१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गौतमलाई राष्ट्रियसभामा लाने विषयमा शीर्ष नेता विभाजित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय सार्वजनिक भएको थियो। पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी गराएलगत्तै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि सार्वजनिक भएको छ। प्रधानमन्त्री ओली गौतमको विपक्षमा देखिएपछि सत्तारुढ नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यका लागि भने हालका अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरिसकेका कारण तत्काल गौतमलाई सिफारिस गर्न नसकिने जनाएको सार्वजनिक भएपछि नेकपाका शीर्ष नेताहरु नै सशंकित भएका थिए। तर पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने ओलीकै अगाडि निर्णय भएकाले खतिवडाको बारेमा कुरा भएजस्तो आफूलाई नलागेको बताए। ‘बैठकमा वामदेवजीलाई सर्वसम्मत राष्ट्रियसभामा पठाउने निर्णय भएको हो अरु विषय त मलाई थाहा भएन’, वरिष्ठ नेता खनालले भने। उनले बुधबार साँझ भएको ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटघाटबारे पनि अनभिज्ञता प्रकट गरे। ‘उहाँहरु भेट हुनुभयो होला तर मलाई यसबारेमा थाह भएन’, खनालले भने।

माधव नेपाल र ईश्वर पोखरेलसँगको छलफलमा ओलीले हाललाई राष्ट्रियसभामा युवराज खतिवडालाई नै दोहो-याउने र वामदेव गौतमलाई समय आएपछि मिलाउने बताएका थिए।

ओली असन्तुष्ट रहेको खबर प्रसारित भएको केही समयमा नेपाल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि नेपाल बालुवाटार पुगेका थिए। ‘सचिवालयको निर्णय ढिला भयो, राष्ट्रियसभामा मनोनयनका लागि युवराज खतिवडाको नाम सिफारिस भइसकेको छ। निर्णय भइसकेको नाम परिवर्तन हुन्न। गौतमजीलाई अब पछि गरौंला’, सचिवालयको निर्णयबारे ओलीको प्रतिक्रियालाई एक सचिवालय सदस्यले उद्धृत गरे। ओलीले त्यही बेला वरिष्ठ नेता नेपाललाई थप छलफल गर्नुप-यो भन्दै बालुवाटार बोलाएका थिए। साँझ पाँच बजे बालुवाटार पुगेका नेपाल र ओलीबीच तीन घण्टा कुराकानी भएको थियो।

त्यही क्रममा रक्षामन्त्री ईश्वर पोखरेल पनि बालुवाटार पुगेका थिए। बालुवाटारमा तीन नेताहरुबीच गौतमको विषयमा छलफल भएको थियो। ‘वामदेवजीलाई राष्ट्रियसभामा लैजाने सैद्धान्तिक सहमति भएको हो तर अहिले नै राष्ट्रियसभामा लैजाने भन्ने निर्णय भएको छैन। कुनै बेला उहाँ राष्ट्रियसभामा जानुहोला तर यही मितिमा भन्ने लेखिएको छैन’, उनले बुधबार दिउँसो भनेका थिए। रक्षा मन्त्रालयमा सञ्चारकर्मीसँग केही समय कुराकानी गरेका पोखरेल साँझ बालुवाटार पुगेका थिए।

नेतात्रयबीच वामदेवको समग्र राजनीतिक अवस्थाबारे मूल्यांकन गरिएको थियो। नेतात्रयबीच भएको छलफलमा ओलीले राष्ट्रियसभा सदस्यमा खतिवडालाई पठाउनुपर्ने र सचिवालयको निर्णय सच्याउनुपर्ने बताएको स्रोतले जनाएको छ। सचिवालय बैठकमा गौतमलाई सर्वसम्मत रुपमा राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय भएको थियो। स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेका थिए। बैठकमा आफ्नो विषय आउँदा जहिले पनि विवाद हुने गरेको भन्दै गौतमले असन्तुष्टिसमेत व्यक्त गरेका थिए। ‘मेरो बारेमा सधैं विवाद किन गरिन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

बैठकमा नेपालले अहिले वामदेवजीलाई राष्ट्रियसभामा लैजाऊँ, संविधान संशोधन विषयलाई पछि टुंग्याउँला भनेका थिए। त्यसपछि गौतमले पार्टीको निर्णय मान्छु भनेपछि सर्वसम्मत निर्णय भएको सचिवालय बैठक स्रोतले जनायो।

बुधबारको बैठकमा संविधान संशोधनको विषयलाई लिएर निकै चर्को बहस भएको स्रोतले जनाएको छ। बैठकले संविधान संशोधनको प्रसंग हाललाई बन्द गरेको छ। संविधान संशोधनका बनाउने भनिएको कार्यदल नबनाउने निर्णय पार्टीले गरेपछि संविधान संशोधनको विषय बन्द भएको हो। बैठकको समापन ओलीले गरेका थिए। बैठकपछि प्रवक्ता श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनको प्रक्रिया अघि नबढाउने दुईवटा मात्रै निर्णय भएको बताएका थिए।

तर प्रधानमन्त्री ओलीनिकट एक नेताले गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभामा लैजाने निर्णय सचिवालय बैठकले गरेको दाबी गरे। ‘उहाँ (गौतम) लाई अहिले नै होइन, उपयुक्त समयमा राष्ट्रियसभामा लैजाने निर्णय भएको हो,’ ओलीनिकट एक नेताले भने, ‘अहिलेलाई राम्रो काम गरिरहेका वर्तमान अर्थमन्त्रीलाई नै निरन्तरता दिइनेछ।’ नेताहरु बाहिरबाहिर निर्णयमा पुग्ने र त्यसलाई अनुमोदन गराउन मात्र बालुवाटार आउने गरेको सुनाउँदै उनले भने, ‘बाहिर गरिएका सबै निर्णय पार्टी बैठकबाट अनुमोदन हुन्छन् भन्ने होइन।’

प्रकाशित: १५ फाल्गुन २०७६ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App