बिरहरु : ध्रुव/नागरिक

सुकुटे (सिन्धुपाल्चोक)- मुलुकको होस् या पार्टीको आन्तरिक राजनीति राफिलो बन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल एकान्त रुचाउँछन्। र, उनी ‘मुड फ्रेस’ बनाउन सुटुक्क उपत्यका छोड्छन्। यस्तो समयमा उनको गन्तव्य हुने गरेको छ, सिन्धुपाल्चोकको सुकुटे।

सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउन सरकारलाई सिफारिस गरेपछि नेकपाभित्रको आन्तरिक राजनीति तातिरहेका बेला शान्त वातावरणमा आराम खोज्दै अध्यक्ष दाहाल शुक्रबार सपरिवार फेरि सुकुटे आइपुगेका छन्।

शनिबारदेखि सुरु हुने सुकेटे महोत्सवमा आयोजकले उनलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेका छन्। तर शान्त वातावरणमा एक रात भएपनि आराम गर्न दाहाल अघिल्लै दिन सुकुटे आएको जिल्ला पार्टी स्रोतले बतायो। शुक्रबार चितवनको एक कार्यक्रममा सहभागी भएर काठमाडौंसमेत नओर्ली उनी हेलिकप्टरमार्फत सिधै यहाँ आइपुगेका हुन्।

सुकुटेको भोटेकोसी वीच रिसोर्टमा केही समय आराम गरेपछि दाहाल पत्नि सीता, छोरी गंगा र नातिनीसहित र्‍याफ्टिङका लागि तयार भए। बिरामी पत्नि सीतालाई आनन्द दिलाउन उनी आफैँलै र्‍याफ्टिङका लागि अनुरोध गरेका थिए। पत्नि सीता, छोरी गंगा र नातिनी एउटै बोटमा बसेर दाहालले सुनकोसी नदीको झण्डै पाँच किलोमिटर दुरीमा र्‍याफ्टिङ गरे। र्‍याफ्टिङ अवधिभर ‘म्याडमलाई कस्तो छ’ भनेर बारम्बार पत्निको ख्याल गरिरहन्थे। दाहाल पत्नि सीता लामो समयदेखि बिरामी छन्। हिँडडुल गर्नसमेत उनलाई अरुको सहारा चाहिन्छ।

र्‍याफ्टिङपछि दाहाल पारिवारीक वातावरणमा आराम गरिरहेका छन्। पार्टी कार्यकर्तासँग भेटघाटको कुनै कार्यक्रम राखिएको छैन। ‘अध्यक्ष ज्यूले आराम चाहेकाले हामी डिस्टर्ब गर्नै पक्षमा छैनौँ,’ एक जिल्ला कार्यकर्ताले भने। डेढ महिनाअघि मात्र उनी सुकुटे आएर एकरात बिताएका थिए। वर्षको दुई–पाँच पटक उनी सुकुटे आउँछन्। सुकुटे बसाईँमा उनी टेबल टेनिस खेल्न, र्‍याफ्टिङ गर्न र सुसाउँदै बहेकोको सुनकोसीमा टोलाउँन रुचाउँछन्। राजनीतिक तनावका बेला आफूलाई शान्त वातावरणमा रम्ने चाहना हुने र त्यस्तो समयमा अक्सर आफ्नो गन्तव्य सुकुटे हुने उनले बताउने गरेका छन्। ‘सुकुटे मलाई निकै रमाइलो लाग्छ,’ दाहालले भन्ने गरेका छन्।

शान्ति प्रक्रियादेखि नै दाहालको सुकुटे साइनो गाँसिएको हो। शान्ति प्रक्रियापछि उनले तत्कालिन माओवादीको स्थायी समिति बैठक नै यहाँ राखेका थिए। सुकुटे आउँदा सधै उनको साथमा पार्टी नेता अग्निप्रसाद सापकोटा हुन्थे। सिन्धुपाल्चोक घर भएका सापकोटा प्रतिनिधिसभा सभामुख भएपछि उनी यो पटक छुटेका छन्। दाहाल र सापकोटाबीच सुमधुर सम्बन्ध छ। सुकुटेलाई माया गर्ने नेतृत्व भएकै कारण दाहाललाई महोत्सवको प्रमुख अतिथि डाकिएको आयोजकले बताएका छन्।


 

प्रकाशित: १६ फाल्गुन २०७६ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App