१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुहबी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालन

काठमाडौं – लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले हालसालै कटहरी सबस्टेसन निर्माण गरेर उक्त प्रसारणलाइन सञ्चालनमा ल्याएको हो। प्राधिकरणले विवादित क्षेत्रमा ३३ केभी लाइनलाई भूमिगत प्रसारणलाइन निर्माण गरेर पूर्णता दिइएको हो।

प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत रहेको सो सबस्टेसन र लाइन निर्माण भारतीय निर्माण कम्पनी ए टु जेड इन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जयदुर्गे इन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कम्पनीले पूरा गरेका हुन्।

दुहबी ग्रिड सबस्टेसनदेखि कटहरीसम्म १७.२ किमि ओभरहेड लाइन र ५.५ किमि ३३ केभी  भूमिगत लाइन निर्माण गरी जम्मा २२.७ किमि लाइन नो लोडमा सञ्चालन गरिएको नेपाली निर्माण व्यवसायी जयदुर्गे इन्जिनियरिङ र त्रिपुरेश्वर कन्डक्टर कम्पनीका डाइरेक्टर सागर लुइटेलले बताए।

लुइटेलका अनुसार अब कटहरी सबस्टेसन सञ्चालनमा आएपछि उक्त क्षेत्रको भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार हुने दाबी गरे। वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बिराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाले दुहबी ग्रिड सबस्टेसनबाट कटहरी सबस्टेसन हातासम्म ३३ केभी प्रसारण लाइन परीक्षण प्रसारण सफल भएको बताए।

‘हामीले नो लोडमा सबस्टेसन सञ्चालन गरेका छौं। समग्र मोरङ जिल्लाबासीको लागि यो खुसीको कुरा हो,’ उनले भने, ‘अब कटहरी सबस्टेसन पूर्णरुपमा सञ्चालन गरी त्यहाँबाट ११ केभी फिडर वितरण गर्नका लागि बिराटनगर वितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली सञ्चालन गरिनेछ।’ उनका अनुसार कार्य द्रुत गतिमा अघि बढाइएको छ। यसबाट घरायसी, औद्योगिक, व्यापारिक सबै क्षेत्रले गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउनेछन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App