१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई अध्यक्ष टकरावले विद्यालय भद्रगोल

खोटाङ – वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको टकरावले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित अन्नपूर्ण मावि द्वन्द्वमा फसेको छ। वडाध्यक्ष लीला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादका कारण विद्यालयको शैक्षिक वातावरण नै खल्बलिएको छ। जसका कारण विद्यार्थीको पढाइ बिथोलिएको भन्दै अभिभावकसमेत चिन्तित बन्न थालेका छन्।

पछिल्लो समय चौहान आन्तरिक रूपमा व्यवस्थापन समितिसँग असन्तुष्ट अभिभावकलाई प्रयोग गरेर अध्यक्ष राईलाई पदबाट हटाउने र आफूअनुकूल समिति बनाउने कसरतमा लागेको जनाइएको छ। राई पनि वडाध्यक्षसँग भिडेर आफ्नो कार्यकाल पूर्ण रूपमा बिताउन प्रयासमा छन्। गत मंसिरमा वडा कार्यालयले व्यवस्थापन समिति खारेजको माग गर्दै नगरपालिकामा पत्र पठाएपछि उनीहरूको द्वन्द्वले उग्र रूप लिएको हो। वडाध्यक्षले समिति खारेजीका लागि नगरपालिकामा पत्राचार गरेपछि पुस ७ गते नगर शिक्षा शाखाको टोली विद्यालयमा पुगेको थियो। उक्त टोलीले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।

चौहान र राईकै द्वन्द्वले गत पुस २० गते विद्यालयमा तालाबन्दीसमेत भयो। पुस २३ गते व्यवस्थापन समितिको बैठक बसेर तालाबन्दीको विषयमा आपत्ति जनाउँदै छानबिनका लागि नगरपालिकालाई आग्रह गर्ने निर्णय ग¥यो। हिउँदे बिदा सुरु भएको दिन लगाइएको ताला वडा कार्यालय आफंैले बोलाएको अभिभावक भेलापछि माघ १२ गते खुलाइएको थियो। उक्त दिनको बैठकमा व्यवस्थापन समितिले अभिभावक भेला बोलाउने, नबोलाए समिति पुनर्गठन गर्ने निर्णय भएको थियो। सोही निर्णयका आधारमा व्यवस्थापन समितिले माघ २३ गते बोलाएको बैठकमा समस्या समाधानका लागि नगरपालिकाको निर्णय पर्खने वा तत्काल व्यवस्थापन समिति पुनर्गठनका लागि प्रस्ताव गर्ने भन्ने विषयमा नगरपालिकाकै निर्णयअनुसार चल्ने सर्तमा बैठक टुंगिएको अध्यक्ष राईले बताए।

व्यवस्थापन समिति खारेजको माग गर्दै विरोध -याली
तीनवर्षे कार्यकाल भएको राई नेतृत्वको व्यवस्थापन समितिको कार्यकाल अझै ढेड वर्ष बाँकी छ। उनी २०७५ भदौमा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका थिए। गत भदौमा अभिभावकतर्फबाट एसइईमा विद्यालय निल भएको, परीक्षामा गलत प्रश्नपत्र उपयोग गरिएको, अभिभावक भेला नबोलाइएको, हिनामिना भएकोलगायत पाँचबुँदे माग गर्दै व्यस्थापन अध्यक्षविरुद्ध विद्यालयमा निवेदन परेको थियो। त्यसकै सिलसिलामा आइतबार दुईवटा बसमा दिक्तेल पुगेका अभिभावकले नाराजुलुससहित व्यवस्थापन समिति खारेज गरी नयाँ समिति निर्माणको माग गर्दै नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाए। सो ज्ञापत्रपत्रमा अभिभावक भेला नबोलाएको, गलत प्रश्नपत्र प्रयोग गरेर परीक्षा गराइएको, शिक्षकको तलब बढाएर विद्यालयको आर्थिक अवस्था कमजोर बनाएको, अभिभावकको गुनासोलाई नसुनी अनिर्णयको बन्दी बनाएको, विद्यालयको आर्थिक, भौतिक र शैक्षिक गतिविधिमा ध्यान दिन नसकेकोलगायत उल्लेख छ।

बाहिर विद्यालयको चिन्ता, भित्र शिक्षक नियुक्तिको चलखेल
अन्नपूर्ण माविमा गत मंसिरदेखि प्रावि दरबन्दीमा दुई, पुसदेखि आधारभूत तहको गणित विषयको एक र माविको एउटा अनुदान कोटा रिक्त छन्। बाहिर जे देखिए पनि भित्रभित्रै नयाँ शिक्षक नियुक्तिबारे चौहान र राईबीच द्वन्द्व चर्किएको स्थानीय गजेन्द्र राईले बताए। स्रोतका अनुसार रिक्त दरबन्दीमा वडाध्यक्ष चौहान आफूले चाहेको उम्मेदवारलाई नियुक्त गर्न चाहन्छ। तर व्यवस्थापन अध्यक्ष राई त्यसो हुन दिने पक्षमा छैनन्। त्यसकारण चौहान आफूअनुकूलका व्यक्तिलाई व्यवस्थापन समितिमा ल्याएर शिक्षक नियुक्ति गर्ने खेलमा लागेको विद्योदय मावि दोर्पा चिउरीडाँडाका शिक्षक प्रेम थापाले बताए। गत पुस ६ गते नगरपालिकाले आधारभूत तहमा शिक्षक नियुक्तिका लागि सिफारिस दिए पनि शिक्षा शाखामा नपुग्दै सहायक प्रधानाध्यापक पेसलकुमार राईलाई वडाध्यक्ष चौहानले रोकेको बताइएको छ। ‘अहिले जे भइरहेको छ, त्यो विद्यालय सुधारौं भनेर होइन,’ गजेन्द्रले भने, ‘स्कुलको चिन्ता, बालबालिकाको भविष्यको चिन्ता होइन, कसरी आफूले भनेको शिक्षक नियुक्ति गर्ने भन्नेमा उहाँहरूको चिन्ता बढी छ।’ वडाध्यक्षकै कारण मावि अनुदान कोटामा शिक्षक नियुक्तिका लागि चौथोपल्ट खुलाइएको विज्ञापनको परीक्षा रद्द गरिएको जनाइएको छ। गत फागुन १ गते बसेको व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार रिक्त राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि तेस्रोपटक नगरपालिका पुग्नुपरेको भन्दै अध्यक्ष राईले गुनासो गरे।

उनीहरूबीचको द्वन्द्व राजनीतिक पनि देखिएको छ। चौहान तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित हुन्। राई पनि तत्कालीन एमालेकै स्थानीय नेता हुन्। चौहानले वडामा नेकपाको समानान्तर कमिटी बनाएपछि त्यसको विरोध जनाउँदा आफूलाई व्यस्थापन समितिबाट हटाउने खेल सुरु गरिएको राईको आरोप छ। चौहानले भने आफूलाई जबर्जस्ती विवादमा मुछ्ने काम भएको बताए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App