१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको पहिलो औपचारिक भ्रमण गर्दै ट्रम्प

अहमदावाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार (फेबु्रअरी २४) भारतको पहिलो औपचारिक भ्रमण गर्ने भएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले सोमबार अहमदावादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन्। यस्तै, उनले भारतको ताज महलको भ्रमण गर्ने कार्यक्रम तय भएको अधिकारीले जानकारी दिएका छन्। तर, पूर्वअपेक्षित व्यापार सम्झौता भने नहुने बताइएको छ। राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ।

विज्ञका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिन रणनीतिक मित्रका रूपमा भारत उपयोग गर्न खोजेको बताएका छन्। ‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,’ ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन्। ट्रम्पले यसअघि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरेका थिए। उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका छन्।
भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहनेछन्।

राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्ली ओर्लिएपछि पश्चिमी गुजरात राज्यको भ्रमण गर्नेछन्। सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनले बनाएको सरदार पटेल क्रिकेट रंगशालाको उद्घाटन गर्नेछन्। त्यसपछि उनी श्रीमतीसहित ताजमहल अवलोकन गर्न जानेछन्। ताजमहलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ। भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्नेछन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारतको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमण दुई दिनको हुनेछ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताएका छन्। उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्।

यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। उनले आफ्नो दुवै कार्यकालमा भारत भ्रमण गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App