१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सरकारीभन्दा निजी बैँकको कर्जा कम

काठमाडाैँ - चालु आर्थिक वर्ष ०७६/७७ को पुस मसान्तसम्ममा अधिकांश वाणिज्य बैँकको खराब कर्जा अतुपात बढेको छ। मुलुकमा सञ्चालनमा रहेका २७ वाणिज्य बैँकमध्ये १४ वटाले खराब कर्जा अनुपात बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

बैँकहरूले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण अनुसार १३ वटाले खराब कर्जा अनुपात घटाए पनि १४ को बढेको छ। चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा थोरै खराब कर्जा निजी क्षेत्रको एभरेस्ट बैंक र सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैँकको छ। एभरेस्टले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसको खराब कर्जा ०.१६ प्रतिशत छ। पोहोर पुसमा यसको खराब कर्जा अनुपात ०.१९ प्रतिशत थियो। सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको छ। सरकारी स्वामित्वको यस बैंकको खराब कर्जा १.३७ प्रतिशत बिन्दुले बढेर ४.७७ प्रतिशत पुगेको छ। पोहोर पुसमा यस बैँकको खराब कर्जा ३.४० प्रतिशत थियो।

प्रभु बैंकको खराब कर्जा ०.६५ प्रतिशत बिन्दुले बढेको छ। गत आवको पुस मसान्तसम्म २.४७ प्रतिशत रहेको खराब कर्जा यो पुसमा ३.१२ प्रतिशत पुगेको छ। सनराइज बैंकको खराब कर्जा ०.२६ प्रतिशत बिन्दुले बढेको छ। गत आवको पुस मसान्तसम्म १.२६ प्रतिशत रहेको खराब कर्जा यसपालि १.६९ प्रतिशत पुगेको बैँकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ। नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा पनि ०.२५ प्रतिशत बिन्दुले बढेको छ। पोहोर पुसमा २.०४ प्रतिशत रहेको यसको खराब कर्जा अहिले बढेर २.९० प्रतिशत पुगेको बैँकले जनाएको छ।

त्यसैगरी, नेपाल बंगलादेश बैंकको खराब कर्जा ०.१४ प्रतिशत बिन्दुले बढेको छ। गत आवको पुस मसान्तसम्म १.७८ प्रतिशत रहेको खराब कर्जा बढेर १.९२ प्रतिशत पुगेको बैँकले जनाएको छ। हिमालयन बैँकको खराब कर्जा १.२८ प्रतिशत पुगेको छ। यो अघिल्लो पुस मसान्तको तुलनामा ०.०३ प्रतिशत बिन्दुले बढी हो। पोहोर पुसमा यो १.२५ प्रतिशत थियो। मेगा बैंकको खराब कर्जा ०.२८ प्रतिशत बिन्दुले बढेर १.४९ प्रतिशत पुगेको छ। सेञ्चुरी कमर्सियल बैंकको खराब कर्जा ०.८३ प्रतिशत बिन्दुले बढेर १.६७ प्रतिशत पुगेको छ। नबिल बैंकको खराब कर्जा ०.१३ प्रतिशत बिन्दुले बढेर ०.७५ प्रतिशत पुगेको वित्तीय विवरणले देखाउँछ। एनएमबि बैंकको खराब कर्जा एक प्रतिशत बिन्दुले बढेर १.७६ प्रतिशत पुगेको छ।
ग्लोबल आइएमई बैंकको खराब कर्जा १.२० प्रतिशत पुगेको छ। यो पोहोर पुस मसान्तको तुलनामा करिब ०.४५ प्रतिशत बिन्दुले बढी हो।

माछापुच्छ्रे बैंकको खराब कर्जा अनुपात ०.०१ प्रतिशत बिन्दुले बढेर ०.४५ प्रतिशत पुगेको छ। सानिमा बैंकको खराब कर्जा ०.४१ प्रतिशत छ। यो पोहोरको भन्दा ०.१७ प्रतिशत बिन्दुले बढी हो। एनआइसी एसिया बैंकको खराब कर्जा ०.१ प्रतिशत बिन्दुले बढेको छ। गत पुस मसान्तमा यसको खराब कर्जा अनुपात ०.४६ प्रतिशत पुगेको छ। चालु आवको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैँकमध्ये १३ वटाले खराब कर्जा घटाएका छन्। खराब कर्जा धेरै घटाउनेमा सिभिल बैंक परेको छ। गत आवको पुससम्ममा यसको खराब कर्जा अनुपात ३.५४ प्रतिशत रहेकामा यो पुसमा घटेर २.८९ प्रतिशतमा आएको छ। एनसिसी बैंकको खराब कर्जा अनुपात ०.७१ प्रतिशत बिन्दुले ओर्लेको छ। पोहोर पुस मसान्तमा ३.५३ प्रतिशत रहेको यसको खराब कर्जा अहिले २.८२ प्रतिशतमात्र छ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले ०.५९ प्रतिशत बिन्दुले खराब कर्जा घटाएको छ। गत आवको दोस्रो त्रैमाससम्ममा यसको खराब कर्जा ४.५० प्रतिशत रहेकोमा अहिले ३.९१ प्रतिशतमा झरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.०३ प्रतिशत बिन्दुले घटेको छ। पोहोर पुसमा ०.२० प्रतिशत रहेको यसको खराब कर्जा अनुपात अहिले ०.१७ प्रतिशत छ। बैंक अफ काठमाण्डूको खराब कर्जा अनुपात १.५४ प्रतिशत छ। यो पोहोर पुसको तुलनामा ०.५४ प्रतिशत बिन्दुले कम हो। त्यसैगरी, नेपाल एसबिआई बैंकको खराब कर्जा ०.०२ प्रतिशतले घटेको छ। गत आवको पुस मसान्तसम्म ०.१९ प्रतिशत रहेको यसको खराब कर्जा अनुपात यसपालि ०.१७ प्रतिशतमा झरेको छ। सरकारी स्वामित्वको नेपाल बैंकको खराब कर्जा २.६६ प्रतिशत छ। यो पोहोरको तुलनामा ०.८ प्रतिशत बिन्दुले कम हो। कुमारी बैंकको खराब कर्जा अनुपात ०.१८ प्रतिशत बिन्दुले घटेको छ। पोहोर यो १.२२ प्रतिशत थियो। त्यसैगरी, प्राइम बैंकको खराब कर्जा अनुपात पोहोरको १.५८ बाट १.४५ प्रतिशतमा झरेको छ।

सिद्धार्थ बैंकको खराब कर्जा अनुपात ०.०९ प्रतिशत बिन्दुले घटेको छ। पोहोर १.६४ प्रतिशत रहेको खराब कर्जा अहिले १.५५ प्रतिशतमा झरेको छ। लक्ष्मी बैंकको खराब कर्जा अनुपात पोहोर पुसको १.११ प्रतिशतबाट ०.८८ प्रतिशतमा ओर्लेको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App