१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

समध

मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला पाए चाँडै मुसनीको बिहे गरिदिने बताउँथे।

एक दिन जमिनदार मुसनीलाई माग्न आए। ४० कटेका उनका दुई छोरा थिए। उनकी स्वास्नीको निधन भएको एक वर्ष भएको थियो। उनी दोस्रो बिहे गर्न चाहन्थे। जमिनदारले छोरी मागेकाले मुसनीका बाआमाले नाइँ भन्न सकेनन्। उनीहरू मुसनी आफूहरूले जस्तै गरिबी जिउन नपरोस् भन्ने चाहन्थे। जमिनदार र  मुसनीको बिहे हुने पक्का भयो।  मुसनीले बाआमाको निर्णयलाई अस्वीकार गर्न सकिनन्। विवाहितसँग हुने बिहेलाई समध भनिन्छ। मुसनीको बिहे नभईकन समध भयो। जमिनदार बेलुकी समध गर्न आए,  बिहानै समध गरेर फर्किए। जमिनदारको घरमा फराकिलो आँगन थियो।  मुसनी चारैतिर घर,  धेरै भकारी र धान–चामल देखेर आश्चर्यचकित भइन्। उनले कहिल्यै यस्तो देखेकी थिइनन्, स्वर्गमा पुगेको महसुस गरिन्।  घरनजिकैको बारीमा चराहरू चिरबिर गरेको सुनेर उनी झनै खुसी भइन्। उनले माइतीघर सम्झिएर बाआमा पनि जमिनदार जस्तै धनी भएको कल्पना गरिन्। उनलाई सबै कुरा नयाँ लाग्यो। जमिनदारकी स्वास्नी हुन पाएकामा उनी धेरै खुसी थिइन्।

कान सुमसुम्याइ दिँदा पाठोले  जिब्रो निकाल्दै मुसनीको हात चाट्न थाल्यो। पाठोले हात चाट्दा मुसनीलाई अनौठो काउकुती लाग्यो। उनले आँखा बन्द गरिन्, पाठोलाई कसेर अँगालोमा बाँधिन्।
 

समधमा आएका आफन्तहरू दुई–तीन दिनपछि आ–आफ्नो घर फर्किए।  घरमा मुसनी, छोराहरू र जमिनदार थिए। जमिनदारका दुइ  छोराहरू मुसनीकै उमेरका थिए। छोराहरूले उनलाई आमा भनेर सम्बोधन गर्न थाले। आफ्नै उमेरका ठिटाले आफूलाई आमा भनेर बोलाएको उनलाई कत्ति पनि मन परेन।  उनी लाजले पानीपानी भइन्, मनमनै रिसाइन्, तर केही भन्न सकिनन्। शुभ साइत नजुरेकाले मुसनीलाई जमिनदारको कोठामा सुत्न दिइएको थिएन। उनी आमाजूसँग सुत्थिन्। सोमबार राम्रो साइत पारेकाले आमाजूले मुसनीलाई जमिनदारको कोठामा सुत्न पठाइन्। जमिनदार राति कोठामा आए। मुसनीले घुम्टो उघारेर उनलाई हेरिन् र घुम्टो ओढिन्। उनले बा सम्झिन्।

जमिनदार उनकै बाको उमेरका थिए। लामो जुँगा, अग्लो मान्छे, मोटो जिउडाल, फुलेका कपाल र खुइलेको तालु जमिनदारको हुलिया हो। यो हुलिया उनलाई कत्ति पनि मन परेन, तर उनी केही बोलिनन्। उनलाई जमिनदारको अनुहार हेर्दै  कुरा गर्न मन लागेन। मुसनी खाटमा पल्टिएको देखेर जमिनदारले भने, ‘तोरा थाकल लागल हेतौ सुत ।’ (तँलाई थकाइ लागेको होला सुत् ।) जमिनदार फुफु गर्दै टुकी निभाएर मुसनीछेउमै पल्टिए। केही समयपछि उनी मुसनीको जिउमा टाँसिएर सुते। मुसनीलाई राम्रो लागेन। जमिनदारले बिस्तारैै मुसनीको जिउमा आफ्ना हात डुलाउन थाले। मुसनी जिउ कुप्राउँदै परपर सरिन्।

