२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१६ लाखको निःशुल्क स्वास्थ्य बिमा: अर्थमन्त्री

काठमाडाैं – अर्थमन्त्री युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका १६ लाख परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताएका छन्।

आइतबार सम्पन्न राष्ट्रिय बिमा संस्थानको ५३ औ वार्षिक उत्सवको अवसरमा न्यून आम्दानीका कारण स्थास्थ्य बिमाको पहुँचबाहिर रहेका परिवारको निःशुल्क बिमा गर्ने घोषणा गरेका हुन्।

आर्थिक अभावका कारण स्वास्थ्य बिमा गर्न नसकेका १६ लाखभन्दा बढी परिवारको बिमा शुल्क (प्रिमियम) रकम अब सरकारले भुक्तानी गर्ने समेत उनले बताए।

न्यून आय भएका परिवारको स्वास्थ्य बिमा शुल्क सरकारले भुक्तानी गरे पनि बिमाप्रति विश्वास बढाउन सम्बन्धित जीवन तथा निर्जीवन बिमा कम्पनीले सहज रुपमा सेवा सुविधा प्रदान गर्न उनले आग्रह गरे।

भविश्यमा आइपर्ने जोखिम बहन गर्न बिमा गरिने भएकाले दाबी भुक्तानीलाई सरल गर्न आग्रह गर्दै उनले भने, ‘बिमाको पहुँच तथा सर्वसाधारणको विश्वास बढाउन शाखा कार्यालय र कर्मचारीको संख्या बढाउनुभन्दा पनि दाबी भुक्तानी प्रक्रिया सहज गर्नुस्।’

जीवन तथा निर्जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएको बताउँदै उनले मुलुकको एउटा मात्र पुनर्बिमा कम्पनीले जोखिम बहन गर्न सक्छ भन्दै विज्ञहरुलाई प्रश्न सोधेका छन्। हाल मुलुकभर १९ जीवन र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्।

यी ३९ वटा जीवन तथा निर्जीवन बिमा कम्पनीले गरेको बिमाको जोखिम बहन गर्न मुलुकको एउटा मात्र नेपाल पुनर्बिमा कम्पनी सक्षम छ भन्दै उनले बिमा कम्पनी र विज्ञलाई प्रश्न गरेका हुन्।

मुलुकको बिमा क्षेत्रको बढ्दो बजारलाई धान्न एउटा मात्र पुनर्बिमा कम्पनी पर्याप्त छ छैन् भन्ने विषयमा गहन वहस गर्न आवश्यक रहेको उनले बताए।

सोही अवसरमा उनले बिमा कम्पनीलाई करमा छुट दिन नसक्ने बताएका छन्। जीवन बिमा कम्पनीले कुल जीवन बिमाशुल्क रकमबाट वार्षिक २५ हजार रुपैयाँसम्म घटाएर आयकर छुट पाउने व्यवस्था यथावत रहने बताए।

जीवन बिमा कम्पनीले बिमाशुल्क रकमबाट वार्षिक ५० हजार रुपैयाँ आयकर छुट पाउनुपर्ने माग अघि सार्दै आएका छन्। करको विषयमा आफू कठोर रहेको बताउँदै उनले कमाउन सक्नेबाट लिने र कमाउन नसक्ने सर्वसाधारणलाई दिने सरकारको कर्तव्य रहेको बताए। आगामी दिनमा बारम्बार करका विषयमा प्रश्न नगर्न जीवन बिमा कम्पनीलाई आग्रह गरेका छन्।

सो कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आगामी १० महिनाभित्र राष्ट्रिय बिमा संस्थानको बिमांकीय मूल्यांकन पूरा गर्ने बताएका छन्। संस्थानको बिमांकीय मूल्यांकन नेपाली एक्चुरीले नै गर्ने भएकाले उनले आफ्नो कार्यकालभित्र संस्थानको बिमांकीय मूल्यांकन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, अघिल्लो वर्षको वित्तीय विवरण र बिमांकीय मूल्यांकनको प्रतिवेदन स्वीकृत नभई पछिल्लो आर्थिक वर्षको लेखा परिक्षण सम्पन्न गर्न नमिल्ने व्यवस्थाले समस्या भएको संस्थानका प्रशासक कवि पाठकले बताए।

