१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'

लाइफ ज्याकेट पाएपछि खुशी हुँदै विद्यार्थीहरु। तस्बिर: ओमप्रकाश बास्तोलाको फेसबुकबाट

सुर्खेत - कैलालीको मोहन्याल गाउँपालिका–३ मलेखाका कवीराम नेपाली सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा ११ कक्षामा अध्ययनरत छन्। घरबाट विद्यालय आउँदा बीचमा कर्णाली नदी पर्छ। उनी दैनिक कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्छन्।

‘कैलालीको मलेखा र राँगासँग चौकुनेको विजौरा जोड्न कर्णाली नदीमा पुल छैन्,’ उनले भने, ‘त्यहीँ भएर दैनिक जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।’ कर्णाली नदीमा दैनिक जोखिमपूर्णयात्रा गर्ने उनी एक्ला विद्यार्थी होइनन्। नेपालीजस्तै दैनिक कर्णालीमा काठको डुंगा खियाएर पढ्नका लागि विजौरा पुग्ने ५५ जना विद्यार्थीहरुले लाइफ ज्याकेट प्राप्त गरेका छन्। ‘अव कर्णाली नदी तर्दा जोखिम कम हुने भयो,’ छ वर्षदेखि डुंगा खियाउँदै पढ्न आउने गरेका नेपालीले भने, ‘पुल भइदिएको भए अझ सजिलो हुन्थ्यो।’

मोहन्यालको राँगा र मलेखामा आधारभूत तहसम्मको मात्रै अध्ययन हुन्छ। पाँच कक्षामाथि अध्ययनका लागि चौकुनेको जगन्नाथ मावि आउनुको विकल्प छैन्। यहाँका विद्यार्थीहरु विद्यालय आउन विहान ६ बजेनै घरबाट हिँड्छन्। स्कूल पुग्दासम्म विहानको १० बजिसकेको हुन्छ। साँझ घर फर्कँदा पनि उत्तिकै समय लाग्छ। वर्खायाममा कर्णालीको बहाव बढेपछि विद्यार्थीहरुलाई अझबढी जोखिम हुन्छ। कर्णालीमा जोखिमपूर्ण यात्रा गरेर कैलालीका विद्यार्थीहरु सुर्खेतमा पढ्न आउने गरेको समाचार नागरिक दैनिकले प्रकाशन गरेपछि काठमाडौंको ‘हामी मानवता बचाउँ’ अभियानले विद्यार्थीलाई लाइफ ज्याकेट वितरण गरेको हो। ‘काठको डुंगा कैयौं पटक पल्टिएर हाम्रा किताव–कापी बगाएको छ,’ ९ कक्षामा अध्ययनरत राँगाकी राधिका भुलले भनिन्, ‘लाइफ ज्याकेटले डुंगाको यात्रा केही सहज हुने अपेक्षा गरेका छौं।’

अभियानका सचिव सिताराम चटैतले काठको डुंगाको सहायताले कर्णाली नदीमा विद्यार्थीहरु वारपार गरिरहेको समाचार पढेपछि आफूहरुले सहयोग गरेको बताए। ‘कैलालीबाट सुर्खेत अध्ययन गर्न आउने सबै ५५ जना विद्यार्थीहरुलाई लाइफ ज्याकेट उपलब्ध गराएका हौं,’ सचिव चटैतले भने, ‘लाइफ ज्याकेट पाउँदा विद्यार्थीको मुहारमा देखिएको चमकले सन्तुष्ट बनाएको छ।’ उनले वर्षौदेखिको समस्या राज्यले सुन्न नसकेकोमा दुःख व्यक्त गरे।

जगन्नाथ माविका प्रधानाध्यापक ठम्मर बिसी लाइफ ज्याकेटले कर्णाली नदी वारवार गर्न विद्यार्थीहरुलाई सहज हुने बताए। ‘ज्यानको बाजी थापेर कर्णाली पारीको कैलालीका विद्यार्थीहरु यहाँ पढ्न आउँछन्,’ प्रधानाध्यापक विसीले भने, ‘लाइफ ज्याकेटले उनीहरुको जीवनरक्षाको काम गर्ने छ।’ उनले कैलालीका विद्यार्थीहरुलाई विद्यालयमा आउन अत्यन्तै जोखिम रहेको बताए। ‘कर्णाली नदीमा पुल नहुँदा त्यहाँका विद्यार्थीहरु जोखिमपूर्ण यात्रा गरेर अध्ययनका लागि आउने गर्छन्,’ उनले भने, ‘यात्रामै क्रममा धेरै समय लाग्ने गरेकाले यसको असर विद्यार्थीहरुको पढाईमा देखिने गरेको छ।’

कर्णालीमा पुल भइदिएको भए विद्यालय आउन विद्यार्थीहरुलाई बढीमा ३५ मिनेट समय लाग्थ्यो। कैलालीबाट अध्ययनका लागि आउने विद्यार्थीहरु विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन पाउँदैनन्। ‘घरबाट विद्यालय आउन र विद्यालयबाट घर फर्किनकै विद्यार्थीहरुलाई चिन्ता हुन्छ’ प्रधानाध्यापक विसीले भने, ‘विद्यालय समयपछि अतिरिक्त क्रियापकलाप हुने भएकाले उनीहरु त्यसमा सहभागी हुन पनि पाउँदैनन्।’

प्रकाशित: १० फाल्गुन २०७६ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App