जमिनदार पनि मुसनीसँगै परपर सरे। उनले मुसनीका अंगप्रत्यंग चलाउन थाले। मुसनीलाई जमिनदारको व्यवहार कत्ति पनि मन परेन। जमिनदारले जुँगेले ओठले उनलाई चुम्बन गर्न थाले। मुसनीलाई सारै नरमाइलो लाग्यो। जुँगाले उनको संवेदनशील अंगहरूमा घोचेको जस्तो लाग्थ्यो। उनी जमिनदारलाई पर धकेलिदिन चाहन्थिन्, तर त्यसो गरिनन्। उनी अनौठो काउकुतीले लल्याकलुलुक्क भइन्। उनी जमिनदारप्रति समर्पित भइन्, जमिनदारको स्पर्शमा उनी। उनलाई जमिनदारको स्पर्श राम्रो लाग्न थाल्यो। उनले पूरै जिउ जमिनदारलाई सुम्पिदिइन् । हप्ता दिनसम्म उनलाई ठीकै लाग्यो, तर जति दिन बित्दै थियो, त्यति नै उनलाई जमिनदारसँग रात बिताउन असजिलो लाग्न थाल्यो। दिन मात्र भइदिए हुन्थ्यो, रात नभइदिए हुन्थ्यो भन्ने भाव उनको मनमा आइरहन्थ्यो। त्यसमाथि छोराहरूको आमा बन्नुपर्ने बाध्यता थियो।

मुसनी आफ्नै रूपरंग देखेर दंग थिइन्। मोटा हातखुट्टा, चौडा निधार, लामा कपाल, गोलो अनुहार र पुष्ट जिउ भएकी मुसनी निकै राम्री थिइन्। उनी भान्साको काम सकेर सुत्न गइन्। जमिनदार सुतिसकेका थिए। मुसनी जवानीको उग्रताले व्याकुल थिइन्। उनका अंगप्रत्यंगहरू जमिनदारको स्पर्श पाउन आतुर थिए। उनले छातीबाट जबर्जस्ती सारी हटाएर जमिनदारको जिउमा आफ्ना दुई पुष्ट र नांगा छाती टाँसिन्। उनले मनलाई नियन्त्रण गर्न सकिनन्। आफ्नो जिउमा टाँसिएको देखेर जमिनदारले रिसाउँदै मुसनीतिर पिठिउँ फर्काउँदै भने, ‘कथि करैचिही ? दुरे सुत। हमरा निन लागल आइछ ।’ (परै सुत्। मलाई निद्रा लागेको छ ।)

मुसनीलाई मनमनै धेरै रिस उठ्यो। जमिनदार आफूतिर पिठिउँ फर्काएर सुतेको देखेर उनी पनि जमिनदारतिरै पिठिउँ फर्काएर सुतिन्, तर निदाउन सकिनन्। उनलाई अनौठो छटपटी लाग्यो। उनले कसेर मुठ्ठी बाँधिन् र खोलिन्। उनी ओछ्यानमा यताउता कोल्टो फेरिरहिन्। केही बेरपछि उनी भुइँमा ओछ्यान लगाएर ढल्किइन्, निदाउन सकिनन्। उनी माथि खाटमै आइन्, ओछ्यानमा बसिन्। उनी जमिनदारले निद्राबाट बिउँझिएर ‘आऊ न’ भन्दै सुताऊन् भन्ने चाहन्थिन्, तर उनको रहर पूरा भएको थिएन।  उनी आधा रातसम्म छटपटाइरहिन्। जमिनदारले उनी छटपटाएको थाहा पाएनन्, मुसनीको तृष्णा बुझ्न सकेनन्। आधा रातसम्म छटपटाउँदै मुसनी निदाइन् । अर्को रात जमिनदार ढिलो गरी ओछ्यानमा आए। मुसनी चाँडै काम सकेर ओछ्यानमा गएकी थिइन्। मुसनीले आफूलाई रोक्न सकिनन्। जमिनदारको छेउमा ब्लाउज खोलेर नांगो जिउमा पल्टिइन्। यो देखेर जमिनदारले कड्किँदै भने, ‘केहेन मौगी छै। कथिले बुलौज खोललिही ? बुलौज लगा। सुत ।’ (कस्ती आइमाई रहिछे। किन ब्लाउज फुकालिस् ? ब्लाउज लगा। सुत् ।)

