१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब(रातो) र काँकडभिट्टाका खेलाडी मैदानमा भिड्दै। तस्बिर: रोहित राई

धरान – मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ३–१ ले हराउँदै नेपाल पुलिस क्लब २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

धरान–१६ स्थित रंगशालामा आइतबार भएको खेलमा पुलिसका जुमानु राईले २ तथा सुमन सुवेदीले एक गोल गरेका थिए। झापाका सञ्जय धिमालको गोल सान्त्वनामा सीमित भयो। खेलमा अग्रता भने काँकडभिट्टाले लिएको थियो। १०औं मिनेटमा सञ्जयले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। तर, ४१औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई खेलमा फर्काए।

पदम भट्टराईको फ्रिकिक काँकडभिट्टाको खेलाडीले क्लियर गर्न नसक्दा सुमनले त्यो अवसर सदुपयो गरे।  त्यसको दुई मिनेटपछि नै जुमानुले फ्रिकिकबाट आकर्षक गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए। उनले करिब २५ यार्ड टाढाबाट गरेको फ्रिकिक बल्ले जाली चुमेको थियो। जुमानुले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुसिलको जित सुनिश्चित गरेका थिए। पुलिसले अन्य थुप्रै गोल गर्ने मौका खेर फाल्दा काँकडभिट्टाले पनि सदुपयोग गर्न सकेन।

खेलको म्यान अफ दी म्याच पनि पुलिसका जुमानु राई घोषित भए। उनले नगद १५ हजार पाए भने पुलिसकै सुमन सुवेदीको उत्कृष्ट गोल घोषित हुँदा ५ हजार रुपैयाँ पाए। पुलिसका प्रशिक्षक अनन्त थापाले पहिला गोल बेहोर्नुपरे पनि खेलाडीले समयमा नै गोल फर्काउँदा खेलमा फर्किन सहज बताएको बताए। उनले सेमिफाइनल अझै मेहनत गरेर खेल्ने बताए।
काँकडभिट्टाको प्रशिक्षक मीनबहादुर बस्नेतले सोचेजस्तो खेल्न नसकेको बताए। उनले तीन वटै गोल गोलकिपरको कमजोरीले खानु परेको भन्दै थुप्रै अवसरसमेत सदुपयोग नहुँदा हार बेहोर्नुपरेको बताए। सोमबार मनाङ मस्र्याङ्दी क्लब र मुख्यमन्त्री कप प्रदेश लिग उपविजेता बेलबारी फुटबल क्लबबीच खेल हुनेछ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App