१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरि पेट्रोल पम्पमा लाइन

काठमाडौं-पेट्रोलियम पदार्थ आपूर्तिमा एकाधिकार पाएको नेपाल आयल निगमले भण्डारण र वितरण व्यवस्थित बनाउन नसक्दा आइतबार फेरि काठमाडौंका पेट्रोल पम्पमा उपभोक्ताको लाम देखिएको छ। निगमसँग पेट्रोलियम पदार्थ स्टक गर्ने क्षमता कमजोर हुँदा तेल आपूर्ति सामान्य अवरोध हुनासाथ उपभोक्ता लाम बस्न बाध्य भएका छन्।
भारतीय नाकाबन्दीका कारण देशभरका उपभोक्ताले गत चैतसम्म लाम बसेर इन्धन भरेका थिए । लाम बस्नुपर्ने बाध्यताबाट अस्थायी मुक्ति मिलेको तीन महिना हुँदा नहुँदै पेट्रोल पम्पहरुमा तेल भर्नेको लाम देखिएको छ।
शुक्रबार थोरै पेट्रोल वितरण र शनिबार बिदा हुँदाको असर तत्काल बजारमा देखिएको हो । आइतबार राजधानीका सबैजसो पम्पमा मोटरसाइकल र ट्याक्सीको भिड लागेको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएर ढुवानीमा केहीबेर अवरोध आएपछि सामान्यभन्दा कम इन्धन उपत्यका भित्रेको पेट्रोलियम व्यवसायीले बताएका छन् ।
निगमको थानकोट डिपोमा पेट्रोलिय पदार्थ भण्डारण गर्ने पूर्वाधार थोरै छ । त्यसको प्रत्यक्ष असर स्टकमा पर्छ । मागको आधारमा तेल आपूर्ति नभएकोले उपभोक्तालाई पु¥याउन नसकिएको पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । ‘पेट्रोल पम्पलाई पर्याप्त तेल दिइएको छैन,’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘निगम र पम्पमा स्टक कम भएकोले अभाव देखिएको हो।’
भारतीय नाकाबन्दीको समयमा त्रसित उपभोक्ता सामान्य अभाव देखिनासाथ आत्तिन्छन् । शनिबार बिदा परेकोले आइतबार केही पम्पमा लाइन देखिनु स्वाभाविक भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘भारतबाट पर्याप्त पेट्रोल आएकाले आत्तिनुपर्ने अवस्था छैन,’ घिमिरेले भने, ‘सोमबारबाटै अवस्था सामान्य हुन्छ ।’ निगमको भण्डारण क्षमता कमजोर भएको उनले स्वीकारे ।
निगमको थानकोट डिपोमा पेट्रोल ११ लाख लिटर र डिजेल ४४ लाख लिटर रहेको निगमले जनाएको छ । दुई दिन बाटो अवरोध हुनासाथ काठमाडौंमा पेट्रोलको अभाव हुने गरेको छ । बर्खा सुरु भएकोले समस्या दोहोरिन सक्ने भन्दै उपभोक्ता चिन्तित छन् । निगमको थानकोट डिपोमा भण्डारण क्षमता थोरै भएकोले पटकपटक यस्तो समस्या राजधानीका उपभोक्ताले झेल्दै आएका छन् । उपत्यकामा दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत हुने गरेको छ ।
थानकोटमा १८ लाख लिटर पेट्रोल भण्डारण क्षमता छ । भारतको नाकाबन्दीपछि सरकार सचेत हुनुपर्नेमा पूर्वतयारी नभएको उपभोक्ताको गुनासो छ । ‘निगम, पम्प सञ्चालकले अझै चेत खाएका छैनन्,’ त्रिपुरेश्वरको पेट्रोल पम्पमा लाइन बसेका रामप्रसाद श्रेष्ठले भने, ‘पैसा तिरेर किन्न पनि सधैं दुःख पाइरहनु पर्ने ?’
पेट्रोल पम्प सञ्चालक भने पम्पमा तेल स्टक राख्दा घाटा हुने भएकोले भण्डारण नगर्ने गरेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन् । ‘निगमले हाम्रो माग लामो समयदेखि सुनुवाइ गरेको छैन,’ एकजना पम्प सञ्चालकले भने, ‘हामीले धेरै किन राख्ने ?’ बर्खाको बेला बाटो थुनिए उपभोक्ताले दुःख पाउने भएकाले सरकार संवेदनशील हुनुपर्ने उपभोक्ताले माग गरेका छन् ।
पेट्रोल भण्डारण गर्ने क्षमता कम भएको कारण थानकोटमा रहेको मट्टीतेलको डिपोलाई पेट्रोलमा परिणत गर्न टेन्डर आह्वान पनि निर्माण अघि बढेको छैन । बजारमा मट्टीतेलको माग घट्दै गएपछि २१ लाख लिटरका दुई ट्यांक प्रयोगविहीन छन् । ती ट्यांकलाई पेट्रोलमा परिणत गर्ने निगमको योजना हो । ट्यांकको ४२ लाख लिटरको पूर्वाधार परिवर्तन गरेर पेट्रोल भण्डारण गर्न नेपाल आयल निगमले ‘ग्लोबल टेन्डर’ गरेर बोलपत्र लिए पनि निर्णय नभएको प्रवक्ता घिमिरेले बताए । ‘एक कम्पनीले निवेदन दिएको छ,’ उनले भने, ‘दिने निर्णय भइसकेको छैन ।’ उक्त ट्यांकलाई पेट्रोलमा रुपान्तण गरे थप सहज हुने उनले बताए । ‘अहिले हामीसँग भण्डारण क्षमता कमजोर भएकोले स्टक गर्न सकेका छैनौं,’ उनले भने ।
यो संरचना थप गरे २० दिनलाई पुग्ने पेट्रोल स्टक गर्न सकिने छ । ‘काठमाडौंमा दैनिक ३ लाख लिटर पेट्रोल खपत हुन्छ,’ प्रवक्ता घिमिरेले भने, ‘९० दिनलाई स्टक राख्ने योजना भए पनि तत्कालको लागि यसले राहत पुग्छ ।’ निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि न्यूनतम ९० दिनको माग धान्न सक्ने गरी भण्डारण क्षमता बढाउन काभ्रेपलाञ्चोकको पाँचखाल, तनहुँको खैरेनीटार र नुवाकोटको बट्टारमा आगामी आर्थिक वर्ष परियोजना अघि बढाउने जनाएको छ।
पेट्रोलियम पदार्थ ढुवानीको दीर्घकालीन समस्या सुल्झाउन पाइपलाइन निर्माणको तयारी भइरहेको छ। रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माणको प्रक्रिया अघि बढेको निगमले जनाएको छ।

 

प्रकाशित: २० असार २०७३ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App