कला–प्रेम

‘अडासियस अमिकेबल’ अर्थात् साहसी र आत्मीय यात्रा

शनिबार, ०३ फागुन २०७६, ०९ : २३ ध्रुवसत्य परियार

मानिसको एक जोडी स्वतन्त्र उडिरहेका छन्। उनीहरूको नजिकै पूर्ण आकारको जून छ, ठीकअगाडि मयुर। उनीहरू मुनि माछाहरू आनन्दपूर्वक पौडिएझैँ देखिन्छन्, वरपर फूल फुलिरहेछन्। स्त्रीको कपाललाई काइँयोले आकार दिएको छ। कपालमा मयुरका प्याँखको झलक दिने गरी काइँयो उनिएको छ, जसकारण लामो कपाल आकर्षक लाग्छ। यस्तो प्राकृतिक दृश्यमा ‘भर्चुअल दुनियाँ’को ‘इमोजी स्टिकर्स’ पनि टाँसिएका छन्।

सविता भन्छिन्, ‘योचाहिँ भावना वा प्रतिक्रियाको विम्ब हो, जो अहिले सामाजिक सञ्जालमा ट्रेन्डमा छ। हामी पनि सामाजिक सञ्जालमा केही पोस्ट गरेर त्यसमा प्रतिक्रिया चाहन्छौँ। तर, सम्बन्ध अरुको प्रतिक्रियाभन्दा माथि हुनुपर्छ भन्ने लाग्छ।’ गएको महिनाको अन्तिम साता (२३–२७ माघ) चित्रकार सविता डंगाेल र इशान परियारको युगल चित्र प्रदर्शनी भयो– काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा। प्रदर्शनीको शीर्षक थियो, आत्मीयता। चार वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेका यी जोडीले प्रदर्शनीमा प्रेमिल सम्बन्ध झल्काउने चित्रहरू राखेका थिए।

सविताले सिर्जना गरेको उपरोक्त चित्रको शीर्षक हो– अडासियस अमिकेबल, जसले साहसी र आत्मीय यात्राको अर्थबोध गराउँछ। कस्तो अनौठो र आकर्षक शीर्षक ! के आत्मीय यात्राका लागि पनि साहस चाहिन्छ ?

सविताले सिर्जना गरेको उपरोक्त चित्रको शीर्षक हो– अडासियस अमिकेबल, जसले साहसी र आत्मीय यात्राको अर्थबोध गराउँछ। कस्तो अनौठो र आकर्षक शीर्षक ! के आत्मीय यात्राका लागि पनि साहस चाहिन्छ ? ‘हो, यो रुढीवादी समाजमा आत्मीय यात्राका लागि साहस चाहिन्छ,’ सविता भन्छिन्, ‘वास्तवमा यो चित्रले हाम्रै प्रेम–सम्बन्धको कथा भन्छ। इशान र मेरो सम्बन्ध अगाडि बढ्न एउटा समस्या थियो– हाम्रो फरक जात (नेवार र दमाई)। त्यसलाई सुल्झाएर हामीले बिहे गर्‍यौँ। हामी समस्यामा गुजुल्टिएर बसेनौैँ, जसरी यो चित्रमा काइँयोले कपाललाई गुजुल्टिनदेखि जोगाएको छ।’

यसपटकको प्रदर्शनीमा राखिएका सविताका सबै चित्रमा काइँयोलाई विम्बका रूपमा ल्याइएको छ। सविताका लागि काइँयो ‘मेटाफोर’ मात्रै होइन, ‘फिलोसफी’ पनि हो। सुरुसुरुमा उनले स्त्रीको चित्र कोर्दा कपालसँग खेल्न थालिन्। कपाललाई सौन्दर्य थप्ने वा आकार दिने रिबन, डोरी, क्लिप हुँदै उनी काइँयोसम्म पुगिन्। काइँयोबारे एउटा चर्चित कहावत छ, ‘अनुभव यस्तो काइँयो हो, जुन प्रकृतिले हामीलाई हाम्रो कपाल झरिसकेपछि दिन्छ। आफ्ना चित्रमा काइँयो ल्याउँदाल्याउँदै उनलाई महसुस भयो– काइँयो समस्या समाधानको प्रतीक हो। काठमाडौंको ललितकला क्याम्पसमा चित्रकला पढ्दै गरेका सविता र इशान प्रेममा परेपछि एउटा ठूलो प्रश्नको सामना गर्नुपर्‍यो। सविताका बुवाले भने, ‘इशान जस्तो ज्वाइँ अरु पाइँदैन होला, तर जात नमिल्दा समाजले के भन्छ ?

