१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फूलैफूलले सजियो पशुपति

काठमाडौं – पशुपतिनाथ मन्दिर क्षेत्रभरि बिहीबार महाशिवरात्रि पर्वको रौनक विगतभन्दा फरक थियो। यस वर्षको महाशिवरात्रि पर्यटन वर्षसँग जोडिएका कारण पनि विगतमा जस्तो भक्तजनले दर्शन गर्न सास्ती भोग्नु परेन। पशुपति क्षेत्र विकास कोषको कुशल व्यवस्थापनका कारण भक्तजन प्रफुल्ल देखिन्थे। अझ पशुपतिको साजसजावटलाई उनीहरूले मुक्तकण्ठले प्रशंसा गरे। विगतका वर्षमा भक्तजनलाई लाइन बसेर भगवान पशुपतिनाथको दर्शन गर्न हतार हुने गरेकोमा यस वर्ष मन्दिर परिसरमा भगवानको दर्शन भन्दा पनि फूलैफूलले सिंगारिएको पशुपतिनाथको मन्दिर क्षेत्रभित्र विभन्नि स्थानमा भक्तजन सेल्फीमै रमाए। कोही परिवार, साथीभाई त कोही प्रेमिल जोडी सबैले फूलले सिंगारिएका पशुपतिनाथसँग सम्बन्धित नन्दी, त्रिशूल, घन्टा, शिवलिंग, मुख्यद्वारलगायतमा सेल्फी लिएर रमाएन मात्रै उनीहरूले कोषलाई धन्यवाद पनि दिए।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वलाई पर्यटन वर्ष नेपाल २०२० लाई प्रवद्र्धन पुग्ने गरी सजावट, व्यवस्थापन र बिजुली बत्तीमा तथा लाइन व्यवस्थापनमा विशेष ध्यान दिएको भक्तजनको अनुभव छ। कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीका अनुसार मन्दिर क्षेत्र वरिपरि यस वर्ष १५ वटा सेल्फी प्वाइन्ट फूलले सिंगारिएका थिए।

धर्मकर्मसँगै भक्तजनलाई रमाइलो अनुभव गराउनसमेत सेल्फीको व्यवस्था गरेको कोषले जनाएको छ। भारतीय भक्तजनको साढे दुई करोड बराबरको विभिन्न फुलले मन्दिर परिसरभित्र र बाहिर पूर्ण आधुनिक तरिकाले सिंगारिएको थियो। यसले गर्दा मन्दिरको दृश्य अति मनमोहक बनेको दर्शनार्थी बाबुराम लामिछानेले बताए। उनले यस वर्ष लाइन बसेको दुई घण्टामै दर्शन पाएको अनुभव सुनाए। ‘यस वर्ष मन्दिरलाई फूलैफूलले सिंगारिएको मनमोहक दृश्य देख्दा भन्न मन लाग्छ फूलैफूलको मौसम पशुपति तिमिलाई,’ लामिछानेले खुसी हुदै भने, ‘बल्ल जीवनमा पहिलोपटक मैले महाशिवरात्रिको आनन्द महसुस गरे।’

साजसजावट उपसमितिका संयोजक एवं परिषद् सदस्य राजुकुमार खत्रीका अनुसार भारत दिल्लीको लेज इन्डियाले फूल सजावटको जिम्मेवारी लिएको थियो। लेज इन्डियाका सजीव सिपर र चेतन हाराले फूलको सजावट गराएको उनले बताए। कुल १० क्विन्टलभन्दा बढी फूलको खपत गरी सजावट गरिएको उनले जानकारी दिए। मूल मन्दिर र बासुकीनाथबाहेकका शिवसँग जोडिएका सबे क्षेत्रमा फूलले सिंगारिएको थियो।

विगतमा जेष्ठ नागरिकले पास देखाउँदासमेत सहज रूपमा मन्दिरको दर्शन नहुने गरेकोमा यस वर्ष भने सहजै दर्शनको व्यवस्था भएको थियो। फोहोर व्यवस्थपन र खानेपानीको समेत ठाउँठाउँमा व्यवस्था गरेर महाशिवरात्रि पर्वलाई उत्सवको रूपमा मनाएको कोषका सदस्य धु्रव उप्रेतिले बताए। भोजन तथा अवास सेवामा रौनियार महिला समाज, माँ ब्रहमाणी, कलवार समाज, अग्रवाल समाज, बोलबम, कवरिया संघलगायत कुल १ सय ६५ स्टलले भक्तजनलाई सेवा उपलब्ध गराएका थिए। सदस्य उप्रेतिका अनुसार यस वर्ष मेला अवधिभर १० लाख भक्तजनको सहभागिता रहे पनि मन्दिरभित्र दर्शन भने ५ लाखले गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App