बहस

गर्भपतनको राजनीति

शनिबार, १० फागुन २०७६, ०८ : ३३ नागरिक

हसिना बस्नेत

फ्रान्सेली चर्चित लेखिका सिमोन डी बोउवार लेख्छिन्,‘विवाहपछि स्त्री बिल्कुल पुरुषकी हुन जान्छे, बच्चाहरूलाई जन्मदिनु नै उसको मुख्यकार्य हो। स्त्रीको जीवनका मोड पुरुषका मोडभन्दा बढी तल–माथि र टुटफुट हुन्छन्। जीवनको एक स्तरबाट अर्को स्तरसम्म पुग्ने प्रक्रियामा स्त्रीले हठात् भयंकर परिर्वतन झेल्नुपर्छ।’

हो, गर्भ बोकेर बच्चा जन्माउने प्राकृतिक जिम्मेवारी स्त्रीको हो। के यसमा पुरुषको कुनै विवेकपूर्ण जिम्मेवारी हुँदैन ? धेरैलाई लाग्ला, यस्तो पनि प्रश्न हुन्छ। तर यही प्रश्नभित्र सानो रूपमा तर ठूला समस्या लुकेका छन्। गर्भका सम्बन्धमा महिलाले पुरुषले भन्दा बढी पीडा र अन्याय खेपेको धेरै उदाहरण र लामो इतिहास हाम्रा सामु छ। शास्त्रअनुसार,सीता हलो जोत्दा जमिनमुनि कसरी भेटिइन् ? कुमारी कुन्तीले कर्णलाई किन गंगामा बगाइन् ? यस्ता मिथकीय प्रश्नमा चिन्तन गर्ने हो भने हामीले गर्भ वा गर्भपतनको ऐतिहासिक राजनीतिलाई केलाउन सकौँला। तर, उति पर पुग्न जरुरी छैन।

हजुरआमा पुस्ताको गर्भपतन
हामी सानो छँदा गाउँमा हजुरबुवा–हजुरआमाको पुस्ता थुप्रै हुनुहुन्थ्यो। एउटै घरमा एकभन्दा बढी (जेठी, माइली, साइँली, कान्छीसम्म) हजुरआमाहरू र तिनका सन्तान हुन्थे। हाम्रै घरमा हजुरबुवाले तीनवटी श्रीमती बिहे गर्नुभएको थियो। गाउँमा हजुरआमा र हजुरबुवाका कथा सुन्दै हाम्रो पुस्ता हुर्कियो। छिमेकी एकहजुरआमाले लगातार पाँच छोरी भइसकेपछि अर्को गर्भ फेरि रहेको र सो गर्भ तुहाउन गरेका प्रयासबारेबताएको घटनाले मेरो कलिलो मानसपटलमा अहिलेसम्म गहिरो असर परिरहेको छ। उहाँ भन्नुहुन्थ्यो, ‘नचाहेको गर्भ रहेपछि त्यसलाई तुहाउन शरीरले धान्न सक्नेभन्दा ठूलो भारी बोकेर हिँडेँ। चैत–वैशाखको गर्मीमा दिनमा पाँचपटकसम्म गहतको झोल खाएँ। चिल्लो बाटुल पातेको (एक प्रकारको जडीबुटी) पात पिसेर झोल बनाई दिनैपिच्छे एक महिनासम्म पिएँ। झाक्रीले फुकेको बेसार–पानी थुप्रैपटक खाएँ। अनेक गरेँ, तर गर्भ तुहिएन। छैटौँ सन्तानका रूपमा फेरि छोरी नै जन्मिई। त्यसपछि लगातार दुई छोरा जन्मिए।’

शास्त्रअनुसार, सीता हलो जोत्दा जमिनमुनि कसरी भेटिइन् ? कुमारी कुन्तीले कर्णलाई किन गंगामा बगाइन् ? यस्ता मिथकीय प्रश्नमा चिन्तन गर्ने हो भने हामीले गर्भ वा गर्भपतनको ऐतिहासिक राजनीतिलाई केलाउन सकौँला। तर, उति पर पुग्न जरुरी छैन।

