१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसवादी दल आर्थिक संकटमा, पार्टी कार्यलय फ्लायाटबाट घरमा

काठमाडौं– लामो समयसम्म सरकारमा नगएका मधेसी दल आर्थिक संकटमा परेका छन् । आर्थिक संकटकै कारण केही दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन् भने केहीले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय कार्यालय काठमाडौंको बिजुली बजारबाट गौरीघाटस्थित उनकै घरमा सरेको छ । करिब ६ महिनाअघि अध्यक्ष यादवको निवासमा कार्यालय सरेपछि पार्टीले तिर्दै आएको महिनाको १२ हजार रुपैयाँ तिर्नुनपर्ने भएको छ । आर्थिक संकटकै कारण कार्यालय अध्यक्षको घरमै सार्नु परेको सो पार्टीका नेता बताउछन् । यसअघि फोरम गणतान्त्रिकको पार्टी कार्यलय तीनपटक सरिसकेको छ । सुरुमा यसको कार्यालय शखंमूलमा थियो । त्यसपछि बानेश्वरमा थियो । बानेश्वरपछि बिजुली बजारमा सरेको थियो ।

त्यस्तै शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी कार्यालय पनि पाँचपटक सरिसकेको छ । आर्थिक संकटकै कारण पार्टी कार्यालय सार्नुपरेको सो पार्टीका नेता बताउँछन् । सुरुमा बालकुमारीमा रहेको यो पार्टीको कार्यालय ग्वार्कोमा सारिएको थियो । त्यसपछि जाउलाखेलमा सारियो । जाउलाखेलबाट पनि पार्टी कार्यालय सारेर शखंमूल युनएन पार्कअघि पु¥याइएको  छ । हाल यस पार्टीले कार्यालयको भाडा मासिक २१ हजार रुपैयाँ बुझाउँछ ।
महेन्द्र यादवले नेतृत्व गरेको तराई मधेस सद्भावना पार्टीले तीन महिनादेखि पार्टी कार्यालयको भाडा तिर्नसकेको छैन । पार्टीले पार्टीका तीन सांसदलाई महिनैपिच्छे कार्यालयको भाडा तिर्न उर्दी जारी गरेको थियो तर सांसदले महिनैपिच्छे भाडा तिर्न आनाकानी गर्दा पार्टीलाई भाडा तिर्न संकट परेको हो ।
पार्टीलाई यतिसम्म आर्थिक संकट प¥यो कि दुई पार्टी एकीरकण पछि पनि लामो सयमसम्म कार्यालयमा पुरानै नाम झुण्ड्याइयो । नयाँ पार्टीको नयाँ साइनबोर्डसमेत पार्टी कार्यालयमा झुन्ड्याइएन । दोस्रो संविधानसभा चुनावअघि तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीबीच एकीरकण भई तराई–मधेस सद्भावना पार्टी निर्माण भएको हो । सो पार्टीको वरिष्ठ नेता रामनरेश राय यादले पार्टीलाई आर्थिक संकट भएको स्वीकार गरे  । ‘हाम्रो पार्टीलाई मात्र होइन, अरु पार्टीलाई पनि आर्थिक संकट लाग्ने गरेको छ’, यादवले भने ।
यसैगरी विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि पछिल्लो समयमा आर्थिक संकट परेको छ । उसको पार्टी कार्यालय सानेपाबाट तीनकुनेमा सरेको छ । सांसद बाबुराम पोखरेलले पार्टी कार्यालयका लागि भवनको व्यवस्था गरिदिएका छन् । सानेपामा रहँदा फोरम लोकतान्त्रिकले प्रतिमहिना डेढलाख रुपैयाँभन्दा बढी भाडा बुझाउँथ्यो  । अब त्यो आर्थिक बोझ पार्टी कार्यालयलाई छैन । फोरम लोकतान्त्रिका नेता पनि आर्थिक संकट कम गर्नकै लागि पार्टी कार्यालय सार्नुपरेको बताउँछन् ।
राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पाटीले भने विगत दस वर्षदेखि पार्टी कार्यालय सारेको छैन । तर काठमाडौंको बानेश्वरमा रहेको पार्टी कार्यालयलाई सो पार्टीले कुनै बेला सम्पर्क कार्यालय बनाएको हुन्छ भने कुनै बेला केन्द्रीय कार्यालय । पार्टीले मधेस आन्दोलनका बेला वीरगञ्जमा केन्द्रीय कार्यालय र काठमाडौंमा रहेको कार्यालयलाई सम्पर्क कार्यालय बनाएको थियो । मधेस आन्दोलनपछि पार्टीको साइनबोर्ड फेरियो । काठमाडौंमा रहेको सम्पर्क कार्यालयलाई केन्द्रीय बनाइयो  । पार्टी महासचिव मनीष सुमनले केन्द्रीय समितिको निर्णयअनुसार काठमाडौंमा रहेको सम्पर्क कार्यालयलाई केन्द्रीय बनाइएको बताए ।

प्रकाशित: २० पुस २०७३ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App