१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधन फिर्ता, तीनै तहको चुनाव घोषणा :  ओली

काठमाडौं- सरकार र मधेसवादी दलले संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्ताव फिर्ता लिएर तीनै तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपिल प्रकाशित गरी संशोधन विधेयकले निर्वाचन अन्योलमा पारेको उल्लेख गरेका छन्।

अपिलमा शुक्रबार हुने राजधानी केन्द्रित प्रदर्शन संशोधन प्रस्ताव फिर्ता गराउन जनदबाब दिन भएको उल्लेख छ। 'आजको मुख्य काम संविधान कार्यान्वयन हो, संविधान संशोधन गलत छ र जाति–जातिबीच, भूगोल–भूगोलबीच द्वन्द्व चर्काउने कुनै पनि काम मञ्जुर छैन भन्ने जनभावना प्रकट गर्न चाहन्छौं', अपिलमा भनिएको छ, 'यस प्रदर्शनले अँध्यारो कोठाबाट राष्ट्रियता, राष्ट्रिय हित र सामाजिक सद्भावविरुद्ध भइरहेका षड्यन्त्र विफल पार्न निर्णायक भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।'

एमालेसहित संविधान संशोधनको विरोध गर्दै आएका राजनीतिक दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना बनाएका छन्। त्यसका लागि एमालेले आन्तरिक तयारी तीव्र पारेको छ।

एमालेले संविधान संशोधनको प्रक्रिया र अन्तरवस्तु गलत भएको जनाएको छ। 'यसमा मिलेर बसेको नेपाली समाजमा विभिन्न नाममा विद्वेष ल्याउने र किस्ता–किस्तामा तराई र पहाड–हिमाललाई विभाजित गरेर तथाकथित 'दुई राष्ट्रियता' को मान्यता स्थापित गर्ने दुराशय लुकेको छ। बहुसंख्यक जनताले बोल्ने मातृभाषामात्रै सरकारी कामकाजका भाषा बन्न सक्ने स्पष्ट संवैधानिक व्यवस्थालाई लत्याएर छद्म ढंगले मातृभाषालाई घात गर्न खोजिएको छ', अपिलमा भनिएको छ, 'राष्ट्रिय सभाको संरचना परिवर्तनको प्रयास हानिकारक छ किनभने यसले प्रदेशहरूको सन्तुलन र न्यायोचित प्रतिनिधित्वलाई कमजोर पार्छ। नागरिकतासम्बन्धी प्रावधान पनि अनुचित र असान्दर्भिक छ।'

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संसद्मा प्रदेशका सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभा गठन विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ। एमालेले संविधान प्रस्ताव सरकारले 'कसैलाई रिझाउन' ल्याएको ठहर गरेको छ।

'संविधान संशोधन आवश्यकता, औचित्य, राष्ट्रिय हित एवं जनचाहनाका आधारमा मात्रै हुन सक्ने स्पष्ट पार्दै कसैलाई खुसी पार्न र सीमित समूहलाई रिझाउन संविधान बनाउँदा अभिव्यक्त ९० प्रतिशत सांसदको सहमति नभत्काउन हामीले सरकारलाई बारम्बार आग्रह गर्‍यौं', अपिलमा उल्लेख छ, 'निहित स्वार्थ पूर्तिका लागि गरिएको वाचाकबुल पूरा गर्न अनुबन्धित सरकारले सबै आग्रहलाई लत्यायो र झन्डै मध्यराति संशोधन विधेयक दर्ता गर्‍यो।'

यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले शुक्रबार हुने प्रदर्शनपछि देशको राजनीति नयाँ दिशामा प्रवेश गर्ने बताएका छन्। प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन एमालेमात्रै नभएर सबै नेपालीको चासोको विषय भएको बताए। उनले एमालेलाई बाइपास गरेर संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरी देखाउन चुनौतीसमेत दिए।

प्रकाशित: १८ पुस २०७३ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App