१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी आक्रोशित

काठमाडाैं – सरकारी कर्मचारीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्। सेक्युरिटी प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियो रेकर्डमा उनले कर्मचारीलाई अपशब्द प्रयोग गरेको भन्दै बाँस्कोटालाई कारबाही गर्नु पर्ने माग उनीहरूको छ। ‘बाँस्कोटालाई राजीनामा गर्न लगाएर मात्र हुँदैन। कारबाही हुनुपर्छ,’ कर्मचारीले भने।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(संघ), तत्कालीन माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्रीको उक्त अभिव्यक्तिको विरोध गरेका छन् भने राष्ट्रिय जनता पार्टी नेपाल/समाजवादी पार्टी निकट नेपाल मधेसी कर्मचारी मञ्चले पनि मन्त्रीको उक्त अभिव्यक्तिको कडा भत्सर्ना गरेको छ।

तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेपाल निजामती कर्मचारी संगठनले भने विज्ञप्ति निकालेको छैन। संगठनबाट आधिकारिक विज्ञप्ति नआए पनि उक्त संगठनबाट प्रनिधितित्व गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गरेका आधिकारिक ट्रेड युयिनका उपाध्यक्ष भोला पोखरलले मन्त्रीको उक्त भनाइको कडा विरोध गरेका छन्। उनले भने, ‘बाँस्कोटाबाट कर्मचारीप्रति व्यक्त गरिएको भनाइ आपत्तिजनक, खेदजनक, लज्जास्पद छ र यो भनेको आम कर्मचारीमाथि हिंसा पनि हो।’ मन्त्रीकोे उक्त भनाइको विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ। उनले भने, ‘बाँस्कोटाको अभिव्यक्तिको विषयमा छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्छ।’

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जारी गरेको विज्ञप्तिमा चेतावनीसहित भनिएको छ, ‘कर्मचारीप्रति अपशब्द र अश्लील शब्द प्रयोग गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिस्कार गर्ने दिन देख्नु नपरोस्।’ युनियन(संघ)का सचिव नवराज पाण्डले कर्मचारीलाई आरोप लगाउँदै मन्त्रीबाट व्यक्त भएको अभिव्यक्तिप्रति आम कर्मचारी अत्यन्त दुखित भएको बताए।

नेपाल राष्ट्रिय कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिमा बाँस्कोटालाई हदैसम्म्म कारबाही गर्न माग गरिएको छ। बाँस्कोटालाई तत्काल कानुनबमोजिम हदैसम्मको कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ। कानुनी राज्यको प्रत्याभूति गराउँदै कर्मचारी तथा आम जनतालाई राज्यप्रत्ति निरास हुनबाट बचाउन पनि सो संगठनले सरकारसँग माग गरेको छ।
नेपाल मधेसी कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारीप्रति अपशब्द प्रयोग गर्ने मन्त्रीलाई राजीनामा गर्न लगाउने मात्र नभई कारबाही गर्नुपर्ने माग राखे।

मन पराउँदैनन् कर्मचारीलाई जनप्रतिनिधि
जनप्रतिनिधिले निजामती कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका यो पहिलो घटना हो। यसअघि केही जनप्रतिनिधिले कर्मचारीमाथि हातपात गरेका समेत घटना बाहिर आएका छन्। पछिल्लोसमय कर्मचारीप्रति राजनीतिज्ञहरूले हेर्ने दृष्टिकोण नकारात्मक भएको प्रशासकहरूको विश्लेषण छ।

२०७५ पुसमा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयका सविच विद्यानाथ झलाई हातपात गरेको घटना बाहिर आएको थियो। २०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्सा जाँदा एयरर्पोटमा लिन पुरानो गाडी पठाएको आरोप लगाउँदै तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन्। यस विषयमा अदातलतमा मुद्दा दायार भयो। सात वर्षपछि पर्सा मात्र जिल्ला अदालतले बेमगलाई दुइ हजार रुपैयाँ जरिवाना गराउने फैसला ग-यो।
यसैगरी, २०६४ असार ४मा तत्कालीन वनमन्त्री मात्रिका यादवले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई मन्त्रालय कार्यालयको टवाइलेटमा थुनेर अभद्र व्यवहार गरेका थिए। ललितपुरमा बिनाइजाजत सञ्चालन भएका ढुंगाखानीको विषयलाई लिएर यादवले घिमिरेमाथि अभद्र व्यवहार गरेका थिए।

२०६४ यता मन्त्रीले सचिवलाई मात्र कुटेका छैनन्, स्थानीय तहको चुनाव पछि मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष,उपाध्यक्षले आफ्नो कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा लेखपालमाथि हात पात गरेको घटना पटक पटक आउने गरेका छन्। २०७५ साउनमा सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले तत्कालिन जिन्सी शाखा प्रमुख बलिराम यादवलाई कुटपिट गरेका थिए। आफ्नै कार्यकक्षमा उनले यादवको गालामा थप्पड हानेका थिए। नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन खरिदको विषयमा पासवले यादवलाई कुटेका हुन्। स्रोतका अनुसार मेयरले उनलाई बिलबेगर सामानको दाखिला गर्न दबाब दिएका थिए।

मेयरले कर्मचारीलाई कुटेको घटना यतीमा मात्र सीमित छैन। महोत्तरीको भगंहा नगरपालिकाका मेयर सञ्जीव साहले गत असोजमा हिसाबकिताब नमिलाएको भन्दै आफ्नै कार्यकक्षामा कार्यालयका तत्कालिन लेखा अधिकृत पवनकुमार अधिकारीलाई कुटपिट गरेका थिए। उक्त घटना पछि महोत्तरीका कर्मचारीहरूले मेयरलाई काबराही गर्न माग राख्दै केहीदिन आन्दोलन पनि गरे।

सो घटनामा मेयरले भने गत आर्थिक वर्षको हिसाबकिताब पटकपटक माग्दा नदिएको आरोप लगाएका थिए। यसैगरी, गत पुसमा लमजुङ सुन्दरबजार नगरपालिकाका तत्कालीन लेखापाल श्यामबहादुर पराजुली कुटिएका थिए। उनलाई सत्तारूढ पार्टीनिकट युवा संघ सुन्दरबजार नगर कमिटीका उपाध्यक्ष नवीन श्रेष्ठलले कुटपिट गरेका थिए। कर्मचारी कुट्ने श्रेष्ठलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै लमजुङमा कार्यरत लेखापालले केही दिन आन्दोलनसमेत गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App