१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बीरेन्द्र सैनिक अस्पताललाई साढे एक करोड सहयोग

कठमाडौं – मृगौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। मंगलबार सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जंगी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सेवा सञ्चालन तथा सहयोग उपलब्ध गराउनका लागि गत पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

सोही सम्झौताअनुसार मंगलबार रकम हस्तान्तर गरिएको महानगरपालिकाले जानकारी दिएको छ। चेक हस्तान्तरण गर्दै महानगर प्रमुख शाक्यले यो वर्षदेखि सुरु भएको कार्यक्रमलाई निरन्तर विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। जटिल रोगका लागि विशेषज्ञ उपचारमा सहयोग पु-याउने उद्धेश्यले नेपाली सेनासँग महानगरले सहकार्य गरेको उनको भनाइ थियो। कार्यक्रममा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, बीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त प्रमुख सहायक रथी नगेन्द्रकुमार केसी, महासेनानी डाक्टर अजयराज भण्डारी, महानगरको जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरलगायतको सहभागिता रहेको थियो।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रवक्ता डंगोलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो। सम्झौताअनुसार मृगौला विरामीका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी जेष्ठ नागरिकका लागि ओपिडि सेवा, आपत्कालीन स्वास्थ्य सेवा बढाउँदै लगिने भएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App