मुसनी खिन्न भइन्। उनको चित्त धेरै दुख्यो। उनले बिस्तारै जमिनदारतिर पिठिउँ फर्काइन्। उनी भुइँमा फालिएको ब्लाउज लगाएर सुँक्कसुँक्क गर्दै रुन थालिन्। मुसनी रोएको देखेर उनलाई आफ्नो अँगालोमा बाँध्दै जमिनदारले भने, ‘नै कान। हमरा थाकल लागल आइछ। सुत ।’(नरो। मलाई थकाइ लागेको छ। सुत् ।) अँगालोमा मुसनीलाई बाँधेर एकछिनमै जमिनदार घ्वाँरघ्वाँर गर्दै निदाए। मुसनी भने निदाउन सकिनन्। उनी जमिनदारको अँगालोमा केहीबेर छटपटाइरहिन्। यसपछि जमिनदारतिरै पिठिउँ फर्काएर रोइरहिन्, आधा रातसम्मै छटपटाइरहिन्, त्यसपछि निदाइन्। मुसनीलाई जमिनदारभन्दा  बेचना नोकर राम्रो लाग्थ्यो। बेचना मुसनीसँग मन खोलेर कुरा गर्थ्यो । ऊ गुहालीको छेउमा रहेको छाप्रोमा सुत्थ्यो। ऊ खाना खाने बेलामा आँगनमा आउँथ्यो। त्यतिबेलै मुसनी बेचनासँग कुरा गर्थिन्। बेचना पनि मुसनीकै उमेरको भएकाले यी दुवैबीच खुबै कुरा मिल्थ्यो। मुसनी फुर्सद हुनासाथ बेचनालाई सम्झन्थिन्। उनलाई बेचना धेरै सोझो पनि लाग्थ्यो।

बेचना उनलाई भन्थ्यो, ‘उमेर मिल्ने मान्छेसँग बिहे गर्नुपर्छ। उमेर मिले मन मिल्छ, उमेर नमिले मन पनि मिल्दैन।’ बेचनको कुरा सम्झेर उनी खिन्न हुन्थिन्। मुसनी र जमिनदारको उमेर छोरीबावुको जस्तो थियो। तैपनि उनी जमिनदारलाई लोग्ने स्विकार्न बाध्यता थिइन्। उनमा अनौठो छटपटी हुन्थ्यो, त्यो घरमा बस्न मन लाग्दैनथ्यो। उनी कसैलाई केही भन्न पनि सक्दैनथिन् किनकि उनले माइतीमा धेरै अभाव र गरिबी देखे–भोगेकी थिइन्। उनी जमिनदार्नी बनेर धनको थुप्रोमा बसेकी थिइन्, मानसिक रूपमा कत्ति पनि खुसी थिइनन्। उनलाई आफूसरहको मान्छे चाहिएको थियो, जोसँग बोल्न–हाँस्न पाइयोस्। उनी जमिनदारसँग यी सब गर्न सक्दैनथिन्। त्यस्तै नोकर भएकाले बेचनासँग उनी धेरै बोल्न र जतिखेर पनि कुरा गर्न सक्दिनथिन् ।

