१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिमा एउटै सचिव राख्न लबिङ

काठमाडौं - कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत दुई सचिवको दरबन्दी रहेकामा केही कर्मचारीले व्यक्तिगत स्वार्थलाई हेरेर एउटा मात्र दरबन्दी बनाउन लबिङ सुरु गरेका छन् ।

सरकारले नयाँ संविधान अनुसार २५ वटा मात्र मन्त्रालय बनाउँदा कृषि र पशुपक्षी मन्त्रालयलाई गाभेर एउटै कृषि तथा पशुपक्षी मन्त्रालय बनाएको थियो। कृषि सचिव युवकध्वज जिसीले राजीनामा दिएपछि रिक्त रहेको यो दरबन्दी हटाउन लबिङ भएको हो। यसको नेतृत्व अहिलेका अर्का सचिव प्रकाश माथेमाले गर्दै आएको आरोप मन्त्रालयका कर्मचारीहरुले लगाएका छन्। सरकारले कृषिलाई विशिष्टीकृत गरी उत्पादन बढाउने योजना बनाइरहेका बेला कृषि समूहको सचिव हटाउन माथेमाले लबिङ गरिरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

जिसीको राजिनामापछि मन्त्रालयमा दुई सचिव आवश्यक नभएको भन्दै कृषि क्लस्टरको सचिवको दरबन्दी कटौती गर्न सचिव माथेमाले लबिङ गरिरहेको मन्त्रालयका ती अधिकारीले दाबी गरे। एउटा मात्र सचिव पद हुँदा त्यसको नेतृत्व आफूले गर्न पाउने व्यक्तिगत स्वार्थमा माथेमाले कृषि क्लस्टर हटाउन मन्त्री घनश्याम भुसाललाई विभिन्न समूहमार्फत लबिङ गरिरहेका छन्। ‘दुई सचिव हुँदा काम गर्न मन्त्रीलाई अप्ठेयो हुन्छ भनेर अर्को दरबन्दी हटाउन लबिङ गरिएको छ,’ ती अधिकारीले भने, ‘व्यक्तिगत स्वार्थमा पद हटाउँदा त्यसको असर कृषि उत्पादनमा पर्छ ।’ सरकारले माथेमालाई वन समूहतर्फबाट पशुमा ल्याएको थियो।

कृषि अध्ययन गरेको सचिव नहुँदा समग्र कृषि क्षेत्रको विकासमा बाधा पुग्छ : पूर्वकृषिमन्त्री चक्रपाणि खनाल

कृषिमा मात्र नभएर उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ लगायतमा पनि दुई सचिव छन्। उद्योगमा एउटाले उद्योग र अर्काले वाणिज्य हेर्छन्। सम्बन्धित क्षेत्र अध्ययन गरेको विज्ञ कर्मचारी हुँदा योजना निर्माणदेखि कार्यान्वयनसम्म सजिलो हुने भएकाले कृषि सचिव हटाउन नहुने पूर्वप्रशासक बताउँछन्।  पूर्वकृषिसचिव गणेश केसी कृषि प्राविधिक क्लस्टर भएकाले सचिवको दरबन्दी घटाए त्यसको असर कृषि उत्पादनमा पर्ने बताउँछन्। ‘कृषि विशिष्टीकृत क्षेत्र हो,’ पूर्वसचिव केसीले भने, ‘दरबन्दी थप्नुपर्नेमा घटाउने बहस गर्नु हुँदैन।’

अहिले कृषि उत्पादन बढाउनुपर्ने बेला सचिव पद काट्नतर्फ लाग्न नहुने उनले बताए। ‘कृषिको तल्लो तहबाट आएकाले उक्त क्षेत्रको विषय बुझेको हुन्छ,’ उनले भने, ‘प्राविधिक विषय भएकाले अन्य क्षेत्रबाट ल्याउन उपयुक्त हुँदैन।’ कृषि, वन बाहेक अन्य सबै समूहमा पर्याप्त सचिव भएपछि विशिष्टीकृत हुनुपर्ने क्षेत्रमा सचिव हटाउने बहस आवश्यक नरहेको पूर्वमन्त्री तथा प्रशासक बताउँछन्। कृषि बाहेक प्राविधिक समूह इन्जिनियरिङमा ८० जना सहसचिव हुँदा ११ जना सचिव छन्। कृषि क्लस्टरको सचिव पद हटाउन चलेखल भइरहेका बेला पूर्वकृषिमन्त्री तथा कृषि सचिवहरुले हटाउन नहुने बताएका छन्। कृषि अध्ययन गरेको सचिव नहुँदा समग्र कृषि क्षेत्रको विकासमा बाधा पुग्ने पूर्वकृषिमन्त्री चक्रपाणि खनालले बताए। ‘कृषिमा कृषि क्षेत्रको विज्ञ हुनुपर्छ,’ मन्त्री खनालले भने, ‘कृषि क्लस्टर बाहिरबाट ल्याउँदा योजना निर्माण र कार्यान्वयनमा असर पर्छ।’

यो विषयमा विगतमा पनि अध्ययन र बहस भए पनि कृषि क्षेत्रबाटै आएको सचिव आवश्यक पर्ने निष्कर्षमा पुगेकाले यो बहस चलाउन आवश्यक नभएको पूर्वमन्त्री खनालले टिप्पणी गरे। ‘कृषि प्राविधिक विषय हो,’ उनले भने, ‘अन्य समूहबाट सचिव ल्याउँदा कृषिको मर्म बुझ्न सक्दैन।’ विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत कृषितर्फको सचिव पद थियो। ‘अहिले प्रधानमन्त्री कार्यालयमा रहेको कृषि क्लस्टरको सचिव हटाइएको छ,’ उनले भने, ‘अब मन्त्रालयबाट पनि हटाउनु कृषि क्षेत्रका लागि राम्रो हुँदैन।’ कृषिमा प्राविधिक विषय पढेका करिब १५ हजार कर्मचारी भएकाले त्यसको असर वृत्ति विकासमा पर्ने बताएका छन्।

सरकारले कृषि उत्पादन दोब्बर बढाएर आयात प्रतिस्थापन गर्ने रणनीति तयार गरेको बेला अन्य समूहको सचिव आउँदा कर्मचारीको भावनामा पनि ठेस पुग्न सक्ने पूर्वमन्त्री खनालले बताए। ‘कृषिमा विज्ञता आवश्यक छ,’ उनले भने, ‘बाहिरबाट आउँदा त्यहाँभित्रका कर्मचारीको मनोबल खस्किन्छ।’ मन्त्रालयको नेतृत्व गर्ने मन्त्री राजनीतिक भूमिकाबाट आएकाले विज्ञ नभए त्यसको असर कृषि क्षेत्रमा पर्ने खनालको बुझाइ छ। सरकारले कृषिमा आधुनिकीकरण, व्यवसायीकरणमार्फत उत्पादन वृद्धि गरी कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने घोषणा गरे पनि परिणाम आउन सकेको छैन।

प्रकाशित: ११ फाल्गुन २०७६ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App