१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिक हवाई भाडा घट्यो

काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घटेको भाडामा यात्रुले सोमबार (असार २०) बाट उडान गर्न पाउनेछन्।

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले हवाई भाडा न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँसम्म घटाउने निर्णय गरेको हो ।
‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि हामीले हवाई भाडा घटाउने निर्णय गरेका हौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले आइतबार नागरिकसँग भने, ‘भाडा घटेपछि यात्रुलाई पक्कै केही राहत मिल्ने छ ।’
आयल निगमले गत शुक्रबारबाट ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर १० रुपैयाँका दरले घटाएर प्रतिलिटर ९९ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका हुन् । उनीहरूले यसअघि २०७२ फागुन ५ गते पनि हवाई भाडा अधिकतम १८ प्रतिशतले घटाएका थिए । त्यसबेला न्यूनतम ६ सय २० देखि अधिकतम २ हजार १ सय ३५ रुपैयाँसम्म घटाएका थिए ।
हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन् । यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको÷बढेको रूपमै लिन्छन् ।  
आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमराका लागि १ सय १५ र सबैभन्दा टाढाको धनगढीका लागि ३ सय ८५ रुपैयाँ सरचार्ज घटाउने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार अब सोमबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ६ सय ५० रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ६ सय ५ रुपैयाँ तिरे पुग्छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । आइतबारसम्म सिमरा जान २ हजार ७ सय ६५ र धनगढी जान १० हजार ९ सय ९० रुपैयाँ पथ्र्यो । यी सबै भाडा दर करसहित हुन् । सबै भाडा ‘नर्मल’ हुन् ।
‘हवाई इन्धनको भाउ घटेपछि फ्युल सरचार्ज घटाउने निर्णय गरेका छौं,’ संघको सदस्य सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक थापाले भने, ‘भाडा घटेपछि यात्रु संख्या बढ्ने आशा छ । हाम्रो निर्णयबाट यात्रुलाई केही सहज हुने विश्वास पनि गरेका छौं ।’
संघका अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु ३ सय ७५ रुपैयाँ, पोखरा १ सय ६५, भैरहवा २ सय ५, विराटनगर २ सय ३५, भद्रपुर २ सय ७५, भरतपुर १ सय ३५, नेपालगन्ज २ सय ९५, जनकपुर १ सय ५०, तुम्लिङटार २ सय ५, लुक्ला १ सय ४० र पोखराबाट जोमसोमलाई ७५ रुपैयाँ कम तिरे पुग्छ ।  
अब काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ९ हजार १० रुपैयाँ, पोखरा जान ४ हजार २ सय ३०, भैरहवा ५ हजार ३ सय, विराटनगर ६ हजार ५५, भद्रपुर ७ हजार ३ सय ८५, भरतपुर ३ हजार ९०, नेपालगन्ज ७ हजार ९ सय ५५, जनकपुर ३ हजार ५ सय ९५, तुम्लिङटार ४ हजार ९ सय ८५, लुक्ला ३ हजार ८ सय ४५ तथा पोखराबाट जोमसोम जान २ हजार ३ सय ३० रुपैयाँमात्र लाग्छ ।
वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ पेट्रोलका दाँजोमा कम हुने गरे पनि नेपालमा उल्टो हुँदै आएको छ ।
प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ । सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ । सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।  

            
            

 

 

 

 

 


 

 

 

प्रकाशित: २० असार २०७३ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App