१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपामा शक्ति संघर्ष: नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ

नेकपाको वाग्मती प्रदेशस्तरीय प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रममा सहभागी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल। तस्बिरःनागरिक

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा विवाद भएको भोलिपल्ट बिहीबार पार्टीका तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा देखिए पनि उनीहरु विवादबारे बोल्न पन्छिएका छन्। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधव नेपाल बिहीबार एउटै कार्यक्रममा सहभागी भएका थिए। उनीहरुले कार्यक्रममा सचिवालय बैठकमा भएको विवादबारे तल्लो तहका नेता–कार्यकर्तालाई केही पनि नबताई आफ्ना धारणा राखे।

सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय बुधबार गरेको थियो। त्यसमा असन्तुष्टि जनाउँदै ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको थियो। बिहीबार वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद÷छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए।

कार्यक्रमम वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले शीर्ष नेताहरुबीच विवाद रहेको, त्यसले पार्टीको तल्लो तहमा असर परेको र आफूहरुलाई जनतामाझ जान असजिलो भएको बताएपछि जवाफ दिने क्रममा उनीहरुले घुमाउरो रुपमा यस्तो धारणा व्यक्त गरेका हुन्। ‘नेताहरुबीच विवाद भएको विषय छताछुल्ल छ। (प्रधानमन्त्रीले) जन्मदिन मनाएको विषयमा जनताले प्रश्न उठाएका छन्। केक काट्ने संस्कृति कसरी विकास भयो ? त्यो हाम्रो संस्कृति हो कि होइन ? पार्टीका नेताहरुमा सामन्तवादी चरित्र नहराएको प्रश्न उठेको छ’, कार्यक्रममा शाक्यले भनेकी थिइन्। जबाफमा ओलीले मुलुक र जनताको हितलाई ध्यानमा राखेर पार्टी एकीकरण भएको बताउँदै बाहिर आएका हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टीभित्र मतभेद खोज्दा विनाशको बाटोतिर अग्रसर हुने भन्दै कम्युनिस्ट आन्दोलनका विभिन्न कालखण्डमा वैचारिक बहस सुरु गर्दा त्यसले विभाजनको बाटो लिएको दाबी गरे। ‘बहस गर्दा कसैलाई अध्यक्ष, उपाध्यक्ष, पत्नीलाई महिला विभाग प्रमुख, छोरालाई युवा संगठनको जिम्मेवारी मिल्यो होला तर देशले के पायो त ? वैचारिक शुद्धताको नामको संघर्षले देशलाई के दियो’, उनले भने, ‘पार्टी एकता मुलुकको आवश्यकताले भएको हो। पार्टीभित्र देखिएको विवादमा प्रवेश नगरी ओलीले मुलुकको समृद्धितर्फ नेकपाको सरकार लागि परेको बताए।

अर्का अध्यक्ष दाहाल पनि विवादको विषयमा प्रवेश नगरी पार्टीको इतिहासलाई मन्तव्यको विषयवस्तु बनाए। उनले कम्युनिष्ट पार्टीहरु टुटफुटबाट शिक्षा लिँदै सिँगौरी खेल्दै आएकाले अब पार्टी विघटन नहुने बताए। कम्युनिस्ट पार्टी भनेको जमेको निलो पोखरी नभई नदी भएको उनको भनाइ थियो।

‘पार्टी जमेको पोखरीजस्तो होइन, यो गडगडाएर जान्छ। पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ। यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व छ। त्यसैले विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौं,’ दाहालले भने। उनले सञ्चारमाध्यममा आएका समाचारजस्तो बबन्डर केही पनि नभएको दाबी गरे। उनले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने बताए। ‘पार्टीलाई एकढिक्का बनाएर लान्छौं। कम्युनिस्टलाई दुस्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ। एउटै गोली खर्च नभई कम्युनिस्ट पार्टी आफ्नै कारण सकिएका छन्’, उनले भने।

वरिष्ठ नेता नेपालले पनि शीर्ष नेताहरुबीच भएको विवादबारे केही बोलेनन्। उनले कार्यकर्तालाई लक्षित गर्दै भने, ‘पत्रपत्रिका पढेर दिमाग खराब बनाएर आउनुभएको होला। चिन्ता नलिनुस्, यो पार्टी विभाजन÷विघटन हुन्न दिँदैनौं। पार्टीलाई कसरी बलियो बनाउने हो, त्यतातर्फ तपाईं हामी सबैले सोच्नुपर्छ। त्यसका लागि पार्टी विधिसंगत ढंगले सञ्चालन गर्नुपर्छ। समयमै बैठक सञ्चालन गर्नुपर्छ। विधि र नीतिको आधारमा पार्टी सञ्चालन भए बलियो हुन्छ।’

एमसिसी सैन्य रणनीति: दाहाल

सोही कार्यक्रममा दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अमेरिकाको सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस) अन्तर्गतकै भएको हुँदा त्यसलाई स्वीकार गर्न नसकिने बताए। उनले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भने उसको सम्बन्ध र विकासलाई गति दिने रणनीति भएको बताए। ‘आइपिएस अमेरिकाले अगाडि बढाएको बृहत् रणनीति हो।

उनीहरुले आफ्नो स्वार्थ र अति महाशक्तिको सुपरपावरलाई कायम राख्न अगाडि बढाएको सैन्य रणनीति नै हो,’ दाहालले भने। एमसिसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन गरेर राष्ट्रको हितअनुकूल हुनेगरी नै अगाडि बढाउने र एकदुई दिनमै त्यसबारे निर्णय गर्ने पनि बताए। ‘बिआरआई भनेको पनि चीनले विभिन्न देश, महादेशसँग आफ्नो सम्बन्ध विस्तार गर्ने र आर्थिक विकासलाई गति दिने रणनीति हो त्यो। बिआरआईको त हामी हस्ताक्षरकर्ता भइसकेका छौं तर इन्डो प्यासिफिक एउटा सैन्य रणनीति भएकाले त्यसलाई हामी स्वीकार गर्न सक्तैनौं भन्यौं,’ दाहालले भने।

 

प्रकाशित: १६ फाल्गुन २०७६ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App