१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सार्वजनिक सुनुवाईमै ‘सत्तापक्ष र प्रतिपक्ष’

हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाईमा जवाफदेहीकोरुपमा बसेका मेयर इवन राई, उपमेयर बिमला राई र प्रमुख प्रशासकीय अधिकृत राजेशबाबु घिमिरे । तस्बिर : नागरिक

खोटाङ– सामान्यत: स्थानीय तहको सार्वजनिक सुनुवाई कार्यक्रममा पारदर्शीताका विषयमा जो कोहीले प्रश्न गर्न पाउँछन्। जवाफदेही पक्षलाई जवाफदेही र जिम्मेवार बनाउन सत्तापक्ष वा प्रतिपक्षको रुपमा नहेरी जिज्ञासा राख्न सक्छन्। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाईमा त्यस्तो देखिएन। ‘सत्तापक्षका नेता, कार्यकर्ता तथा समर्थक प्रश्नै नगर्ने तर प्रतिपक्षका नेता, कार्यकर्ता र समर्थक एकोहोरो प्रश्न गरिरहने’ भूमीकामा देखिए।

मेयर, उपमेयरसहित कांग्रेसको बहुमत रहेको नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता ‘चुँइक्क’ बोलेनन्, जो जति बोले त्यी सबै नेकपाका नेता, कार्यकर्ता र समर्थक मात्र थिए।

आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन भएका आयोजना तथा कार्यक्रमको बारेमा नगरपालिकाले दुर्छिम माविको प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो। प्रांगणमा गोलो घेरामा बसेका सहभागीले मेयर इवन राई, उपमेयर बिमला राई, विषयगत शाखाका प्रमुखमाथि पालैपालो हात उठाएर प्रश्न गरे। सहभागीले नगरपालिकाबाट सञ्चालित सडक, कृषि तथा पशु, स्वास्थ्य, शिक्षा, राजस्व लगायतका विषयमा केन्द्रित रहेर प्रश्न उठाएका छन्। प्रश्न गर्ने सबैजसो नेकपाका नेता तथा कार्यकर्ता वा समर्थक थिए। उपस्थिति पनि नेकपाकै नेता तथा कार्यकर्ताको बढि देखिन्थ्यो।

कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति तुलनात्मकरुपमा पातलो थियो। तर कांग्रेस नेता तथा कार्यकर्ता जति उपस्थित थिए, उनीहरुले नगरपालिकामाथि प्रश्नै नगरी फर्किएका छन्। ‘आफ्नालाई प्रश्नै गर्नु हुन्न, सकेसम्म अरुलाई मात्र प्रश्न गर्नुपर्छ भन्ने प्रवृत्ति मौलाएको छ,’ स्थानीय एक बुद्धिजिवीले भने, ‘आफ्नोले कमजोरी गरेपनि सही गरेको भन्ने र अरुले सही गरे पनि गलत गरेको भन्ने गरिन्छ। सार्वजनिक सुनुवाईमा त्यही देखिएको हो।’

कार्यक्रममा नेकपाका नेता अकिल राईले पर्यटन शुल्कको नाममा दुर्छिममा ढाँट राखेर उठाइएको १० लाखको आम्दानी नबाँधिएको, कृषिका लागि लगानी गरिएको अनुदानबाट हेर्न लायक बनेका फर्मको नाम बताउन आग्रह गरेका थिए। राजापानीका राजनकुमार कार्कीले सुनकोसी किनारबाट निकासी हुने बालुवाको करको हिसाव पारदर्शी देखाउन, लाइसेन्सबिनै शिक्षक नियुक्ती गरिएको भन्दै प्रश्न गरेका छन्।

यस्तै, दुर्छिमका कुबेर राईले झोले र माफियाले कृषि फर्म खोलेकाले वास्तबिक किसानले कृषि अनुदान पाउन नसकेको, नगरपालिकाका किसानलाई मकैको बीउ उपलब्ध गराउन नगरपालिकाको ध्यानाकर्षण गराए। मंगलटारका जुद्ध पुलामीले मगर भाषा संरक्षणका लागि आफ्नै गाउँमा बजेट खर्च भएको देखाइएको तर भाषा संरक्षणका कुनै क्रियाकलाप नभएको भन्दै प्रश्न गरेका थिए।

समाजवादीका नेता मबिन्द्र राईले किसानको नाममा अनुदान लगेका व्याक्तीको बाख्रा र बंगुर खोर रित्तो रहेको दावी गरे। ‘अनुदान लिएको घरमा हेर्न जाने हो भने सुँगुर र बाख्रा खोर रित्तो छ। स्वास्थ्य संस्थामा तोकिए अनुशारको औषधिको प्रकार छैन,’ नगरपालिकाको राम्रा कामको चर्चापछि कमजोरी पक्ष औंल्याउँदै राईले भने, ‘जेटिए जताततै छ, तर चाहिएकोबेला कोही पाइन्दैन। दुर्छिमको बुद्धचोकमा भैंसी नअट्ने ग्राउण्ड बनेको छ। यस्ता कमजोरी सुधारमा नगरपालिकाले ध्यान दिनु पर्छ।’ सार्वजनिक सुनुवाईमा दर्जनौंले प्रश्न सोधेका थिए।

मेयर राई, प्रमुख प्रशासकीय अधिकृत राजेशबाबु घिमिरे, विभिन्न विषयगत शाखाका प्रमुखले चालु आर्थिक वर्षभित्र गरेका खर्च र भएका कामको विषयमा विवरण प्रस्तुत गरेपछि सवाल–जवाफ सुरु गरिएको थियो।

२३ करोडन्दा बढी खर्च
हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये २३ करोड ३२ लाख ९० हजार ८ सय ८४ रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षको कुल बजेट ६२ करोड २९ लाख २ हजार ३ सय २४ रुपैयाँमध्ये माघ मसान्तसम्म २३ करोड ३२ लाख ९० हजार ८ सय ८४ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको चालु खर्चतर्फ १५ करोड ४८ लाख ५३ हजार ७ सय ९० र पुँजीगतर्फ ७ करोड ८४ लाख ३७ हजार ९४ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए। कुल बजेटमध्ये २१ करोड ४८ लाख ९७ हजार ४ सय ६६ खर्च हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७६ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App