१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थ्री स्टार फाइनलमा

दमक - आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै थ्री स्टार क्लब बिहीबार तेस्रो सताक्षी गोल्डकपको फाइनलमा पुगेको छ।

जितसँगै थ्री स्टारले कम्तीमा तीन लाख रुपैयाँ पक्का गरेको छ। पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसके पनि खेलको ५९औँ मिनेटमा थ्री स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।

पहिलो गोल गरेको १ मिनेटपछि थ्री स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोलकिपर मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो। खेलको ८२औँ मिनेटमा अर्को एक गोल थप्दै थ्री स्टारले जित सुनिश्चित बनायो। कप्तान विक्रम लामाले सो गोल गरेका थिए। यसअघि खेलको सातौँ मिनेटमा थ्री स्टारका सन्जोग राईको प्रहार अकासिएको थियो भने २५औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए।

खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्री स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोलको दिशा दिए। यसअघि खेलको नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार अकासिएको थियो। ४४औँ मिनेटमा मनीष थापाको ३५ यार्ड टाढाको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेमजोङले पन्च गरेर बचाएका थिए।

खेलको म्यान अफ दी म्याच थ्री स्टारका अनन्त तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ। दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App