शिवरात्रिमा साधुसन्त

शनिबार, १० फागुन २०७६, ०९ : ५० उपेन्द्र लामिछाने

हिन्दू धर्मावलम्बीले शुक्रबार हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाए। काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिवालयमा हजारौँ दर्शनार्थी पुगे। देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइने चलन छ। यसै क्रममा दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्न्यासी, उदासी, वैरागी समेतको सयौँको संख्यामा उपस्थिति रह्यो। शिवरात्रिको दिन निकै व्यस्त रहने उनीहरू शिवरात्रि सकिएलगत्तै बिदाईको प्रतिक्षामा आश्रम परिसरमा रमाउँछन्। उनीहरूलाई दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने चलन छ।

यसपालि पनि पशुपति क्षेत्रमा विभिन्न रुपका ‘साधु बाबा’ भेटिए। उनीहरूको जीवनशैली एकैछिन नियाल्दा पनि निकै मनोरम लाग्थ्यो। कोही मोबाइलमा गीत सुन्दै थिए भने कोही लट्टामा परेका जुम्रा निकाल्न व्यस्त। त्यस्तै, कोही दाउराको अभाव भन्दै छेस्काछुस्की जम्मा पार्न लागेका देखिन्थे, कोही भने ऐना हेर्दै अनुहार सिँगार्नमा मस्त थिए। शिवरात्रिको मेला भर्न आएका कतिपय साधु भने साधुजस्ता देखिन छाडेका छन्। मन्दिरमा आएका भक्तजनसँग पैसाका लागि लुछाचुँडी गरेको दृश्यले उनीहरू अझै पनि मायामोहको जञ्जालबाट मुक्त हुन नसकेको देखियो।

यही माझमा केही साधुजस्ता साधु पनि भेटिए। भोजन र पैसाका लागि भीड गर्नेभन्दा पर आँखा चिम्लेर रमाइरहेका उनीहरू हरेक ठाउँमा यस्तो प्रवृत्ति हुने सुनाए। यिनैबीच पनि सच्चा साधु थुप्रै रहेको उनीहरू सुनाउँछन्। ‘यहाँ हरेक वर्ष यस्तै हुने गर्छ,’ भारत इलाहबादबाट आएका ब्रह्मानन्द गिरी भन्छन्, ‘केही साधुको व्यवहारले हरेक साधु बदनाम हुने गरेका छन्।’ दर्शन गर्न एक साताअगाडि इलाहबादस्थित आश्रमबाट नेपाल आएका उनी पशुपतिनाथमा शिवरात्रि मनाउनुको महत्व निकै ठूलो भएको बताउँछन्। ‘म विगत ११ वर्षदेखि नेपाल आइहरेको छु,’ ७६ वर्षीय गिरीले भने, ‘सायद बाँचुन्जेल आइरहन्छु।’

उनीसँगै रहेका ७० वर्षीय मधुराम पुरीले पनि ब्रह्मानन्दको कुरामा सही थापे। जीवन र जगत्बारे निकै अनुभव बटुलेका पुरीले कहाँ बस्ने भन्दा पनि कसरी बस्ने कुरा महत्वपूर्ण भएको सुनाए। सानैदेखि घर–गृहस्थी छाडेर आश्रमको जीवन बिताउँदै आएका यी साधुले जीवनमा थुप्रै उतारचढाव देखे। कुटीमा रहेर गृहस्थ जीवन जिउनेको उतारचढाव समेत नियालेका उनी अन्ततः गृहस्थ जीवन नै उत्तम रहेको बताउँछन्। उनले भने, ‘अब त साधु जीवनभन्दा त गृहस्थ नै उत्तम देख्दै छु।’ नेपाल र भारतका विभिन्न ठाउँबाट आएका पाँच हजार भन्दा बढी साधुसन्तको जमघटले शिवरात्रिको समयमा पशुपति परिसर साधुमय देखियो।

कोही बाध्यताले साधु बनेका पनि पाइन्छ भने कोही ‘सिजनेबल’ साधु जस्ता देखिन्छन्।  कोहीको भने बोली–व्यवहारमै ज्ञान वा साधुपन झल्कन्थ्यो। कोही संगीतको धुनमा ‘बम भोले’ भन्दै रमाउँदै थिए त कोही पैसाको खनखन पछ्याउँदै थिए। भारतको नासिकबाट रेल चढेर दिल्ली, रक्सोल हुँदै नेपाल आएका मोहन गिरी पशुपतिको  दर्शन गरेर पुनः आफ्नो स्थान फर्कने बताए। ‘अब जिन्दगी तीर्थ यात्रामा बित्दै छ,’ उनी भन्छन्, ‘बाध्यताले बनाएकै भए पनि अबको बाँकी जीवन यही भेषमा बिताउनेछु।’ साधु जीवन सहजताका साथ बित्ने उनको बुझाइ छ।

भारतबाट मात्र होइन, नेपालको तराई क्षेत्रबाट पनि थुप्रै साधु आएका छन्। सिराहाबाट आएका लोहा लंगडी नागा बाबा पशुपति क्षेत्रमा बस्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। ६७ वर्षीय बाबाले युवा अवस्थामै साधु जीवन अँगालेको सुनाए। नांगो शरीरमा खरानी धस्दै आएका उनी शिवरात्रिको समयमा सबैको आकर्षण देखिन्छन्। उनका तस्बिर संसारभर छापिएका छन्। उनी तनले मात्र होइन, मनले पनि साधु नै भएको बताउँछन्। ‘साधुसन्तको संगत बढ्दै गर्दा अन्ततः आफैँ पनि साधु भएँ,’ उनले भने, ‘मानिसमा सत्संगतको प्रभाव पर्छ।’

कतिपय भने सामाजिक विभेदका कारण पनि साधु भएको सुनाए। सिराहाका ६१ वर्षीय गेनी राम दलित समुदायका हुन्। विगतमा उनले छोएको पानी चल्दैनथ्यो। उनलाई त्यो मन पर्दैनथ्यो। जब साधु भए, उनले दिएको प्रसाद चल्छ। ‘गेरु वस्त्रले भेदभाव हटाएको जस्तो भान भएको छ,’ गृहस्थ आश्रम समेत भोगिसकेका उनले भने, ‘त्यसैले यो प्यारो लाग्छ।’ तनमा गेरु वस्त्र भए पनि आफू गृहस्थ आश्रममै रहेको उनले सुनाए। लामो समयदेखि पशुपति आउँदै गरेका उनी यहाँ आउँदा मन निकै प्रफुल्ल हुने सुनाउँछन्।

समाज नाङ्गिँदै छ
भारतीय राज्य उत्तर प्रदेश अलिगढबाट आएका ६५ वर्षीय रामेश्वर गिरी विगत चार दशकदेखि सर्वांग नांगा छन्। २२ वर्षको उमेरदेखि नै कपडा बेगरको जिन्दगी बिताउँदै आएका यी बाबाले समाज नांगिँदै गएकामा चिन्ता व्यक्त गरे। ‘हामी विना कपडामा पनि शान्त छौँ,’ शिवरात्रि मनाउन पशुपतिनाथ आएका उनले भने, ‘अर्धनग्न कपडामा देखिने युवा–युवती छाडा हुँदै गएका छन्।’ धर्म अनुसार नागा जीवन अँगालेका उनले शरीरमा कपडा नभएको भान कहिल्यै नरहेको बताए। ‘हामीलाई जाडो पनि हुँदैन, लाज पनि लाग्दैन,’ बलिरहेको धुनीको खरानी देखाउँदै उनले भने, ‘यही नै हाम्रो कपडा हो, जसले शरीरलाई न्यानो राख्छ।’ प्रत्येक वर्षजस्तै यो वर्ष पनि भारतका विभिन्न स्थानबाट नागाबाबाहरू पशुपति आएका हुन्। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष एक सय ५० नागा बाबा आएका छन्।

फूलको झिलिमिली
विगतमा बत्तीले झिलिमिली हुँदै आएको पशुपति परिसर यसपटक फूलका विभिन्न आकृति र आकर्षक ढोकाले झकिझकाउ देखिएको छ। बेहुलीझैं सिँगारिएको पशुपतिनाथ मन्दिर परिसरमा फूलैफूलका आकृति माझ आफ्नो तस्बिर खिचाउनेको लर्को शिवरात्रिको अघिल्लो दिनदेखि नै लाग्यो। विभिन्न देवी–देवताका आकृतिसँगै शिवलिंगदेखि शिवको वाहन साँढे समेत फूलैफूलले बनाइएको छ। थाइल्यान्ड, अस्ट्रेलिया तथा भारतको मुम्बईबाट ल्याइएका भन्डै दुई करोड रुपैयाँ मूल्य बराबरका यी फूलहरू भारतीय दर्शनार्थीले नै सहयोग गरेको पशुपति विकास कोषले जनाएको छ।

के हो शिवरात्रि ?
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

को हुन् शिव ?
शिव संस्कृत भाषाको शब्द हो। जसको अर्थ हो, कल्याणकारी अथात् शुभकारी। यजुर्वेदमा शिवलाई शान्तिदाता बताइएको छ। शि अर्थात् पाप नाश गर्ने वाला, व अर्थात् दाता।

के हो शिवलिंग ?
शिवको दुई शरीर मानिन्छ। एउटा स्थुल र अर्को सूक्ष्म। सूक्ष्म शरीरलाई लिंगको रूपमा बुझिन्छ। लिंगका अर्थमा धेरैलाई भ्रम छ। संस्कृतमा लिंगको अर्थ चिह्न हो। यसै अर्थमा शिवलिंगको प्रयोग भएको हो। शिवलिंग अर्थात् शिव चिह्न।

किंवदन्ती
शिव पुराणमा सिकारीको कथा छ। जंगलमा ढिलो भएपछि सिकारीले बेलको रूखमा रात बिताएछन्। रूखमा निदाएकाले भने उनले जाग्नका लागि रातमा एक–एक पात चुँड्दै फ्याँक्न थालेछन्। संयोगले त्यही रूखको तल शिवलिंग रहेछ। यसबाट शिवजी प्रशन्न भएर सिकारीलाई वरदान दिएको कथामा उल्लेख छ।

बाबाको बिदाइ
शिवरात्रिको समाप्तिसँगै पशुपतिनाथ दर्शन गर्न आएका साधु–सन्तको फिर्ने क्रम शनिबारबाट सुरु हुनेछ। गुठी संस्थानबाट दक्षिणा पाउने आशामा रहेका बाहेक अन्य बाबा फिर्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति दर्शन गर्न आएका साधुसन्तलाई यहाँस्थित गुठी संस्थानले निश्चित रकम दिएर बिदाइ गर्ने चलन छ। विगतमा नागाबाबाहरूका मुख्य केहीलाई एक हजार पाँच सय एक रुपैयाँ दिने गरेको र अन्यलाई सामान्य खर्च दिइने गरेको थियो। शिवरात्रि सकेलगत्तै कार्यक्रम आयोजना गरेर नागा बाबाहरूलाई पेडा र फलफूल तथा अन्य साधुसन्तलाई खिचडी खुवाएर बिदा गर्ने चलन  छ। ‘खानपिन र सुरक्षा राम्रो रह्यो, अब मंगलबार फर्कनेछौँ,’ बनारसबाट आएका महन्त गिरीले भने, ‘मौका मिले अर्को शिवरात्रिमा आउनेछौँ।’





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad