१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

४० प्रतिशत काम सम्पन्न

दोस्रो प्याकेज अन्तर्गत बाँध र विद्युत्गृहतको शिलान्यास गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई डाइर्भसन बहुउद्देश्यीय आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०६१ देखि आयोजना निर्माण सुरु गरिएको हो।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम)मार्फत १२.२ किलोमिटर सुरुङ निर्माण गरिएको आयोजनामा अहिले दोस्रो प्याकेज अन्तर्गत बाँध (ड्याम) र विद्युत्गृह (पावरहाउस) निर्माणको काम भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दोस्रो प्योकज अन्तर्गत बाँध र विद्युत् गृहको मंसिर १६ गते शिलान्यास गरेका थिए।‘अहिले चिप्लेमा बाँध निर्माणका लागि पानीलाई डाइभर्सन गर्ने काम भइरहेको छ,’ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर कृष्ण उपाध्यायले भने, ‘सँगसँगै बबईमा विद्युत्गृह निर्माण हुँदैछ।’ उपाध्यायले टिबिएममार्फत खटिएको सुरुङको फिनिसिङको काम पनि अन्तिम चरणमा रहेको बताए। ‘समग्रमा अहिलेसम्म आयोजनाको ४० प्रतिशत काम निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘लक्ष्यअनुसार काम भइरहेकाले तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न हुन्छ।’ विद्युत्गृह र बाँध निर्माणका लागि सिँचाइ विभागले २०७६ साउन १३ गते रमण–ग्वाङ्डोन जेभीसँग ६ अर्ब १६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

बाँके र बर्दियाका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिनमार्फत बबईको हात्तीखालदेखि भेरीको चिप्लेसम्म १२.२ किलोमिटर सुरुङ चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेको थियो। २०७४ कात्तिक २० गते विद्युत्गृह निर्माणस्थल हात्तीखालबाट प्रवेश गरेको टिबिएमले २०७६ चैत १५ गतेभित्र सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। निर्धारित समयभन्दा करिब एक वर्षअघि नै टिबिएम चिप्लेस्थित भेरी नदी किनारमा निस्केको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको वैशाख ३ गते चिप्लेमा आयोजित कार्यक्रममा ब्रेक–थ्रुको घोषणा गरेका थिए। चिप्लेमा बाँध, बबईमा विद्युत्गृह र सर्ज साफ्ट निर्माणका लागि रमण–ग्वाङ्डोनले दुई ठाउँमा क्याम्प स्थापना गरेको छ। बाँध निर्माणका लागि एक लाख क्युबिक मिटर र विद्युत्गृह निर्माणका लागि ५० हजार क्युबिक मिटर कंक्रिट आवश्यक पर्छ। निर्माण कम्पनीले चिप्लेमा क्रसर उद्योग स्थापना गरेर कंक्रिट उत्पादन सुरु गरेको छ। रमण–ग्वाङ्डोन जेभीका फिल्ड प्रमुख राम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाए।

आयोजना प्रमुख सञ्जीव बरालले बाँध, विद्युत् गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल अन्तर्गतका कामहरु पनि सँगसँगै सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। भेरी नदीको चिप्लेमा ११४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुने छ। ३३ अर्ब १९ करोड रुपैयाँमा २०८० भित्र निर्माण सम्पन्न हुने आयोजनाबाट वार्षिक कृषिबाट ३.१० अर्ब र विद्युत्बाट चार अर्ब रुपैयाँ फाइदा हुने छ।

उपराष्ट्रपतिद्वारा निरीक्षण
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उपराष्ट्रपति पुनले अन्तर जलाधार आयोजना भएकाले भेरी–बबईलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताए। उनले समय अगावै सुरुङमार्ग निर्माण हुनुका साथै लक्ष्य अनुसार काम भइरहेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा आयोजना निर्देशक सञ्जीव बरालले भइरहेका कामका विषयमा जानकारी गराएका थिए। उनले आयोजनाको काम तीव्र गतिमा भइरहेको बताउँदै हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताए। उनले २०८० सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।

भेरीको पानी १२.२ किलोमिटर सुरुङमार्फत बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै प्रदेश ५ का बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्य आयोजनाको छ। लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङमार्ग निर्माण सम्पन्न गरेको आयोजनाले अहिले चिप्लेमा बाँध निर्माणको काम गरिरहेको छ। बाँधसँगै बबईमा विद्युत्गृह निर्माण पनि सुरु गरिने आयोजना प्रमुख बरालले जानकारी दिए। बाँध र विद्युत् गृह निर्माणको ठेक्का रमण–ग्याम्डोङ जेभीले पाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App