१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आयातमा घट्दो क्रममै,निर्यातमा पनि सुधार

काठमाडौं - चालु आर्थिक वर्षको सातौं महिनाको तथ्यांकले पनि आयातमा कमी आएको देखाएको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार आयातमा ३.५६ प्रतिशतले कमी आएको छ। आर्थिक वर्षको सुरुदेखिनै घटिरहेको आयात सातौं महिनासम्म आउँदा गत वर्षको सोही अवधिको तुलनामा २९ अर्ब ६६ करोड ५६ लाखले घटेको छ।

चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार आठ खर्ब तीन अर्ब ६० करोडको सामान आयात भएको छ। निर्यात ६४ अर्ब ९७ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात २२.४१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यस अवधिमा आठ खर्ब ३३ अर्ब २६ करोडको आयात र ५३ अर्ब आठ करोड बराबरको निर्यात थियो।
आयातमा कमी देखिएपनि अगाडिका महिनाको तुलनामा घट्दो दर भने कम हो। चालु आर्थिक वर्षको पहिलो महिना ११.५१ प्रतिशतले घटेको आयात दोस्रो महिना १.२२, तेस्रो महिना १०.३४, चौथो महिना ६.९२ प्रतिशत, पाँचौं महिना ४.२४ र छैठौं महिनामा ४.०४ प्रतिशतले घटेको थियो।

आयातमा कमी आएसँगै निर्यातको अवस्थासकारात्मक देखिएको छ। यही समयमा भारतले नेपालको निर्यातमा २५ प्रतिशत योगदान गर्ने पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यसबाट हाम्रो निर्यातमा खासै असर पुगेको देखिन्न। चालु आर्थिक वर्षको छैंठौं महिनासम्म १४ अर्बको पाम आयल निकासी भएकोमा सातौं महिनामा सात करोडको मात्र निकासी भएको छ। तैपनि पोहोरको यसै अवधिको तुलनामा निर्यात २२.४१ प्रतिशतले बढी छ। छैठौं महिनामा यो दर २६.१३ प्रतिशत थियो।

यो अवधिमा सोयाबिन तेलको निकासी बढेको पाइएको छ। छैठौं महिनासम्ममा चार अर्ब ४२ करोडको सोयाबिन तेल निकासी भएकोमा एकै महिनामा यो बढेर सातौं महिनामा करिब ६ अर्ब पुगेको छ। सातौं महिनामा मात्र एक अर्ब ५७ करोड हाराहारीको सोयाबिन तेल निकासी भएको हो।

सातौं महिनामा पाम आयल निर्यात कम देखिए पनि समग्रमा धेरै निर्यात हुने वस्तुको पहिलो स्थानमा यही छ। सोयाबिन तेल दोस्रोमा छ। कार्पेट तथा टेक्सटायलको निर्यात तेस्रो स्थानमा छ। यो अवधिमा सबैभन्दा बढी७९ अर्ब ४८ करोड बराबरको डिजेल र पेट्रोल आयात भएको छ।१७ अर्ब ८० करोडको एलपी ग्यास, ५० अर्ब ८५ करोडभन्दा बढीको सवारी साधन र त्यसको पार्टस आयात भएको छ।

गत आर्थिक वर्षको पहिलो सात महिनामा सात खर्ब ८० अर्ब रहेको व्यापार घाटा चालु आर्थिक वर्षको सोही अवधिमा ५.३३ प्रतिशतले घटेर सात खर्ब ३८ अर्ब ६३ करोड कायम भएको छ। गत वर्षको तुलनामा व्यापार घाटा कम भए पनि एक महिनाकै व्यापार घाटा एक खर्बभन्दा माथि छ। गत पुस मसान्तमा नेपालको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड रहेकोमा माघ मसान्तमा आउँदा सात खर्ब ३८ अर्ब ६३ करोड पुगेको छ।

गत आर्थिक वर्ष माघमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ५.९९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर७.४८ प्रतिशत पुगेको छ। यस्तै, आयातको हिस्सा ९४.०१ प्रतिशतबाट घटेर ९२.५२ प्रतिशत कायम भएको छ।आयात–निर्यात अनुपात १५.७ बाट १२.४ प्रतिशतमा झरेकोे छ। नेपालले व्यापारिक सम्बन्ध कायम गरेका एक सय ४९ मुलुकमध्ये डेनमार्क, नर्वे, ग्रिस, माल्दिभ्स लगायत ३२ मुलुकसँग व्यापार नाफामा छ। अन्य देशसँगको व्यापार घाटामा छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App