समध भएको एक महिना भइसकेको थियो। जमिनदारले मुसनीलाई माइती पठाउने निर्णय गरेर हलुवाइहरूलाई बोलाए,  थरीथरीका मिठाई, तेलपौर रोटी, बुनियाँ, जेरी, पेडा र रसभरी बनाउन लगाए। मिठाई, रोटी र पुरीले एउटा ट्याक्टर भरियो। मुसनी एक ट्याक्टर  कोसेली लिएर माइती पुगिन्। उनका बाआमा कोसेली देखेर दंग परे। उनीहरूले खुसी हुँदै गाउँभरका मानिसलाई कोसेली खान बोलाए। गाउँलले कोसेली खाँदै जमिनदारको धेरै प्रशंसा गरे। मुसनीलाई पुर्‍याउन आएका आफन्तहरू फर्के। जमिनदारले एक हप्तापछि मुसनीलाई घर पठाइदिन समाचार पठाएका थिए। मुसनीले घर जान पटक्कै मन गरिनन्। उनले आमाबुबासँग सयौँपटक ‘म त्यो घर जान्नँ, जमिनदारसँग बस्दिनँ’ भन्ने प्रयास गरिन्, तर बाआमाको दुःख देखेर केही बोल्न सकिनन्।

उनी माइतीमा बसेको एक हप्ता बितेको थियो। उनलाई एक हप्ता चाँडै बितेजस्तो लाग्यो। जमिनदारले उनलाई लिन पालकीले सजाइएको बैलगाडा पठाएका थिए। आमाले बिहानै जाँतोमा पिठो पिसिन्, दिउँसो तीन सोरै तेलपौर रोटी बनाएर कोसेली तयार पारिन्। नयाँ सारीमा सिँगारिएर मुसनी घर फर्कन तयार भइसकेकी थिइन्। बिदाइ हुने बेलामा उनका आँखा आँसुले लतपतिएका थिए। यो देखेर  उनकी आमा पनि रोइन्। आमाछोरी रोएको देखेर बाले एक लोहोटा पानी ल्याइदिए। छोरीको पिठिउँमा थपथपाउँदै आमाले मुसनीलाई पानी खुवाइन्। यसपछि आमाले उनलाई पाल्कीमा बसाइन् । बैलगाडा धेरै टाढा गइसक्दा पनि मुसनीका बाआमा उतैतिर हेरिरहेका थिए।

मुसनी घाम नअस्ताउँदै घर पुगिन्। मुसनी आएको देखेर, ‘मैया येलै ’ (आमा आउनुभयो ।)  भन्दै दुवै छोराहरू आँगनबाट दौडिँदै आए। छोराहरूले मुसनीलाई आँगनमा लगे। उनी आमा शब्द सुनेर लाजले भुतुक्कै भइन्। कताकता खुसी पनि भइन् । बेलुकीको खाना पाक्यो। छोराहरू र जमिनदार खाना खाएर आ–आफ्नो कोठामा सुत्न गए। मुसनी सुत्न जाँदा जमिनदार निदाइसकेका थिए। मलसीमा तेल लिएर मुसनी जमिनदारको गोडानेर बसिन्, गोडा मिच्दै तेल घसिदिइन्। गोडा मिचेको थाहा पाएर जमिनदारले भने, ‘थाकल लागल हेतौ सुत ।’ (थकाइ लाग्यो होला सुत् ।) एकछिनमै जमिनदार घ्वारघ्वार गर्दै निदाए। मुसनीले दुवै गोडामा तेल घसेर मलसी छेउमा राखिन्, जमिनदारको छेउमा लगाइएको ओछ्यानमा पल्टिन्। उनलाई निद्रा लागेन, यताउति पल्टिरहिन्। जमिनदार गहिरो निद्रामा थिए। मुसनी छटपटाउँदै निदाइन्।

