१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बहानेपोखरी महोत्सव तयारी पुरा

ऐसेलुखर्क गाउँपालिकामा रहेको पर्यटकीयस्थल बहानेपोखरी। सोही ठाउँमा महोत्सवको तयारी गरिएको छ। तस्बिर: नागरिक

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ। पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय स्थल बहानेपोखरीमा फागुन १३ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको हो।

बहानेपोखरीसम्म पुग्ने सडक, स्टल, स्टेज, विद्युत्, पिउने पानी, होटल, आवास लगायत व्यवस्थापनको काम भइसकेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। बहानेपोखरीको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ। ‘आवश्यक पूर्वाधारको सबै तयारी सकिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘स्टल, अस्थायी होटलले डाँडा सजिएको छ।’

पाँचदिने महोत्सवमा अर्गानिक कृषिउपज प्रदर्शनी, स्थानीय खानाका परिकार, विभिन्न जातजातीको सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रम, खेलकुदलगायत कार्यक्रम हुने महोत्सव आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए। फागुन १७ गतेसम्म सञ्चालन हुने महोत्सवका दौरान सहभागीलाई महोत्सवमा बाहाने पोखरी अवलोकन, शंखे ढुंगा, नागढुंगा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फूलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्रा गराइने छ।

सोही अवशरमा खुल्ला वडास्तरीय महिला/पुरुष भलिवल, मिनि म्याराथन, खुल्ला पुरुष डबल ब्याटमिन्टन, खुल्ला लोकदोहोरी, खुल्ला बुद्धिचाल लगायतका प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने दुई सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरी घुमफिर गर्न र दृश्यावलोकनका लागि चर्चित छ। पर्यटनको सम्भावना रहेपनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचना रहेको बहानेपोखरीमा जनै पूर्णिमा र मंसिर पूर्णिमाकाबेला धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ।

बहानेपोखरीका आसपासमा चौरी गाई र भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने दावी गरिएको छ। ओझेलमा रहेको बहानेपोखरीमा नयाँ वर्ष लगायतका अवशरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App