नियामक निकाय बिमा समितिलाई विगत ६ वर्षको बिमांकीय स्वीकृतिका लागि बिमा समितिमा पेस गरिसेकाले सरल र सहज रपमा समस्या समाधान गर्न बिमा समितिलाई आग्रह गरे।

आफ्नै स्रोत र साधनको चरम अभाव भएका कारण उद्देश्य अनुसार प्रभावकारी रुपमा स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढ्न् नसकेको स्वास्थ्य बिमा वार्डका सूचना अधिकृत कृष्णप्रसाद आचार्यले बताए।

स्वास्थ्य बिमा कार्यक्रम गाँउ घरसम्म पु-याउन सम्कबन्धित निकायको सहयोग आवश्यक रहेको बताउँदै उनले हालसम्म २६ लाख १७ हजार ६ सय ७५ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागि भएको बताए।

वार्षिक दुई हजार पाँच सय रुपैयाँ बिमाशुल्क भुक्तानी गरी स्वास्थ्य बिमा गर्दा बढीमा ५० हजार रुपैयाँ बराबरको उपचार खर्च पाउँने व्यवस्था छ। स्वास्थ्य बिमा कार्यक्रममा पाँच वर्षदेखि ६५ वर्षसम्मका व्यक्ति सहभागी हुन सक्छन्। तर,  बिमा गर्दा लाग्ने शुल्क एक सयदेखि पाँच हजार रुपैयाँ निर्धारण गरिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बिमा व्यक्तिगत मात्र नभई संस्थागत रुपमा गर्न सकिने उनले बताए। संस्थागत स्वास्थ्य बिमा गर्न सम्बन्धित कम्पनीको प्यान, लेटरप्याड पेस गरी पाँचदेखि १० जनाको बिमा गर्न सकिन्छ।

त्यसैगरी, व्यक्तिगत स्वास्थ्य बिमा गर्दा प्रतिपरिवार वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क लाग्छ भने एक लाख रुपैयाँ बराबरको दाबी भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ।

पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य अतिरिक्त सात सय रुपैयाँ बिमा शुल्क लाग्छ। यसवापत बिमा गर्ने व्यक्तिले वार्षिक बढीमा एक लाख रुपैयाँ उपचार खर्च पाउँछन्। यस योजना अन्तर्गत एक जनालाई बढीमा २० हजार रुपैयाँ उपचार खर्च भुक्तानी हुने बोर्डले जनाएको छ।

हालसम्म मुलुकका ५० जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चलन भएको बताउँदै उनले भने, ‘चालु आवको माघ मसान्तसम्म १३ लाख ७० हजार आठ सय ९० महिला, १२ लाख ४६ हजार चार सय ६७ पुरुष र तीन सय १८ जना अन्यले स्वास्थ्य बिमा गरेका छन्।’

सो अवधिमा कुल सात लाख ७० हजार सात सय ६७ परिवार स्वास्थ्य बिमा कार्यक्रमा आवद्ध छन्। त्यसैगरी ६ लाख ५७ हजार नौ सय ९४ अति गरिब, दुई लाख ७१ हजार आठ सय तीन जना जेष्ठ नागरिक, चार हजार पाँच सय ८१ जना एचआइभी संक्रमित, ६ सय ८१ कुष्टरोगी, २० हजार सात सय ३० अशक्तलगायत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन्।

सर्वसाधारणले स्वास्थ्य बिमा गर्दा तोकिएका अस्पतालबाट निःशुल्क औषधि तथा उपचारको सुविधा पाउने व्यवस्था रहेको उनले बताए। तर, व्यक्तिगत झगडाका कारण चोपटकट लागेमा, लागुऔषध तथा मादक पदार्थ सेवन गरी दुर्घटनामा परी चोटपटक लागेमा, इमर्जेन्सी, ओपिडी सेवा, ल्याब उपचार, सामान्य अपरेसन लगायत सेवा लिन नपाइने बोर्डले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App