यसरी नै दिन बित्दै थिए। उनले बेचनासँग पनि धीत मरुन्जेल  कुरा  गर्न पाउँदिनथिन् किनकि नोकर र मालिकनीको सम्बन्धको तगारो थियो। मुसनी बेचनालाई जस्तै पाठोलाई मन पराउँथिन्, जुन पाठो तीन महिनाको थियो, त्यसको रङ सेतो थियो। आँगनमा कोही नभएको बेलामा उनी पाठोलाई छोरा बोकेझैँ बोक्थिन्, पाठका कान र मुख सुमसुम्याइदिन्थिन्। एक दिन पाठो आँगनमा उफ्रिँदै खेलिरहेको थियो। उनले त्यसलाई समातिन्। पाठो म्याँम्याँ गरेर कराउन थाल्यो। उनले पाठोको टाउको सुमसुम्याइन्। पाठो  कराउन छाड्यो। उनले कान पाठको सुमसुम्याइरहिन्। कान सुमसुम्याइ दिँदा पाठोले  जिब्रो निकाल्दै मुसनीको हात चाट्न थाल्यो। पाठोले हात चाट्दा मुसनीलाई अनौठो काउकुती लाग्यो। उनले आँखा बन्द गरिन्, पाठोलाई कसेर अँगालोमा बाँधिन्। पाठो म्याँम्याँ गर्दै कराएपछि उनले आँखा खोलिन्। आँखा खोलेपछि थाहा पाइन्, पाठोलाई उनले कसेर समातिछिन्। उनले हात खुकुलो पारिन्।

पाठो उफ्रेर भाग्न खोज्यो। उनले पाठोलाई भाग्न दिइनन्। फेरि कसेर पाठोलाई समातिरहिन्। फेरि पाठो म्याँम्याँ गर्दै कराउन थाल्यो। कसैले देख्ला भन्ने डरले उनले पाठोलाई छोडिन्। पाठो दौड्दै गुहालीतिर गयो। मुसनी घरभित्र गएर ओछ्यानमा पल्टिन्। उनले सिरानीलाई कसेर समातिन्। उनको जिउ तातो भइसकेको थियो। जीउमा अनौठो रक्तसञ्चार हुँदै थियो। जमिनदारलाई सम्झेर उनलाई रिस उठ्यो। उनले रिसाउँदै पिच्च थुकिन्। थुक घरको भित्तामा पर्‍यो। उनले वास्तै गरिनन्। पाठो फेरि गुहालीबाट उफ्रिँदै मुसनी सुतेको घरभित्र छिर्‍यो। केहीबेरमा उनी सुतेकै खाटमा चढेर पाठोले म्याँम्याँ गर्न थाल्यो।  आफ्नो छेउमा पाठो आएको देखेर मुसनी धेरै खुसी भइन्। उनले ‘आ, आ’ भन्दै पाठोलाई बोलाइन्। उनको आवाज सुनेर पाठो उनी नजिकै उभियो। उनले पाठोलाई समातेर छेउमा बसाइन्। उनले पाठोको कान सुमसुम्याइन्। पाठोले उनको हात चाट्न थाल्यो। मुसनीले पाठोको ओठ छोइन्। पाठो आँखा चिम्लिँदै–खोल्दै मुसनीको हात चाटिरह्यो। मुसनी अनौठो काउकुतीले छटपटाइरहेकी थिइन्। 

अबोध पाठोलाई मुसनीको पीडा थाहा थिएन। पाठो उनको छेउमा टुक्रुक्क बस्यो। उनी बिस्तारैै पाठोको जिउ सुमसुम्याउँदै खाटमा पल्टिरहिन्। पाठोलाई आफूतिर तानिन्। फेरि म्याँम्याँ गर्दै पाठो करायो। उनले पाठोलाई फेरि सुमसुम्याउन थालिन्। पाठो  कराउन छाड्यो। पाठोलाई सुमसुम्याउँदै मुसनी खाटमा पल्टिरहिन्। मुसनीलाई आफ्नो लोग्नेभन्दा पाठोकै बढी माया लाग्थ्यो। किनकि पाठोले मुसनीलाई छोड्दैनथ्यो। मुसनीलाई जतिबेला एक्लो अनुभव हुन्थ्यो, त्यतिबेला पाठोलाई अँगालोमा बाँधेर मनभित्रको छटपटी शान्त पार्थिन्। एक दिन घरभित्र छिरेर पाठोले धेरै चामल खायो। भोलिपल्ट पाठोको दिसा–पिसाब  बन्द भयो। पाठो  घोसेमुन्टो लगाएर आँगनमा बसिरहेको थियो। पेट डुम्म फुलेको थियो। मुसनीले पाठोलाई आफूतिर तानिन्। पाठो बिरामी भएको  उनलाई थाहा थियो। उनले पाठोको कान छामिन्, कान चिसो थियो। पेट सुमसुम्याइन्, पेट डम्म फुलेको थियो।

