१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि सुरु

नेब्रास्का – कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका चार सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ। यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ। यद्यपि विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययन सञ्चालनमा छन्।

नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा. आन्द्रे कालिलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज सुरु गरेको बताए। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रूपमा खुवाउने सेन्टरको योजना छ।

‘अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,’ डा. कालिलले भने। जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ। तीमध्ये १२ जनामा कोरोना संक्रमण देखिएको छ।

नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन। कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई संक्रमित भइसकेका छन्। यसबाट २ हजार सात सय जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन्।

चिकित्सकले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन्। सख्त बिरामी व्यक्तिलाई चिकित्सकले भेन्टिलेटर प्रयोग गरेर श्वास फेर्न मद्दत गर्छन् वा मेसिनको प्रयोग गरेर शरीरभित्र अक्सिजन पम्प गराइन्छ, जसले मुटु र फोक्सोको कामलाई केही सहज बनाउँछ।

चीनमा जाइलेड साइन्सेजले निर्माण गरेको रेमडेसिभर आधारित औषधिको परीक्षण प्रयोग कम्तीमा दुई जना बिरामीमा गरिएको छ। अर्कोतर्फ, एचआईभीको औषधि बनाउन प्रयोग हुने लोपिनावीर र रिटोनावीरको सम्मिश्रणबाट पनि अर्को औषधि परीक्षण भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई ‘सबैभन्दा सम्भाव्य’ उपायका रूपमा स्वीकारेको थियो। कंगोका केही इबोला बिरामीमा यो अध्ययनलाई छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो। डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ।

जाइलिडले यो औषधि थोरै बिरामीलाई प्रयोगका लागि उपलब्ध गराएको छ, जसमा वासिङ्टन राज्यका एक व्यक्ति पनि छन्, जो कोरोना प्रकोपको केन्द्रमा रहेको चिनियाँ शहर उहानको भ्रमणपछि बिरामी भएका थिए। उनलाई अस्पतालमा भर्ना गरिएको छैन। तर, रेमडेसिभरले उनलाई मद्दत गरेको थियो वा थिएन भन्ने केही थाहा हुन सकेको छैन।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App