१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पहिलो खेलमै आयोजक पराजित

उद्घाटन खेलमा आयोजक(रातो ) र कर्साङका खेलाडी प्रतिस्पर्धा गर्दै। तस्बिर : रोहित राई

धरान - २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

धरान १६ स्थित रंगशालामा शनिबार  पाहुना टोली युनाइनेड कर्साङ, भारतसँग टाइब्रेकरमा आयोजक टोली स्तब्ध भयो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। समय अभावको कारण सीधै टाइब्रेकर गरिएको खेलमा धरान कर्साङसँग ४–२ ले पराजित भयो। टाइब्रेकरमा कर्साङका सिद्धान्त क्षेत्री, प्रशान्त राई, वीरेन प्रधान र प्रयास प्रधान पेनाल्टी प्रहारमा गोल गर्न चुकेनन्। यता, आयोजकका हेमन्त थापा र मनीष गुरुङको सुरुआती दुई प्रहार सफल भए। उनीहरूपछि विक्रम लिम्बु र मनोज राईको प्रहार विफल हुँदा पहिलो खेलबाटै आयोजक बाहिरियो। विक्रमको प्रहार कर्साङका गोलकिपर राजा वर्मनले रोके भने मनोजको प्रहार पोलमा ठोक्किएर फर्किएको थियो।

निर्धारित समयको खेलमा भने पहिलो हाफमै धरानले अग्रता लिएको थियो। खेलको ३५औं मिनेटमा सुनिल खड्काले गोल गर्दै धरानलाई अग्रता दिलाएका दिए। उनले पेनाल्टी एरियामा पाएको बललाई गोल गर्न चुकेनन्। तर खेलको ७७औं मिनेटमा कर्साङका सुशान्त क्षेत्रीले गोल गर्दै खेल बराबरी बनाए। धरानका दुई डिफेन्स विकु तामाङ र मनोज राईले क्लियर गर्न नसकेको बलमा उनले गोल गरेका थिए। उद्घाटन खेलको म्यान अफ दी म्याच कर्साङका वानदेन तामाङ घोषित भए। उनले १५ हजार पुरस्कार पाए भने उद्घाटन खेलको बेस्ट गोलको पुरस्कार धरानका सुनील खड्काले पाए। उनले नगद ५ हजार थापे। कर्साङका प्रशिक्षक उर्गेन लामाले खेलाडीहरूले आफ्नो रणनीतिअनुसार नै खेलेर जित हासिल गरेको बताए। पहिलो हाफमा नखानुपर्ने गोल खाएको भन्दै उनले आगामी खेल राम्रो खेल्ने बताए।

धरानका प्रशिक्षक सागर घिमिरेले दोस्रो हाफको इन्जुरी समयमा गोल खानु नै दुर्भाग्य भएको प्रतिक्रिया दिए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App