१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा पनि एकको मृत्यु

पेरिस – कोभिड–१९ (कोरोना भाइरस)बाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, ‘चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ बाट फ्रान्समा ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।’ एसिया महादेशभन्दा बाहिर भाइरसको संक्रमणबाट भएको यो नै पहिलो मृत्यु हो। बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ संक्रमणको पुष्टि भएका अन्य ६ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ। बुजिनले भने, ‘फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो। केही दिनयता उहाँको स्वास्थ्य अवस्था ‘निकै बिग्रिएको’ थियो।

चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताए। चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत डिसेम्बरमा देखापरेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसको संक्रमणबाट अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ। चीनमा कोभिड–१९ बाट अहिलेसम्म ६६ हजार व्यक्ति संक्रमित भएको पुष्टि गरिएको छ। चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ।चीनबाहिर झन्डै ६ सय व्यक्तिलाई कोभिड–१९ को संक्रमण भएको र यसमध्ये करिब ३५ जना युरोपेली संघ (इयु) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ।

बालबालिकामा संक्रमण निकै कम : विज्ञ
यसैबीच, बिबिसीका फर्नान्डो डुवार्टले कोभिड–१९ को प्रकोपबाट बालबालिका संक्रमित भएका घटना एकदमै दुर्लभ भेटिएको बताएकी छन्। किन यस्तो भएको हो भन्ने पत्ता लगाउन विज्ञहरू प्रयास गरिरहेका बताइएको छ। हुनत चीनमा एक नवजात शिशुमा जन्मिएको ३० घन्टापछि कोभिड–१९ को संक्रमण देखिएको खबरले विश्वको ध्यान खिचेको थियो। फेब्रुअरी ५ मा आउनेबित्तिकै त्यो खबर विश्वभरि फैलिएको थियो। अहिलेसम्म चीनमा करिब एक हजार पाँच सय जनाको मृत्यु भएको भए पनि तीमध्ये सबैभन्दा कम उमेरमा संक्रमित भएको पाइएको तिनै शिशुमा हो।

बालबालिकामा संक्रमण किन कम देखिएको छ भन्ने निश्चित जवाफ स्वास्थ्य विज्ञहरूसँग छैन। तर, उनीहरूले बालबालिकामा संक्रमण कम भएको पाइएको बताएका छन्। ‘यसको कारणबारे उनीहरू पूर्ण रूपमा स्पष्ट छैनन्, बालबालिकाहरू या त संक्रमण हुने परिस्थितिबाट टाढा रहन्छन् वा उनीहरूमा कडा संक्रमण हुँदैन,’ युनिभर्सिटी अफ रेडिङका प्राध्यापक इयान जोन्सले बिबिसीलाई भने। यसको अर्थ बालबालिकामा अहिले कम खतरा हुने खालको संक्रमण हुने र त्यसको लक्षणहरू विकसित हुँदै जाने हुनसक्छ। त्यस्तो खालको अवस्थामा बालबालिकालाई अस्पतालमा उपचारका लागि राखिन्न र चिकित्सकलाई पनि देखाइँदैन। अहिलेसम्म कोभिड–१९ को संक्रमण तीसभन्दा बढी देशमा देखा परिसकेको छ। तर, यसबाट प्रभावित बालबालिकाको संख्या निकै कम रहेको पछिल्लो अध्ययन जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित लेखमा उल्लेख छ।

उक्त अध्ययन प्रकोप सुरु भएको चीनको वुहानस्थित जिनयिनटान अस्पतालका बिरामीमा गरिएको हो। उक्त अध्ययनले ४० देखि ५९ वर्ष उमेरका मानिसमा उक्त भाइरसको संक्रमण आधाभन्दा बढी रहेको देखाएको छ। अध्ययनले ३९ वर्षभन्दा कम उमेरका बिरामी जम्मा १० प्रतिशत रहेको देखाएको छ। ‘बालबालिकामा संक्रमण दुर्लभ देखिएको छ,’ अनुसन्धानकर्ताले भनेका छन्। यसबारे थुप्रै खालका तर्कहरू गरिन्छ। तर, बालबालिकामा संक्रमण किन कम देखिएको छ भन्ने निश्चित जवाफ भने स्वास्थ्य विज्ञहरूसँग छैन। ‘पाँच वर्षभन्दा कम उमेरका बालबालिका र किशोरकिशोरीहरूमा कोभिड–१९ रोगसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ। उनीहरू पनि संक्रमित हुनसक्छन्। तर, एकदमै सामान्य खालको संक्रमण हुन्छ वा संक्रमणको लक्षण देखापर्नुपूर्व नै उनीहरूको रोग प्रतिरोधात्मक शक्तिले यसलाई निको पारिदिन्छ ।’ बालबालिकामा संक्रमण कम हुने नजिर यसअघि सन् २००३ मा चीनमै देखापरेको सार्स प्रकोपका बेला नै बसेको थियो।

करिब ८ सय मानिसको ज्यान लिएको र ८ हजार व्यक्तिमा संक्रमण भएको सार्स प्रकोपकै बेला पनि बालबालिकामा निकै कममात्रै संक्रमण भएको थियो। सन् २००७ मा अमेरिकी जनस्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीका विज्ञहरूले सार्सको संक्रमण भएका १ सय ३५ बालबालिकाको पहिचान गरेका थिए। तर, उनीहरूले ‘बालबालिका र किशोरकिशोरीमा मृत्युको एउटा पनि घटना नभएको’ जनाएका थिए। अर्कोतर्क चिनियाँ नयाँ वर्षका बेला स्कुलहरू बन्द थिए। त्यसैले बालबालिकामा भाइरसको संक्रमणको जोखिम उनीहरूमा त्यति हुन पाएन। चीनमा विद्यालयहरू आगामी म्याकडरमट पनि बालबालिकाहरू वयस्क जति भाइरस संक्रमणको जोखिममा नपर्ने गरेको ठानिन्छ।

‘वयस्कहरू धेरै ख्याल गर्छन् र यदि घरमा कसैलाई संक्रमण भएको छ भने उनीहरू बालबालिकालाई जोगाउनका लागि अन्यत्रै पठाउँछन्,’ उनले भने। यो प्रकोपले उत्पन्न गराउने अवस्थाले ठेउलाजस्तै बालबालिकाभन्दा वयस्कमा बढी असर पार्छ। ‘बालबालिकामा धेरै प्रतिरोधी (कोभिड–१९ सँग लड्ने क्षमता) क्षमता छ भन्नुभन्दा यो बढी सम्भाव्य कारण होला,’ कार्डिफ विश्वविद्यालयका संक्रामक रोग विज्ञ एन्ड्रयु फ्रिडम्यानले बिबिसीलाई भने, ‘के पनि हुन सक्छ भने थोरै लक्षण देखिएका वा देखिँदै नदेखिएका बालबालिकामा अधिकारीहरूले परीक्षण गरेका छैनन।

प्रकाशित: ४ फाल्गुन २०७६ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App