१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

कोरोनामा कर्तव्य

अन्ततः सरकारले कोरोना विषाणुको महामारी फैलिएको चीनको हुबेईस्थित वुहानबाट १ सय ७५ नेपालीको उद्धार गरेको छ। नेपाल आउन नाम लेखाएकामध्ये ६ जना भने उतै रोकिएका छन्। चीनमै रोकिनु परे पनि उनीहरूको स्वास्थ्य–स्थिति सामान्य रहेको सुखद खबर सार्वजनिक भइसकेको छ। महामारीग्रस्त क्षेत्रबाट स्वदेश फर्कन त्यहाँ रहेका नेपालीले सरकारसँग निरन्तर आग्रह गरेका थिए। तर सरकारले समयमै ल्याउन नसक्दा त्यहाँ रहेका नेपाली र देशमा रहेका तिनका परिवारजनमा सबैभन्दा बढी चिन्ता देखिएको थियो। आफू सकुशल रहे पनि त्यहाँको प्रतिकूल वातावरण, घरपरिवारबाट टाढा एक्लै बस्नुपर्ने अवस्थाले स्वाभाविक रूपमा तिनलाई समस्या भएको हो। समयमै उद्धार हुन नसक्दा संक्रमण फैलिने त्रासमा बस्नु कम्ता कठिन हुँदैन। यो स्थितिमा आफ्ना नागरिकलाई स्वदेश फर्काउन पहल गरेर सरकार धन्यवादको पात्र बनेको छ। यसले सम्बन्धित व्यक्ति, तिनका परिवार र सबै नेपाली सरकारप्रति विश्वस्त भएका छन्।

वुहानबाट नेपाली नागरिक स्वदेश ल्याउनुअघि सरकारले भक्तपुरको खरिपाटीमा उनीहरूलाई सुरक्षित राख्ने स्थान (क्वारेन्टाइन) तयार पारेको थियो। उद्धार गरेर ल्याइएका १ सय १५ नेपालीलाई अहिले त्यहीं राखिएको छ। संक्रमणबाट जोगिन १४ देखि १८ दिनसम्मका लागि अलग्गै बस्नुपर्ने गरी खरिपाटी लगिएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति सन्तोष प्रकट गरेका छन्। चीनबाट नेपाल आइपुगेपछि उनीहरूले सरकारको तयारीबारे सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिएका हुन्। उनीहरूलाई त्यहाँ छुट्टाछुट्टै सामग्री दिइएको छ। उनीहरूको स्वास्थ्य नियमित परिक्षण गर्ने व्यवस्था मिलाइएको छ। चीनबाट उद्धार गरी ल्याइने नेपालीको उचित हेरचाह नहोला कि भन्ने जुन आशंका थियो, त्यो मेटिएको छ। तर यसको अर्थ– सबै काम पूरा भयो भन्ने होइन। चीनजस्तो शक्तिशाली मुलुकलाई समेत संकटमा पार्ने कोरोना विषाणुको संक्रमण यहाँ फैलियो भने नियन्त्रण गर्न निकै गाह्रो निश्चित छ। किनकि जसका लागि थप संरचना बनाइहाल्न हामीलाई सहज छैन।

धन्य ! अहिलेसम्म नेपालले कोरोना महामारी बेहोर्नुपरेको छैन। सबै नेपालीको अवस्था सामान्य छ। यसअघि शंकास्पद ठानिएका बिरामीमा पनि कोरोना भाइरस नरहेको पुष्टि भइसकेको छ। तर पनि यसलाई संकटकालकै रूपमा व्यवहार गर्ने र सकेसम्म संक्रमण हुन नदिन आवश्यक तयारीमा ध्यान दिन आवश्यक छ। यस किसिमको संक्रमण जोसुकैबाट जहिलेसुकै हुन सक्ने अवस्था छ। त्यसकारण पनि त्रिभुवन विमानस्थलदेखि नेपाल प्रवेश गर्ने अन्य नाकामा समेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कडाइसाथ गरिनुपर्छ। अहिलेको कोरोना संक्रमण मात्र होइन, भविष्यमा आउन सक्ने अन्य स्वास्थ्यसम्बन्धी ठूलठूला चुनौती सामानका निम्ति पनि अहिले रणनीतिक तयारी गर्न जरुरी छ। फ्रान्सको राजधानी पेरिसमा समेत कोरोना संक्रमणका कारण एकजना चिनियाँ पर्यटकको मृत्यु भएको समाचार सार्वजनिक भइसकेको छ। यसकारण पनि यो संक्रमण जहाँसुकैबाट फैलिन सक्ने भएको हुँदा रोकथामका उपायमै बढी ध्यान दिन आवश्यक छ। यसबारे बेलैमा विचार गर्न सकिएन भने कोरोना र यस्तै अन्य स्वास्थ्य संकटले हामीलाई समस्यामा पार्न सक्छन्।

नेपालले जनवरी १ (गत पुस १६, २०७६) देखि नेपाल भ्रमण वर्ष आयोजना गरेको छ। चिनियाँ पर्यटकले धेरै यात्रा गर्ने महिनाको सुरुमै फैलिएको कोरोना संक्रमणले असजिलो पारेको छ। यो वर्ष नेपालले २० लाख पर्यटक भित्र्याउने भनेको हो तर कोरोनाको संक्रमणसँगै पर्यटक आवगमनमा समेत असर पारेको छ। कोरोना भाइरसका डरले विश्वव्यापी रूपमै मुलुकहरूले आफ्ना नागरिकलाई भ्रमणमा नजान आग्रह गर्ने अवस्था देखिँदै छ। आइतबारसम्म चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ। तर नयाँ व्यक्तिमा संक्रमण हुने दर भने तीन दिनयता कम भइरहेको छ। अघिल्लो सातासम्म  संक्रमित हुनेको संख्या समेत बढिरहेको थियो। अहिलेसम्म ६८ हजार ५ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना विषाणुविरुद्ध लड्न अहिले गरिने तयारी भविष्यमा आउन सक्ने यस्तै अन्य संकटका निम्ति पनि उपयोगी हुन सक्छ। अहिलेको यो विश्वव्यापी संकटले हामीलाई समेत छुने निश्चित छ। त्यसमा पनि नेपाल ठूलो जनसंख्या भएका दुई ठूला मुलुकसँग जोडिएको छ। हाम्रो अर्थतन्त्रमा पर्यटनको ठूलो महत्व स्थापित भइसकेको छ। यस्तो अवस्थामा कोरोना संक्रमण हुन नदिन गर्नुपर्ने सबै संरचनागत तयारीमा ध्यान दिन जरुरी छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App