१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारी गाडी गुड्न रोक

दोलखा – दोलखालाई राजधानी काठमाडौंसँग जोडने जिल्लाको प्रमुख ‘लाइफलाइन’ मानिने चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरू गुड्न रोकेको छ।

विस्तार कार्यमा ठेकेदारको ढिलासुस्ती र सरकारी बेवास्ताले पाँच वर्षदेखि अलपत्र परेको यो सडक तत्काल निर्माणको माग गर्दै निर्णायक आन्दोलन भन्दै विरोधमा उत्रिएको नागरिक संघर्ष समितिआबद्ध आन्दोलनकारीहरूले मंगलबार सदरमुकाम चरिकोटमा सरकारी नम्बर प्लेटका सवारीसाधनहरूलाई एक घण्टासम्म गुड्न रोकेका थिए। उनीहरूले मंगलबार बिहान साढे नौदेखि साढे १० बजेसम्म सडक ढिलासुस्तीविरुद्धको संघर्ष समितिका अभियन्ताले सातदोबाटो चोकमा २० ओटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएका थिए। संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केका अनुसार घोषित कार्यक्रम अवधि सकिएलगत्तै गाडीको साँचो फिर्ता गरिएको थियो। सरकारलाई दबाब दिन सरकारी नम्बर–प्लेटका गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए। जिल्लाका निमित्त प्रहरी प्रमुख रेशम बोहोराले आन्दोलनकारीले नियन्त्रणमा लिएका मोटरसाइकल र गाडीको साँचो तत्कालै फिर्ता गरिएको बताए।

मुडे–चरिकोट खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले सिन्को भाँचेको छैन। ठेकेदारविरुद्ध विरोध चर्किएपछि भने केही ट्रिपर ग्राभेल बिछ्याएर आँखामा छारो हाल्ने काम भएको छ।

सडक ढिलासुस्तीविरुद्धको आन्दोलनका अभियन्ता दीपशंकर चौलागाईले सडकमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीविरुद्ध सरकारले गम्भीर कदम नचाले वर्षातघि दोलखा नाकाबन्दीमा पर्ने चेतावनी दिए। ‘सरकार गम्भीर नबने दोलखाबासीको आन्दोलन कठोर हुनेछ,’ उनले भने।

संघर्ष समितिका सचिव गोकर्ण भण्डारीका अनुसार अब सरकारी गाडी अवरोध योजनाअन्तर्गत दिनको एक घण्टा समय बढाउँदै बिहीबार साढे नौदेखि साढे ११ सम्म र शुक्रबार साढे नौदेखि साढे १२ सम्म रोकिनेछ। नागरिक स्तरबाट जारी आन्दोलनमा पत्रकार, पेसाकर्मी, सामाजिक संघ–संस्था र उद्योगी–व्यवसायीलगायत सहभागी छन्। यसअघि आन्दोलनकै क्रममा आइतबार सिन्धुपाल्चोकमा रहेको लामोसाँघु–जिरी सडक सुधार आयोजनाको कार्यालयमा तालाबन्दी गर्न जाँदा पाँच जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको थियो।

संघर्ष समितिले चरिकोट–मुडेखण्डको ठेकेदार कम्पनीलाई पाँच ठाउँबाट काम गराउने वातावरण मिलाउन, अन्यथा ठेक्का तोडेर सडक विभागमार्फत सरकार आफैंले प्रक्रिया पु-याएर छिटो काम सक्न माग गरेको छ। खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्डमध्ये मुडेसम्म २५ किलोमिटर खण्डको पहिलो प्याकेजको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले १७ किलोमिटर कालोपत्रे सकेको छ। अभियन्ता एवं सञ्चारकर्मी श्याम खतिवडाका अनुसार मुडे–चरिकोट खण्डमा भने ठेकेदार कम्पनीले सिन्को भाँचेको छैन। यो खण्डको ठेकेदार कम्पनीविरुद्ध जिल्लामा आन्दोलन चलेलगत्तै केही ट्रिपर ग्राभेल बिछ्याउने र आँखामा छारो हाल्ने काम भने भएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App