१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रपतिद्वारा मालिकार्जुनको दर्शन

दार्चुला मालिकार्जुनमा राष्ट्रपतिको स्वागत तथा नागरिक अभिनन्दनमा सहभागी सर्वसाधारण। तस्बिर ः प्रेम चुनारा/नागरिक

दार्चुला – सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित श्री शैल्य मालिकार्जुन मन्दिरको दर्शन गरेकी छन्। उक्त अवसरमा स्थानीय तहबाट नागरिक अभिनन्दनसमेत गरिएको थियो। देशकै सातौं धामका रूपमा परिचित उक्त मन्दिरमा राष्ट्रपतिले करिब नौ मिनेट विशेष पूजापाठ गरिन्।

मालिकार्जुन मन्दिर जिल्लाकै प्रसिद्ध तीर्थस्थल हो। भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो मानिएको यो धाममा सुदूरपश्चिम र छिमेकी भारत उत्तराखण्डका नागरिक पूजापाठका लागि आउँछन्। विशेष धार्मिक महत्व बोकेको क्षेत्र भएकाले सरकारले यस मन्दिरलाई सयवटा पर्यटकीय गन्तव्यको सूचीमा समेत समेटेको छ।

भ्रमण वर्ष–२०२० का अवसरमा राष्ट्रपति भण्डारीबाट गरिएको भ्रमणले स्थानीय तहमा खुसियाली छाएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए। राष्ट्रपतिसँगै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत भ्रमणमा सहभागी थिए। यस भ्रमणले यस क्षेत्रको पर्यटन विकासको मेरुदण्डका रूपमा रहेको दार्चुलालाई आर्थिक–भौतिक रूपमा अगाडि बढाउन सहयोग पु¥याउने स्थानीयको विश्वास छ। मालिकार्जुन तथा समग्र दार्चुलाको विकासका लागि तीनै तहका सरकार जागरुक भएको पाइएको मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिंह धामीले बताए।

पूजापाठ सकिएलगत्तै मन्दिर परिसरमा राष्ट्रपतिको नागरिक अभिनन्दनसमेत गरिएको गाउँपालिका अध्यक्ष धामीले बताए। सो अवसरमा स्थानीय कला संस्कृतिको प्रदर्शनसँगै पञ्चकन्या, स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र सर्वसाधारणले उनको भव्य स्वागत गरे। अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तीन तहको सरकारले विभिन्न तौरतरिका अपनाएर विकासनिर्माणको काम गरिरहेको उल्लेख गरिन्। उनले दार्चुलाका हरेक समस्या समाधान गर्न आफू तत्पर रहेको बताइन्। मालिकार्जुनमा तीन दिनदेखि जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक दिनका लागि रोकेर राष्ट्रपति भण्डारीको अभिनन्दन गर्न शिक्षक र विद्यार्थी अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए।

यसैबीच राष्ट्रपति भण्डारीले शुक्रबार प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने भएकी छन्। डडेल्धुराको अमरगढी नगरपालिका–८ स्थित उक्त मन्दिरमा राष्ट्रपति भण्डारीले शुक्रबार बिहान १० बजेतिर दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले जानकारी दिए।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App