अहो, गर्भ तुहाउन त्यत्रो कष्ट किन खेपेको ?
उहाँ भन्नुहुन्थ्यो, ‘ऊबेलैत्यस्तो।यसमा कसैको दोष छैन, न तेरो हजुरबाको, न मेरो, न अरु कसैको। उपाय नै के थियो र ? धेरै महिलाका दुःख मेरा जस्तै हुन्थे।’ म आफू जान्ने–बुझ्ने भएपछि लागेको थियो– उतिबेला अहिलेजस्तो गर्भपतनको सुविधा भएको भए हाम्रा हजुरआमाहरुले कति सुख पाउँथे। त्यसको सकारात्मक प्रभाव अन्य पुस्तालाई पनि पर्थ्यो। हजुरआमार आजको पुस्तामा आर्थिक, सामाजिक, राजनीतिक र वैज्ञानिक रूपमा केही न केही परिवर्तन आइसकेको छ। अहिलेगर्भपतनको विज्ञान र कानुन आएको छ। कानुनमा रहेर विशेष अवस्थामा गर्भपतन गराउन सकिन्छ। हुन त यौन र प्रेम सम्बन्धको इतिहास लामो छ, यसका आयाम पनि विभिन्न छन्। अहिले ‘लिभिङ टुगेदर’,  ‘लभ अफेयर’, ‘एक्स्ट्रा म्यारिटल अफेयर’ जस्ता सम्बन्ध वा सन्दर्भ देख्न, सुन्न, पढ्न पाइन्छ।

आजको पुस्तामा गर्भपतन
आज कतै गर्भपतनको औषधि जथाभावी खाएर किशोरी वा महिला मरणासन्न अवस्थामा पुगेको घटना पढ्न पाइन्छ,दुर्गममा बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था कायमै छ। आज विज्ञान र कानुनले बराबर साथ दिए पनि कतिपय महिलाले गर्भपतनको विषयमा अनेक दुःख खेपिरहेका छन्। साउनको तेस्रो साता रेगुलर चेकजाँचकालागि म एउटा निजी अस्पताल पुगेकी थिएँ। भित्र अर्की बिरामी हुँदाहुँदै मलाई नर्सले भित्र बोलाइन्। स्वास्थ्यका दृष्टिकोणबाट कमजोर देखिने एक महिलामधुरो आवाजमा बोलिन्, ‘श्रीमान् हेलमेट लगाउन मान्दैनन्।’ डाक्टरले सोधिन्, ‘के भनेको ? केको हेलमेट ?’ वास्तवमा उनले कन्डोम भन्न असहज ठानेर या लाज लागेर त्यसको सट्टा ‘हेलमेट’भनेकी रहिछिन्।

उनका श्रीमान् निजी कलेजका प्रिन्सिपल रहेछन्, उनी पनि त्यही कलेजमा  पढाउने। छोरा पाउने आशामा उनले पटकपटक गर्भपतन गरेकी रहिछन्। ‘श्रीमान्ले हेलमेट नलगाएर के भो, तिमीले अस्थायी साधन प्रयोग गर। बोलाऊ तिम्रो श्रीमान्लाई, उसलाई तिम्रो माया छ कि तिम्रो नजन्मेको छोराको?’ धेरैपटक गर्भपतन गराउँदा ज्यान खतरामा हुन सक्ने चेतावनी डाक्टरको थियो। जवाफमा महिलाको मलिन स्वर आक्रोश र पीडामा बदलियो, ‘मैले तीन छोरी जन्माइसकेँ, आठ–नौ वर्ष संगिनी सुई लगाएँ, पिल्स खाएँ। ऊ हर रात रक्सीले टिल्ल परेर आउँछ, समाजमा सबैको नजरमा विद्वान्, समाजसेवी देखिन्छ, तर कहिल्यै मेरो इच्छा र चाहना बुझेन।’ पढे–लेखेका महिलासमेत कन्डोम भन्न हिच्किचाउँछन्। देख्दा–सुन्दा सामान्य लाग्ने कथा–व्यथाले गहिरो अर्थ बोकेका हुने रहेछन्।

हरेक घर परिवारमा श्रीमान् श्रीमतीका शारीरीक सम्बन्धका विषय नितान्त निजी हुन्छन्। हरेक ब्यत्तिको ब्यत्तिगत गोपनियता हुन्छ। तर स्वस्थ यौनजीवन र यसका लागि आवश्यक सहयोगी कुरा बुझ्ने जीवनसाथी नपाउँदा धेरैको जीवन नरकीय बन्न पुगेको पाइन्छ । 