चुलोबाट उनले गुइँठाको आगो ल्याइन्, खोजखाज गरेर सानो टालो पनि ल्याइन्। टालो आगोमा तताउँदै पाठोको कान सेकिदिन थालिन्, पाठोको जिउभर सुमसुम्याइन्। पाठो घोसे मुन्टो लगाएरै बसिरहेको थियो। पाठोले  मुसनीको हात चाटेन, केही प्रतिक्रिया देखाएन। मुसनीलाई निकै नरमाइलो लाग्यो। उनले पाठोलाई निको बनाउने अनेक उपाय सोचिन्। मुसनीले दिउँसो खाना खान आउँदा जमिनदारलाई पाठोको पेट फुलेको सुनाइन्। जमिनदारले भने, ‘पाइन नै पियैले दहै। नेत मोरतै पठरु।’ (पानी खान नदे। नत्र मर्छ पाठो ।) पाठो हिँड्न सकेको थिएन। मुसनीले पाठोलाई बोकेर गुहालीमा लगिन्, बाख्रीको छेउमा बोरा ओछ्याएर त्यहीँ बसाइन्। बाख्रीले पाठोको कान चाट्न थाल्यो। मुसनी बाख्रीको माया देखेर भावविह्वल भइन्। केहीबेरपछि उनी आँगनतिर आइन्। रातभरि मुसनी निदाउन सकिनन्। पाठोलाई के भयो होला भनेर उनी छटपटाइरहिन्। जमिनदार भने मस्त निद्रामा थिए। मुसनी राति उठेर गुहालीतिर गइन्। उनी निस्केको चाल पाएर जमिनदारले भने, ‘कत जाइचिही ?’ (कहाँ जान लागेकी ?) मुसनीले भनिन्, ‘पठरु के देखैले जाइचियै ।’ (पाठोलाई हेर्न जाँदै छु ।)

उनी गुहालीमा गइन्। पाठो बोरामा घोसे मुन्टो लगाएर बसिरहेको थियो। उनले पाठोलाई बोकेर घरमा ल्याइन्। जमिनदारले भने, ‘पठरु ठिक भेलौ ?’(पाठोलाई ठीक भयो ?) मुसनीले भनिन्, ‘नै ठिक भेल छै।’ (ठीक भएको छैन ।) उनले खाटछेउमै भुइँमा बोरा बिछ्याएर पाठोलाई बसाइन्। जति रात बित्दै थियो, त्यति नै पाठो म्याँम्याँ गर्दै कराइरहेको थियो। जमिनदार निदाउन सकेका थिएनन्। पाठो कराएको सुनेर मुसनीलाई पनि नरमाइलो लागिरहेको थियो। अर्को कोठामा छेराहरू पनि निदाउन सकेका थिएनन्। मुसनीले पाठोलाई गुहालीमा लगेर बाख्रीको छेउमा बसाइन्। यसपछि उनी कोठामा आएर खाटमा पल्टिन्। पाठो म्याँम्याँ गरेर कराएको प्रस्टै सुनिन्थ्यो। बिस्तारै पाठो  कराएको सुनिन छाड्यो। मुसनी पनि निदाइन्। बिहान उठ्नेबित्तिकै मुसनी गुहालीमा गइन्। पाठो मरिसकेको थियो। यो देखेर मुसनी रुन सकिनन्। उनको मन खिन्न भयो । तीन महिनापछि मुसनी बेचनासँग भागेको खबर फैलियो। त्यस्तै, जमिनदारले फेरि धुमधामसँग अर्को समध गरेको सुनियोे।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App