१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अमेरिकी राजदूतावासको कर्मचारी परिचयपत्र देखाउँदै ठगि गर्ने पक्राउ

काठमाडौं- अमेरिकी राजदूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घर भई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो।

खड्काले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाइको छ। प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो। खड्काले अहिलेसम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगि गरेको पाइएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन्।

खड्काले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन्। काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर राजदुतावासमा काम गर्ने मान्छे हुँ भनेर बताएको र राजदुतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटोसमेत देखाएकोले आफूहरुले विश्वास गरेको बताए। उनले धरानमा रहेका आफ्ना बहिनी ज्वाइलाई समेत भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताए।

त्यस्तै काठमाडौंमा महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए।

खड्काले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धि कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन्। खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ।

खड्काले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने बेलामा खड्काको फोटो खिचेको आधारमा आफूहरुले प्रहरीमा उजुरी दिएको समेत उनिहरुले बताए। खड्काले अहिलेसम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ। त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन्। प्रहरीले भने खड्कालाई पक्राउ गरी अनुशन्धान गरिरहेको जनाएको छ।   

प्रकाशित: १६ फाल्गुन २०७६ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App