१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोनाको प्रभाव सुनको मूल्यमा

काठमाडौं - गत सोमबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड राख्यो। महिनाको सुरुमा प्रतितोला ७६ हजार रूपैयाँबाट उकालो लागेको सुनको मूल्य १२ गते हुँदा तोलाको ८० हजार तीन सय रूपैयाँ पुग्यो। तथापि पछिल्ला दुई दिनमा तोलामा आठ सय घटेर बुधबार ७९ हजार पाँच सय रूपैयाँमा झरेको छ। धेरै बिहेवारी हुने माघमा यसको माग बढ्ने समयमा मूल्य अकासिँदा व्यापारमा प्रभाव परेको व्यवसायी बताउँछन्।

रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ता बिहेवारीको समय भएको कारण किन्नैपर्ने भएर बाध्यताले ग्राहक आए पनि अन्य बिक्री ठप्प जस्तै भएको बताउँछन्। ‘बिहेको लागि पाँच तोला सुन चाहिनेले दुई तोला किन्छन्। धेरैले त पुरानो सुन लिएर साटफेर गरेरसमेत काम चलाइरहेका छन्,’ उनले भने, ‘पैसा भएकाले सोखको लागि गरगहना जोड्नेहरू लगभग आउनै छाडे।’ उनले यो एक्कासि बढेको मूल्य घट्छ भन्ने आसले पनि अत्यावश्यकभन्दा बाहेकको अवस्थामा सुन किन्ने नभएको बताए।

’सुनचाँदीको मूल्यलाई आन्तरिकभन्दा पनि बाह्य कारणले प्रभाव पार्ने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा दरभाउ समितका संयोजक तेजरत्न शाक्य अहिलेको मूल्यवृद्धिका पछाडि कोभिड–१९ (कोराना भाइरस) मुख्य कारण भएको बताउँछन्।

वर्षको सुरुमा प्रतितोला ५९ हजार रूपैयाँ रहेको सुनको मूल्य उतारचढावका बीच ८० हजार रूपैयाँ नाघेको छ। व्यवसायी गुप्ता गत वर्षको तुलनामा अहिले ग्राहक र बिक्री दुवै ५० प्रतिशत भन्दा धेरै घटेको बताउँछन्। उनी भन्छन्, ‘यो केही समयमा सुधार होला। ग्राहकले अस्थिर मूल्यमा किनबेच कम गर्ने गरेको हाम्रो अनुभव छ। मूल्यमा स्थिरता आए पनि सहज हुन सक्छ।’सुनचाँदीको मूल्यलाई आन्तरिकभन्दा पनि बाह्य कारणले प्रभाव पार्ने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा दरभाउ समितका संयोजक तेजरत्न शाक्य अहिलेको मूल्यवृद्धिका पछाडि कोभिड–१९ (कोराना भाइरस) मुख्य कारण भएको बताउँछन्।

‘कोरोनाले अन्तर्राष्ट्रिय बजारमा आर्थिक गतिविधि प्रभावित पारिरहेको छ। त्यसको प्रभाव सुनजस्ता धातुमा देखिएको छ,’ उनले भने, ‘कोरोना भाइरस नियन्त्रणमा आएर अन्य क्षेत्रमा लगानी बढाउन थालेपछि स्वतः यसको अन्तर्राष्ट्रिय बजारमा माग घटेर मूल्य पनि घट्न सक्छ।’ उनी अन्तर्राष्ट्रिय बजारमा अन्य क्षेत्रमा गरेको लगानी सुरक्षित नहुने ठानेर सुनमा लगानी गरेको कारण माग अत्यधिक बढेर मूल्य बढेको बताउँछन्।

शाक्यले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढिरहे पनि नेपाली बजारमा बिक्री तुलनै गर्न नसक्ने गरी घटिरहेको बताउँछन्। ‘यो सिजनमा मुलुकभर प्रतिदिन ५० किलो सुनको कारोबार हुनुपर्ने हो तर मुस्किलले १० देखि १५ किलोसम्म मात्र दैनिक बिक्री भएको छ,’ उनले भने, ‘केही ठूला व्यवसायीको सामान्य बिक्री देखिए पनि धेरैको अवस्था अत्यासलाग्दो छ।’ उनले मुलुकभर २२ हजार सुनचाँदी व्यवसायी भएको बताए। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरसम्म छ। एक औंसमा २८.३५ ग्राम हुन्छ।

अर्थशास्त्री पोषराज पाण्डे विश्व बजारमा सुनको मूल्य बढ्नुमा अर्थतन्त्रमा शक्तिशाली मुलुकहरू महŒवपूर्ण कारण रहेको बताउँछन्। ‘सम्पन्न मुलुकका लगानीकर्ताले जुनमा बढी मुनाफा र लगानी सुरक्षित देख्छन् त्यसैमा लगानी गर्छन्,’ उनले भने, ‘हाम्रोमा राज्यलाई भन्दा पनि निजी जीवनमा थोरै प्रभाव पार्न सक्छ।’ उनी नेपालमा राज्य आफैं सुनको आयात कम गर्ने गरी नियन्त्रणमा लागिरहेको बताउँछन्। उनले भने, ‘यसले समग्र मुलुकको अर्थतन्त्रमा खासै प्रभाव पार्दैन।’

पछिल्ला वर्षमा सुनको आयात पनि घट्दै गएको तथ्यांक छ। गत आर्थिक वर्षमा वर्षभरमा ३४ अर्ब ६१ करोड रूपैयाँ बराबरको सात हजार चार सय ९३ किलो सुन आयात भएको थियो। चालु आर्थिक वर्षको सात महिनामा जम्मा नौ अर्ब ४० लाख बराबरको १६ सय ५० किलो सुन आयात भएको तथ्यांक छ। गएको वर्ष यो अवधिमा २० अर्ब ५५ करोड २० लाख रूपैयाँ बराबरको चार हजार पाँच सय २७ किलो सुन आएको थियो।

चीनबाट सुरु भएको प्राणघातक कोरोना भाइरसको संक्रमणले यतिबेला जापान, युरोपको इटली, मध्यपूर्वको इरान, एसियाको अर्को मुलुक कोरियामा महामारीको रुप लिएको छ। यसले विश्व अर्थतन्त्र नै प्रभावित हुने आकलन विज्ञहरूले गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App