१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेल ल्याउन अब तेस्रो भाका

काठमाडौं - जनकपुर–जयनयगर–कुर्था खण्डमा चलाउन भारतबाट ल्याउने भनिएको रेलको दोस्रो भाका पनि गुज्रिएको छ। गएको वैशाखमा भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिद सम्झौता गरी निर्माण गर्न लगाएको रेल सुरु सम्झौता अनुसार भदौमा नेपाल ल्याउने योजना थियो। रेल विभागले सुरुको सम्झौता अनुसार रेल आउन नसकेपछि त्यसलाई संशोधन गरी माघ मसान्तसम्म लम्ब्याएको थियो।

विभागका महानिर्देशक बलराम मिश्रले सम्झौता अनुसार माघ मसान्तसम्म एउटा रेल ल्याइ सक्ने तयारी भए पनि अन्तिम समयमा दुइटा रेल एकसाथ ल्याउने योजना बनेपछि भाका सरेको बताए। ‘सम्झौता अनुसार एउटा मात्र रेल ल्याएको भए माघ मसान्तसम्म आइसक्थ्यो,’ उनले भने, ‘एकातिर रेल सञ्चालन गर्न हाम्रो तयारी पनि पूरा भएन भने अर्कोतर्फ भारतीय रेलवेज कम्पनीले पनि दुईटा रेल एकसाथ ल्याउँदा राम्रो हुने सल्लाह दियो।

विभागका कतिपय अधिकारी भने सञ्चालनका लागि अझै थुप्रै कठिनाइ बाँकी रहेका कारण रेल ल्याउन ढिलाइ भइरहेको बताउँछन्। ‘भारतबाट रेल ल्याएर उभ्याउनुभएन,’ ती अधिकारीले नागरिकसँग भने, ‘नेपालमा ल्याएर सञ्चालन नहुनुभन्दा केही समय कम्पनीमै रहँदा केही फरक नपर्ने देखियो।’ रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न अझै चुनौती देखिएको बताइन्छ। भारतबाट आउने रेल चलाउने दक्ष जनशक्ति विभागसँग छैनन्। विभागले भारतबाटै दक्ष जनशक्ति ल्याउन खोजे पनि आउन नमानेको बताइन्छ। रेल चलाउनका लागि आवश्यक पर्ने कर्मचारीलाई दक्ष बनाउँदासम्म केही समय लाग्ने अधिकारीहरू बताउँछन्।

दोस्रो भाका गुज्रिएपछि अब भारतको चेन्नईमा निर्माण भइरहेका रेल नेपाल कहिले आइपुग्छन् भन्ने मिति प्रस्ट पारिएको छैन।

विभागले गएको बैशाख महिनामा करिब एक हजार दुई सयजनाले (पाँच सय बसेर र बाँकी उभिएर) यात्रा गर्न मिल्ने डेमो रेल तयार गर्ने कोकन रेलवेजसँग सम्झौता गरेको थियो। चालु आर्थिक वर्षमा रेल चलाउन अर्थले सुरुमा ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यति रकमले दुईवटा डेमो रेल खरिद गर्न अपुग भएपछि मन्त्रिपरिषद्ले बजेट थप गरी ८५ करोड ६५ लाख रुपैयाँ पु-याएको थियो। सुरुको सम्झौता अनुसार पहिलो रेल आइपुगेको एक  महिनापछि दोस्रो रेल नेपाल आउने योजना थियो।

नेपालमा रेल चलाउने प्रयास लामो समयदेखि भइरहेको छ। जनकपुर–जयनगर–कुर्था (४४ किमी) खण्डमा चल्ने रेल निर्माण गर्न भारतीय कम्पनीले सन् २०१८ को अप्रिलमा नै मूल्यसहित नेपाललाई प्रस्ताव गरेको थियो।  त्यतिबेला पनि अनेक कारणले रेल खरिदमा ढिलाइ गरिएको थियो। विभाग स्रोतका अनुसार त्यतिखेर जिटुजी (दुबै देशका सरकारी निकाय) स्तरबाट खरिद–बिक्री नगरी बिचौलिया नियुक्त गर्ने प्रयासले गर्दा सम्झौता हुन सकेको थिएन। ‘जिटुजीको साटो बिचौलिया घुसाएर कमिसन लिने चक्करमा एक वर्ष खेर फालियो,’ स्रोतले भन्यो, ‘अन्तिममा बिचौलिया घुसाउन सक्ने सम्भावना नदेखिएपछि बैशाखमा जिटुजीमै सम्झौता गरियो।’

विगतमा सञ्चालन हुँदै आएको जनकपुर–जयनगर खण्डलाई कुर्थासम्म बढाई मर्मत सम्भार गरेपछि रेल चलाउन लागिएको हो। सोही खण्डमा चल्दै आएको एक मात्र रेल निकै जीर्ण भएका कारण विगत सात वर्षदेखि बन्द छ। स्थानीयले पुरानो रेल सेवा बन्द भएदेखि नै रेल चलाउनु पर्ने माग गर्दै आएका छन्। जीर्ण भएको पुरानो रेलमार्गलाई भारतले नै मर्मत गरिदिएपछि नयाँ रेल चलाउन योग्य भएको विभागले जनाएको छ। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको साढे एक वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म रेल विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्गको निर्माण गरिरहेको छ।

जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने विभागले जनाएको छ। महानिर्देशक मिश्रले डेमो रेलमा अघिल्लो र पछिल्लो भागमा इञ्जिन रहने हुनाले घुमाउन नपर्ने र प्रतिघन्टा एक सय किलोमिटरको दरले कुद्ने विशेषता रहेको  बताए। छोटो दुरीमा कुदाउनुपर्ने भएकाले डेमो रेललाई आवश्यक परेको स्टेसनमा रोक्न सक्ने सुविधा रहेको बताइएको छ। भारतमा चल्ने गरेका अधिकांश रेललाई अघिल्लो भागमा राखिएको इन्जिनले तान्ने भएकाले छोटा स्टेसनमा रोक्न कठिन हुने बताइन्छ। तर, डेमो रेलको प्रत्येक डिब्बामा विद्युत् आपूर्तिको सुविधा हुने र जसले गर्दा छोटा स्टेसनमा रोक्न सहज हुने प्राविधिक बताउँछन्। दुईमध्ये एउटा रेलमा एसी सुविधाको डिब्बा (कार) हुने बताइएको छ।

दोस्रो भाका गुज्रिएपछि अब भारतको चेन्नईमा निर्माण भइरहेका रेल नेपाल कहिले आइपुग्छन् भन्नेबारे मिति प्रस्ट पारिएको छैन। ‘रेल ल्याइसक्नु पर्ने सम्झौताको अन्तिम मिति ३१ मार्च २०२० सम्म छ,’ विभागका महानिर्देशक मिश्रले भने, ‘दोस्रो भाका गुज्रिए पनि अब सम्झौता अवधिमै आउला भन्ने अपेक्षा गरेका छौं।’ रेल आउने मिति चाँडै यकिन हुने उनको भनाइ छ। उनले केही दिनअघि नेपाली टोलीले निर्माण कम्पनीको भ्रमण गर्दा एउटा रेल तयारी अवस्था रहेको बताए। विभागका कतिपय अधिकारी भने आउँदो मार्च ३१ सम्म दुई वटा रेल एकसाथ ल्याउने सम्झौता कम रहेको बताउँछन्। ‘एउटा रेल तयार गर्न नै करिब १० महिना लाग्यो,’ ती अधिकारीले भने, ‘आउँदो एक महिनामा अर्को रेल तयार होला भन्ने आशा गर्न सकिन्न।’

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App