 गत मध्य असारको उखरमाउलो गर्मीमा मैले पोखरानजिकै एउटी दिदीलाई भेटेँ। घरका सबै मानिस असारे रोपाइँमा लागेका बेला उनी कमजोर स्वास्थ्यका कारण घरमै थिइन्। सधैँ हाँसेर कुरा गर्ने उनीआफ्नो स्वास्थ्यबारे त्यति खुल्न चाहिनन्। मैले अलि बढी चासो राखेपछि उनले भनिन्, ‘क्युरेट गरेको तीन दिन भयो। सानो छोरा १२ वर्ष भइसक्यो, हेर न फेरि अहिले यस्तो लाजको मर्नु।’आफूले ठूलै अपराध गरेजस्तो उनको अभिव्यक्ति थियो। मैले सम्झाएँ, ‘ठीकै छ नि, एक डेढ हप्ता आराम गर्नू। पोसिलो खानेकुरा खानू। केही दिनमा ठीक भइहाल्नुहुन्छ।’मेरो कुरा सकिँदा नसकिँदै दिदीका आँखा बर्सिए।

यी दिदीको जस्तोव्यथा यहाँ कैयौं स्वास्नी मान्छेलेभोग्नुपरिरहेको छ, जो नचाहँदानचाहँदै, बिरामी हुँदाहुँदै या सुत्केरी अवस्थामै या रजस्वला भएको तीनदिन नपुग्दै इच्छाविपरीत गर्भवती भएका छन्। कतिले यही कारण अनाहकमा ज्यान गुमाएका छन्। पटक–पटक गर्भपतन गर्नुपर्दा कतिको आयु छोटिएकोछ, स्वास्थ्य बिगारेका छन्।तर,कतिले यौनजन्य समस्याबारे आफ्नै श्रीमान्सँग सल्लाह गर्न सकिरहेका छैनन्। आँसु रोकिएपछि दिदी बोलिन्, ‘अहिले मात्र हो र? चौथोपटक भइसक्यो। दुईपटक साधारण एनएसथेसिया दिएर गर्भपतन गराए। तीनपटक त गर्भपतनको औषधि खाएँ। अहिले औषधि खाँदा काम नगरेर फेरि पाठेघर सफा गराउनुप-यो।

बर्सेनि छोराछोरी जन्माउँदा नबिगे्रको मेरो जिउ अहिले खत्तम भयो। नानीबाबु पाउँदा दुईपटक अपरेसन भयो। मलाई स्थायी बन्ध्याकरण गर्न समस्या छ, तर तेरा भिनाजु स्थायी बन्ध्याकरण गर्न मान्दैनन्। अरू त अरू अस्थायी साधनसमेत प्रयोग गर्न मान्दैनन्। कुरो बुझ्दैनन्।’ दिदीले बल्ल कुरो खोलिन्। दिदीलाई अस्थायी गर्भाधानका साधन पिल्स प्रयोग गर्दा र तीनमहिने सुई लगाउँदा समस्या देखिएछ। कहिले जिउ फुलेर बडेमानको हुने, कहिले घट्ने, महिनावारी रेगुलर नहुने आदि भएछ। मैले उहाँको श्रीमानलाई भलादमी, सहयोगी, पढे–लेखेका भनेर चिनेकी थिएँ, तर त्यो भ्रम मेरो दिमागबाट अचानक उडेर गयो। उहाँ किन मान्नुहुन्न त स्थायी परिवार नियोजन गर्न ? दिदी भन्छिन्,‘उहाँलाई परिवार नियोजन गर्दा यौन सन्तुष्टिमा कमी आउने हो कि भन्ने डर लाग्छ। अस्थायी साधन  किनेर ल्याउन उहाँलाई लाज लाग्छ, अल्छी पनि गर्नुहुन्छ।’

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्ट अनुसार, प्रत्येक तीनमध्ये एक महिलाशारीरिक वा यौनिक हिंसा सहन बाध्य छन्। महिलाले भोग्ने विभिन्न दुव्र्यवहारमध्ये यौनहिंसा, बलात्कार, अल्ट्रा साउन्ड गरेर भ्रूण हत्यालगायत छन्। अर्को एउटा घटना छ, जुन मैले साथीबाट सुनेकी हुँ। छोरा पाउने बहानामा पाँचपटक गर्भपतन गराइसकेकी एक महिलाले आफ्नो गर्भमा हुर्किरहेको पाँचमहिने गर्भ ज्यानकै बाजी थापेर चुँडालेर फालिन्।सरकारी अस्पतालमा नर्सले पेटबाट निकालिएको उक्त बच्चा देखाइदिँदा तीन छोरीकी आमा उनले ‘आबुई मान्छेको बच्चा जस्तै रहेछ’ भनेर आफैँ तर्सिएको घटना अहिले पनि अस्पतालमा हाँसोको विषय बन्ने गर्छ। यसबाट पनि थाहा हुन्छ नेपाली महिलाको अवस्था अझै पनि कस्तो छ ? अर्की एक महिलाले छोराको आसमा लगातार १२औँपटक गर्भपतन गराइन्। उनले यसो गर्नमा विभिन्न कारण हुन सक्छन्।यस्ता थुप्रै घटना र उदाहरण हाम्रा वरपर छन्, जुन यही समाजका महिलाबाट सुन्न पाइन्छ।

