१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ताको भागबण्डा मिल्नासाथ गतिरोध अन्त्य हुन्छः भट्टराई

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलबीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्नासाथ निकास निस्किने ठोकुवा गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक डा. भट्टराईले भने, ‘प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मिलीजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुन्छ, उहाँहरुबीच मुद्दाभन्दा पनि सत्तासाझेदारीमा मनमुटाव हो।’
उनले प्रमुख दलहरुबीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने पनि झगडा रहेको आरोप लगाए।

‘यहाँ दलहरुले मोही माग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भैरहेको छ,’ उनले भने। उनले वर्तमान राजनीतिक समस्याको समाधानको लागि नयाँ सूत्रसमेत अघि सारेका छन्। उनले सारेका सूत्रहरुमा पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पूर्नसंरचना गर्ने र त्यसपछि तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने रहेका छन्।

उनले मुलुकको निकासको लागि तीनवटै प्रमुख राजनीतिक दलहरुले आफ्नो सत्तासाझेदारीको मुद्दालाई मिलाएर आवश्यक परे सँगै मिलेर मिलीजुली सरकार बनाएर जान तयार भए अहिलेको समस्याको हल हुने विश्वास व्यक्त गरे।

‘काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच एजेण्डामा त्यति ठूलो अन्तर छैन, त्यसैले तीन वटै ठूला दलहरु एक ठाउँमा बसेर मधेशी, थारु र जनजातिहरुको मुद्दा पनि हाम्रो आन्तरिक मुद्दा हो भनेर स्विकार गरेर अघि बढ्नुपर्छ, उहाँहरुबीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने आशंका पनि छ, त्यसो हो भने पनि मिलेर सरकार बनाएर असन्तुष्टहरुको मुद्दा संविधान संशोधनमार्फत यथोचित सम्बोधन गरेर अघि बढ्नुपर्छ।’

यद्यपी भट्टराईले समय कम भएकोले आवश्यक पर्दा एकैचोटि तीन वटै निकायको निर्वाचन पनि गर्न सकिने धारणा राखे। गतिराेध अन्त्यका लागि रिपाेर्टर्स क्लबकाे ज्ञापनपत्र बुझ्दै उनले यस्ताे बताएका हुन्।

प्रकाशित: १८ पुस २०७३ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App