१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

काठमाडौँ– पश्चिमी वायुको प्रभावले आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भएको छ ।

पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा सोमबार राति हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए। “पश्चिमका पहाडी भेग र मध्य र पूर्वका केही स्थानमा वर्षा हुनेछ, हिमाली क्षेत्रमा हिमपात हुने देखिएको छ, मङ्गलबार पनि मध्य र पूर्वी पहाडी भेगमा बद्ली हुनेछ,”–उनले भने।


मौसमविद् कँडेलका अनुसार पश्चिमी वायु साेमबार देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ ।

पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास हुँदा देशको मौसममा खराबी आएको हो । मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ । साेमबार साँझ काठमाडौँमा फाट्टफुट्ट वर्षात पनि भएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी जिरीमा ५.१, ओखलढुङ्गामा ३.८ र लुम्लेमा १.७ मिलिमिटर वर्षात भएको छ । दीपायलमा ०.६ र जुम्लामा ०.३ मिमि वर्षात भएको छ ।

साेमबार काठमाडौँको न्यूनतम २.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जिरीमा ऋणात्मक २ र सबैभन्दा बढी सिमरामा २७.५ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ। रासस
 

प्रकाशित: १८ पुस २०७३ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App