अहिलेको समय
समाजमा सबै लोग्नेमान्छे या महिला खराब छैनन्, एक–अर्कालाई हर क्षण सहयोग गर्ने उदाहरणीय जोडी, परिवार पनि प्रशस्तै छन्। चर्चित पुस्तक कामसूत्रका अनुसार ‘समानान्तर र स्वस्थ यौन जीवनले दाम्पत्य जीवनलाई दीर्घायु बनाउँछ। जुन गृहस्थ जीवन देखेर भित्री मन खुसी हुन्छ, त्योभन्दा ठूलो सुख केही हुँदैन।’ हरेक स्वस्थ मानिसलाई खाना, पानी, हावा जत्तिकै जरुरी यौन जैविक आवश्यकता हो। श्रीमान् वा प्रेमीको तुच्छ, संकीर्ण, असहयोगी मानसिकताले कैयौँ नारी तनावपूर्ण जीवन बाँचिरहेका छन्। पत्नीप्रति पतिको कर्तव्य के हो ? स्त्री मनोविज्ञानलाई कसरी अध्ययन गर्ने ? यस सम्बन्धमा बिरलै केही मानिसको ध्यान जान्छ होला। पछिल्लो समय विश्वमा चरम यौन सन्तुष्टि महिला र पुरुष दुवैको हक भएको, यसमा पुरुषले महिलाको अवस्था ख्याल नगरेको कुरा उठेका छन्। यो बहस हामीकहाँ पनि हुन आवश्यक छ।

हरेक घर–परिवारमा श्रीमान्–श्रीमतीका शारीरिक सम्बन्धका विषय नितान्त निजी हुन्छन्, हरेक व्यक्तिको व्यक्तिगत गोपनीयता हुन्छ,तर स्वस्थ यौनजीवन र यसका लागि आवश्यक सहयोगी, कुरा बुझ्ने जीवनसाथीनपाउँदा धेरैको जीवन नारकीय बन्न समेत पुगेको पाइन्छ। सन्तान पुगेपछि दम्पतीबीच सल्लाह भएर अस्थायी वा स्थायी परिवार नियोजन गर्नुपर्छ। यसमा सम्बन्धित विषयमाजान्ने–बुझ्ने व्यक्ति वा डाक्टरसँगको सल्लाह आवश्यक हुन सक्छ। हामीकहाँ यौन शिक्षा र सल्लाहलाई अलि संकीर्ण रूपमा हेरिएको छ। राज्यस्तरबाटै यौनशिक्षा, महिला स्वास्थ्यका बारेमा सही जानकारी दिन पहल गरिनुपर्छ। अर्कोतिर, पढेलेखेकै व्यक्तिबाट महिला पीडित भएकाले यसमा पनि कुनै तरिकाबाट बुझाउन वा त्यस्तो सूचना संप्रेषण गर्न जरुरी देखिन्छ।

आजको विज्ञान, प्रविधि र सिद्धान्तको युगमा कोही पनि शारीरिक, मानसिक पीडामा बाँच्नु न्यायपूर्ण होइन। विशेषतः महिलाको स्वास्थ्यसँग खेलवाड हुने धेरै कुराको नियन्त्रणमा हामीमाझ छलफल हुनुपर्छ। छोराका लागि गर्भ पहिचान गरी छोरीको भ्रूण हत्या गर्ने, पुरुषको एकछिनको आनन्दमा महिलाले गर्भ बोक्ने र गर्भपतन गर्ने– यस्ता कार्यमा महिला नै शारीरिक र मानसिक रूपमा प्रताडीत भइरहेका छन्। त्यसमाथि यौनलाई समाजले संकीर्ण रूपमा हेर्ने अवस्था बुझी गर्भपतनका प्रविधि र औषधिलाई कालो बजारी ढंगले महँगो बनाइएको पनि सुन्नमा आउँछ। यौनजस्तो प्रेमपूर्ण र पवित्र कार्यमा अपराध हुनु समाजको राम्रो गति निश्चय नै होइन। यसमा राज्यको मात्रै होइन, हामी सबैको ध्यान जान जरुरी छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad