१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टार सेमिफाइनलमा

धनगढी - अन्तिम १० मिनेटमा २ गोल गरेसँगै थ्री स्टार क्लब नवजागृति युथ क्लबलाई हराउँदै धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबार धनगढी रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा थ्री स्टारले अन्तिम ४ को यात्रा पक्का गर्ने क्रममा २—० को जित हात पारेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले अन्तिम १० मिनेटमा २ गोल गरेको हो। ८०औं मिनेटमा संजोक राईले निशान खड्काको पासमा हेडमार्फत बललाई जाली चुमाएका थिए। त्यसको २ मिनेट नबित्दै आशिष राईले निशानकै पासमा गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए।

थ्री स्टारले सेमिफाइनलमा हिमालयन शेर्पा र गोर्खा ब्बाइजबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो यात्राका कारण खेलाडीहरू थकित भएकाले स्वभााविक प्रदर्शन गर्न नसकेको बताए।

‘हामीले स्वाभाविक लयको प्रदर्शन गर्न सकेनौं, मिडफिल्डले सोचेजस्तो पास निकाल्न सकेन,’ केसीले भने, ‘नवजागृतिले उत्कृष्ट खेल्यो। युवा खेलाडी भए पनि उनीहरूले राम्रो फाइट दिए। आशा छ सेमिफाइनलमा अझै सुधारिएको खेल प्रदर्शन गर्नेछाैं।’ हालै झापामा सम्पन्न सताक्षी गोल्डकपको उपविजेता थ्री स्टार करिब २६ घण्टाको यात्रापछि मंगलबार मात्र धनगढी आइपुगेको थियो।

यसअघि खेलको २२औं मिनेटमा अशोक खवासको पासमा आशिष राईले गरेको प्रहार बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो। त्यस्तै २६आंै मिनेटमा जनजागृतिले काउन्टर अट्याकमा गोलको अवसर पाए पनि सदुपयोेग भने गर्न सकेन। जनजागृतिका कृपा चौधरीले गरेको प्रहार थ्री स्टाका गोलकिपर पूर्ण चेमजोङले विफल पारेका थिए। खेल सकिन ४ मिनेट बाँकी हुदा थ्री स्टारले अग्रता बढाउने अवसर पाएको थियो। तर आशिषको क्रसमा सुशील राईले गरेको प्रहार विपक्षी गोलकिपर दिलमनी चौधरीले विफल पारेका थिए। खेलमा थ्री स्टारका कप्तान विक्रम लामा म्यान अफ दी म्याच भए। उनले नगद १० हजार रुपैयाँ हात पारे।

यसअघि मंगलबार आयोजक सुदूरपश्चिम ११ ले कंचनजंघा एफसी भारतलाई हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो।
बिहीबार हुने तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली साबिकको विजेता नेपाल पुलिस र एपिएफ भिड्नेछ। नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App