८ पुस २०८१ सोमबार
image/svg+xml
कला

आमाको महिमा झल्काउने गहकिलो कथा

काठमाडौं – ‘जननी जन्मभूमिश्च स्स्वर्गादपि गरीयसी’ भनेझैं जन्म दिने आमा धर्ती र स्वर्गभन्दा महान् हुन्छिन् भन्ने भावमा केन्द्रित रहेर संसारभर धेरै फिल्म र साहित्य लेखिएका छन्। यही भावलाई पछ्याउँदै निर्देशक दीपेन्द्र के खनालले आमाका विभिन्न आयामलाई ‘आमा’ फिल्ममार्फत प्रस्तुत गरेका छन्। शुक्रबारबाट प्रदर्शनमा आएको ‘आमा’ फिल्मले उनीहरूको फरक स्वरूपको कथा प्रस्तुत गरेको छ।

भनिन्छ– संसारमा भगवान् सबैतिर पुग्न नसकेर होला, सबै घरमा आमाका रूपमा उदाएका हुन्छन् भगवान्। आमाको उपस्थिति हरेक सन्तानका लागि भगवानको प्रतिरूप मानिएझैं सन्तानको पीडामा रुने उनी नै हुन्छिन्। यही भावबाट फिल्म परिपोषित छ।

मध्यवर्गीय परिवारको प्रतिनिधित्व गर्ने आरती काफ्ले (सुरक्षा पन्त) गाउँमा भ¥याङबाट लडेर अचेत भएका बुबा यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) लाई उपचारका निम्ति काठमाडौं ल्याउँदै गरेकी आमा (मिथिला शर्मा) सँग फोनमा कुराकानी गरिरहेको दृश्यबाट फिल्म सुरु हुन्छ। पेसाले शिक्षिका उनी जागिरे पति (मनीष निरौला) र बूढी सासूसँग काठमाडौंमा भाडा तिरेर जीविकोपार्जन गरिरहेकी छन्।

छोरी आरती र ज्वाइँले रकम जुटाएर घाइते यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) को टाउको पहिलो चरणको शल्यक्रिया गराउँछन्। पैसा खुवाएर अवैध बाटोबाट अमेरिका पुगेका छोरा बुबा गम्भीर घाइते हुँदा समेत फर्कन सक्दैनन्। अस्पताल बसाइका क्रममा भेटिएकी अर्की आमा (सरिता गिरी) को निकटताले आमालाई केही राहत दिइरहेको हुन्छ। आफ्नै पारिवारिक बन्धनमा बाँधिएकी आरती स्कुलभन्दा पनि अस्पतालमा आमा र बुबाको हेरचाह गर्न पुगिरहन्छिन्।

डाक्टर (टिका पहारी) ले भेन्टिलेटरमा राखिएका यज्ञप्रसादको दोस्रो शल्यक्रियासमेत गर्नुपर्ने बताएपछि विस्तारै सो परिवार आर्थिक रूपमा अशक्त हुँदै जान्छन्। अस्पतालको लुटतन्त्रका कारण आमा बिस्तारै कमजोर भएकी छन्। यता टेस्टट्युब बेबीका निम्ति अन्तिम प्रयास गरिरहेकी आरती पारिवारिक जिम्मेवारी र आमाबुबालाई साथ दिन लागिपरेको दृश्यले दर्शकलाई सोचमग्न हुन बाध्य पार्छ।

‘पशुपति प्रसाद’ र ‘धनपति’लगायत फिल्मपछि निर्देशक दीपेन्द्र के खनालले यस फिल्ममा एउटा हृदयस्पर्शी कथा पस्किएका छन्। समाजको वास्तविक कथा र पात्रमाथि केन्द्रित रहेर फिल्म पस्किन माहिर छन् उनी। यस फिल्ममा उनले आफ्नो सो कौशललाई स्तरीय ढंगमा प्रस्तुत गरेका छन्।

फिल्मको कथा, पात्र र संवाद बुलन्द छन्। निर्देशकले सुन्दर ढंगले आमाको विभिन्न स्वरूपलाई फिल्ममा उतातेका छन्। हाफटाइम अघिसम्म केही बोझिला दृश्यले फिल्मलाई सुस्त बनाएको महसुस हुन्छ। नेपाली समाजको यथार्थमा आधारित फिल्मले वैदेशिक रोजगारको पीडा भोगिरहेको परिवारको चित्रण गरेको छ। आमाबुबाको बुढेसकालको सहारा मानिने छोरो उनीहरूलाई खाँचो पर्ने अवस्थामा वैदेशिक रोजगारमा गएर बिरानो देशमा भासिन बाध्य परेको कथा मार्मिक लाग्छ। अधिकांश नेपाली फिल्मको कथा राम्रो भए पनि प्रस्तुति झुर हुने नियतिबाट भने यो पर रहेको महसुस हुन्छ।

निर्देशकले कथा छनोटमा नयाँपन दिने प्रयास गरेका छन्। फिल्मको सुरुआतदेखि क्लाइमेक्ससम्म निर्देशक हाबी देखिन्छन्। फिल्मको सेकेन्ड हाफले भने दर्शकलाई भावनात्मक रूपमा बाँधिदिएको छ। निर्देशकले मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीबाट आमाका विभिन्न स्वरूपको बयान गरेका छन्। बुढेसकालमा छोराको साथ नपाएकी मिथिला, जन्मँदै बिमारी परेका छोरालाई छुन नपाएकी सरिता र टेस्टट्युब बेबीको अपेक्षा गरिरहेकी सुरक्षामार्फत आमाको स्वरूपलाई प्रस्तुत गरेका छन्।

फिल्मलाई सरल ढंगमा प्रस्तुत गरिएको छ। मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय दमदार र यादगार छ। फिल्ममा सरिता गिरीको अभिनय तारिफयोग्य छ। झरीमा खिचिएको दृश्यहरू एकपछि अर्कोमा अमिल्दो भएको महसुस हुन्छ। केही दृश्यमा कलाकारलाई जबर्जस्ती अभिनय गराएको प्रतीत हुन्छ।

फिल्मको शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ ले कथाअनुसार भए पनि चर्को सुनिन्छ। त्यस्तै फिल्मको सम्पादन पक्ष कमजोर भएकाले केही दृश्य अनावश्यक महसुस हुन्छन्। फिल्मले वास्तविकतासँगै परिवर्तनशील नेपाली समाजको चित्रण गरेको छ। नेपाली समाजमा सशक्त हुँदै गएका महिलाहरू आमाबुबाको बुढेसकालको सहारा बनिरहेको अवस्थालाई फिल्मले प्रस्तुत गरेको छ।

कलाकार: मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनीष निरौला, आशान्त शर्मा र पदम बुढा
निर्देशक: दीपेन्द्र के खनाल

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App