१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनाकाे जाेखिममा दुहवी पुल

कोसी राजमार्गअन्तर्गत दुहवीमा निर्माण हुँदै गरेको पुल। ठेकेदार कम्पनीले सुस्त गतिमा काम गर्दा बर्खामा समस्या निम्तिने खतरा छ। तस्बिर: नागरिक

इटहरी – कोसी राजमार्गअन्तर्गत सुनसरी–मोरङ जोड्ने ६ लेन सडक, त्यसमाथि पनि विराटनगर महानगर आउजाउ गर्ने मुख्य मार्गमा पर्ने दुहवीस्थित बुढी खोला पुल अघिल्लो बर्खाको बेला उच्च खतरामा परेको थियो। गत वर्ष असार अन्तिम साता जोखिममा परेको सो पुल विस्तारै कटान रोकिएसँगै तात्कालिक खतरा टरेको थियो। तर अगामी बर्खाको बेलासम्म पनि ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नसक्ने निश्चित भएको हुँदा सो पुलमा कुनै पनि बेला ठुलो दुर्घटना हुनसक्ने अवस्था उत्पन्न भएको छ।

कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकअन्तर्गत नै अहिले भएको पुल विस्तार गर्न दायाँ–बायाँ पुल निर्माण गर्नुपर्ने सपना, देव एन्ड सायर, भूमि जेभीलाई छ लेन सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो। सम्झौताअनुसार अहिले भएको पुलको दायाँ–बायाँ ‘डबल लेन’ का दुईवटा पुल निर्माण गर्नुपर्नेछ। तर अहिलेसम्म सो काममा सन्तोषजनक प्रगति नहुँदा बर्खाको बेला समस्या निम्तिने खतरा रहेको सडक विस्तार आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए।

‘अहिलेसम्म ३० प्रतिशतमात्र प्रगति भएको देखिएको छ, ठेकेदार कम्पनीलाई थुपै्रपटक ताकेता गरिसकियो,’ दासले भने, ‘भुक्तानीमा कुनै समस्या छैन, तापनि ठेकेदार कम्पनीको कामको गति निकै सुस्त छ।’ उनका अनुसार पुलको फाउन्डेसनको काम आधामात्र सकिएको छ। दायाँ–बायाँ दुईवटा पुलका लागि पाँच–पाँचवटा पिलर हुनुपर्नेमा अहिलेसम्म तीनवटा मात्र तयार भएको छ।

बर्खाको बेला अघिल्लो वर्ष सुनसरीको दुहवी क्षेत्रतर्फ बढी नै दबाब परेको थियो। यस वर्ष पनि त्यही समस्या निम्तिने इन्जिनियर दासले बताए। पुल निर्माणका लागि २०७४ फागुन २३ गते २३ करोड १७ लाख ८९ हजारमा ठेक्का लागेको थियो। सम्झौताअनुसार २०७७ भदौ २२ मा काम सकिनुपर्ने हो। तर ठेकेदार कम्पनीले तोकिएको अवधिमा काम पूरा नहुने जनाइसकेको छ।

‘सुनसरीको दुहवीतर्फ छ लेन सडक आयोजनाले विद्युत्को पोल र सुकुम्बासी बस्ती क्लियर नगर्दा काममा समस्या भएको हो,’ पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसम्बद्ध शुभम बोहोराले भने, ‘बर्खामा समस्या हुन नदिन अहिले भएको पुलको पश्चिमतर्फको एउटा पुल भने जेठभित्र सक्ने गरी रफ्तारमा काम भइरहेको छ।’ उनले क्लियर भएको स्थानमा काम नरोकिएको प्रस्ट्याउँदै सबैको भाषा ठेकेदारको लापरबाहीले भन्ने गरे पनि त्यस्तो नभएको जनाए।

कोसी राजमार्गअन्तर्गत दुहवीको बुढी खोला पुलमा समस्या भए विराटनगर आउजाउ गर्न कोसी राजमार्गबाट सम्पर्क टुट्नेछ भने ६ लेन सडक विस्तार आयोजना पूर्ण रूपमा प्रभावित हुनेछ।

भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ, जसमध्ये अहिले ३२.६४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजनाअन्तर्गत तरहरादेखि धरान सडक खण्डको १४ किलोमिटर ठेक्का लगाउन भर्खरै टेन्डर आह्वानसम्बन्धी सूचना जारी गरिएको छ। तरहरादेखि धरानसम्मको सडक भने चार लेनको मात्र हुनेछ। सडकको सेन्टरबाट दायाँ–बायाँ १५–१५ मिटर मात्र विस्तार गरिनेछ।

अहिलेसम्म ठेक्का लागेको सडकमध्ये इटहरीको बजार क्षेत्र र मोरङको निमुवा क्षेत्रको झन्डै डेढ किलोमिटर सडकबाहेक अन्य स्थानको सडक भने असार मसान्तसम्म कालोपत्रे हुने सडक निर्माण आयोजनाको दाबी छ। अहिलेसम्म दुहवी बजार क्षेत्रको सडक भने बाइपास गर्ने वा बजारक्षेत्रबाट विस्तार गर्ने भन्ने टुंगो लाग्न नसकेर ठेक्का प्रक्रियामा अघि बढेको छैन। ठेकेदार कम्पनीले सडकसमेत सुस्त गतिमा निर्माण गर्दा सर्वसाधारणले समस्या बेर्होनुपरेको छ। एकातिर राजमार्ग छेउमा घर हुने र बजार क्षेत्रमा व्यापार–व्यवसाय गर्नेले धुलोले गर्दा समस्या बेर्होदै आएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App