१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनलबाटै नेपालको यात्रामा पूर्णविराम

काठमाडौं- नियमित प्रतिद्वन्द्वी भारतसँग फेरि एकपटक निराश भएपछि नेपाली राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिप यात्रा यसपाली सेमिफाइनलमै टुंगिएको छ। यसअघि सम्पन्न सबै तीन संस्करणका फाइनलमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख भएको नेपाल गतवर्षको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा पनि फाइनलमै भारतसँग पराजित भएको थियो।

दक्षिण एसियाली महिला फुटबलमा नेपाल फाइनल पुग्न असफल भएको यो पहिलो पटक हो। यसअघि सधैं नकआउट पुगेपछि भारतसँगको भेट फाइनल अघिलाई टार्न सफल नेपाल यसपाली भने भारत आफ्नो समूहको उपविजेतामा सीमित हुँदा सेमिफाइनलमै दक्षिण एसियाली फुटबलको महारथीसँग भिड्न बाध्य भएको थियो। गत फागुनमा सम्पन्न सागको समूह चरणमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो। त्यसबाहेक भारतसँग नेपालको नतिजा सुखद हुन सकेको छैन। नेपालको हारसँगै यसअघिका तीनै संस्करणको विजेता भारतले यसपाली भने फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाउने पक्का भएको छ।

भारतको सिलगुडीमा जारी प्रतियोगिताको सेमिफाइनलमा सोमबार नेपाल घरेलु टोलीसँग ३–१ ले स्तब्ध भएको थियो। रेफ्रीको कमजोरीका कारण पराजित हुनु परेको नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताए।

‘हामीले स्पष्ट रुपमा पाएका तीन पेनाल्टी अवसर रेफ्रीले दिएनन्। उनीहरूले हानेको पहिलो गोल अफसाइड थियो,’ पहिलो पटक प्रशिक्षकको भूमिकामा राष्ट्रिय टोली सम्हालेका थापाले भने, ‘यो ठूलो प्रतियोगिता हो। यस्ता प्रतियोगितामा रेफ्रीको निर्णय क्षमता निकै कमजोर देखियो। मैले यही कुरा उठाउँदा हारेपछि भनेजस्तो हुन्छ। तर भारतीय टोलीका अधिकारी पनि रेफ्री र अफिसियलको निर्णयमा खुसी थिएनन्।’

सोमबारको खेल बंगलादेशका अनिसुर रहमानले खेलाएका थिए। सोमबारको हारपछि नेपाल पहिलो पटक फाइनल नखेली घर फर्कंदैछ।

उपाधि जित्ने उच्च महत्वाकांक्षाका साथ भारत गएका प्रशिक्षक थापाले लक्ष्य प्राप्त नभए पनि आफ्नो टोलीले च्याम्पियन शैलीको प्रदर्शन गरेको प्रतिक्रिया दिए। ‘प्रतियोगितामा हामी च्याम्पियन बन्न सकेनौं। तर हाम्रो प्रदर्शन त्योभन्दा कमजोर रहेन। आजको खेल फाइनलजस्तै थियो। दुर्भाग्य यहाँबाट एउटा टोलीमात्र अघि बढ्थ्यो। त्यसमा भारत सफल रह्यो,’ थापाले थपे, ‘आज खेलाडीले जुन प्रदर्शन गरे, त्यसमा मलाई गर्व छ।’

सिलगुडीको कन्चनजंघा रंगशालामा भारतले कमलादेवीको गोलमा मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा अग्रता लिएको थियो। ५९ औं मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो। भारतकी इन्दुमतीले गोल गरेकी थिइन्। ७५ औं मिनेटमा सावित्रा भण्डारीले गरेको गोलमा नेपालले पुनरागमनको प्रयास गरेको थियो। तर, समय सकिन ६ मिनेट बाँकी रहँदा सस्मिता मलिकले अर्को गोल थपेपछि नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो। प्रशिक्षक थापाले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा नतिजा गुमाउनु परेको बताए। प्रतियोगितामा सावित्राको यो १२ औं गोल हो। साफ च्याम्पियनसिप फुटबलमा नेपालकी सावित्रा भण्डारी सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा तेस्रो स्थानमा छन्। भारतमा साबित्राले व्यक्तिगत १२ गोल गरिन्। यो नेपाली खेलाडीले एउटै प्रतियोगितामा गरेको सर्वाधिक गोल हो। भारतकी नगानगोम बालादेवीले पाकिस्तानमा तीन वर्षअघि भएको तेस्रो संस्करणमा व्यक्तिगत १६ गोल गरेकी थिइन्।

‘हामीले राम्रो खेले पनि उपयुक्त समयमा गोल गर्न सकेनौं,’ राष्ट्रिय टोलीका पूर्वखेलाडी थापाले थपे, ‘सावित्रालाई उनीहरूले खुलेर खेल्न दिएनन्। हामीले केही राम्रा अवसर सिर्जना गरेका थियौं, तर सदुपयोग गर्न सकेनौं।’

नेपालले समूह ‘ए’ विजेताको हैसियतमा अन्तिम ४ मा स्थान बनाएको थियो। नेपालले समूह चरणका सबै खेल जित्ने क्रममा भुटानलाई ८–० तथा माल्दिभ्सलाई ९–० को नतिजामा पराजित गरेको थियो भने श्रीलंकामाथि १–० को विजय हासिल गरेको थियो। समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि भारत उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसअघि भारतले अफगानिस्तानमाथि ५–१ को विजय हासिल गरेको थियो। भारतले अब उपाधिका लागि बंगलादेश र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १९ पुस २०७३ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App