त्यसपछि सविताले बुवालाई सम्झाइन्, ‘हेर्नुस् बुवा, समाज हामीले बनाउने हो। समाजले त प्रगति गर्दा इष्र्या गर्छ, कमजोर हुँदा दया गर्छ। जातभात मान्नु समय सुहाउँदो कुरा होइन। यो जिन्दगी बाँच्ने मैले हो, मलाई इशान नै सहज लाग्छ भने समाजको के कुरा ! आज मैले समाजकै भनाइ माने पनि भोलि मलाई दुःख पर्दा समाजले हेर्ने होइन ।’ पढेलेखेकी छोरीले सम्झाउँदै गएपछि अन्ततः इशानलाई ज्वाइँ स्विकार्न सविताका बुवा तयार भए। सविता भन्छिन्, ‘हामीसँग समस्या छन्, तिनलाई सुल्झाउन सकिन्छ। यस अर्थमा मलाई काइँयो सकारात्मक सोच र समस्या समाधानको प्रतीक लाग्यो।’

प्रभावित भएको पल
भनिन्छ, कुनै व्यक्तिसँग प्रेम वा सम्बन्ध हुनका लागि कि ऊबाट प्रभावित हुनुपर्छ, कि त उसलाई प्रभावमा पार्नुपर्छ। यो जोडी पनि प्रेममा पर्नका लागि एक–अर्काबाट बेजोड प्रभावित भएका थिए। आइएफए (इन्टरमिडियट फाइन आर्ट) दोस्रो वर्षको पढाइ चल्दै थियो, एकपटक कक्षामा जस्मिनराज भण्डारीले विद्यार्थीसँग छलफल गरिरहेकी थिइन्, छलफलको विषय थियो– कला, सम्पदा र मन्दिरहरू। त्यतिबेला इशानले पाटनस्थित कृष्ण मन्दिरको कलाबारे विस्तृत रूपमा बताए।

सविता भन्छिन्, ‘त्यतिबेलै इशान मेरो ख्यालमा परेको थियो। काठमाडौंकै भएर पनि मलाई त्यसबारे थाहा थिएन। तर उसको कलाप्रतिको त्यत्रो लगाव देखेर म प्रभावित भएकी थिएँ। प्राक्टिकलमा नभए पनि थ्यौरीमा म आफूलाई जान्ने सम्झन्थेँ। थ्यौरीमा पनि इशान मभन्दा जान्ने भएर आएको थियो।’ है ! प्रेम हुनका लागि ‘इगो’ पनि चाहिन्छ। सविता भन्छिन्, ‘अहिले त यो मान्छे मेरै लागि पठाइदिएजस्तो लाग्छ।’ इशान चित्रकलामा कक्षामै अब्बल थिए। कलेजमा हुने प्रतियोगितामा उनी प्रायः प्रथम हुन्थे। कक्षामा प्राक्टिकल हुँदा धेरैले इशानलाई घेर्थे। सविता पनि इशानको छेउछाउ पुग्थिन्। कक्षाबाट बेलाबेला ल्यान्डस्केप पेन्टिङका लागि विद्यार्थीहरू बाहिर जानुपथ्र्यो। कसो–कसो सविता र इशान एउटै समूहमा पर्थे। सायद दुवैको चाहना र रुचि त्यस्तै हुन्थ्यो। इशान भन्छन्, ‘समूहमा काम हेर्दा मलाई सविता विशेष लाग्थ्यो। उसको चित्रमा केही न केही कन्सेप्ट हुन्थ्यो, फरकपन हुन्थ्यो। उनले त्यत्तिकै दृश्यलाई चित्रमा उतार्दिनथिन्। एकपटक उनले एउटा चित्र कोरिन्, स्याउबाट मानिसको अनुहार ल्याएर। उनको त्यो प्रयोग र संयोजन मलाई मनपरेको थियो।’

प्रस्ताव
एकपटक नगरकोटमा एउटा वर्कसप र पिकनिक भएको थियो, सबै ललितकलाकै विद्यार्थी थिए। नगरकोट जाँदै गर्दा सविता बसभित्र सिटमा थिइन्, इशान छतमा। त्यतिबेला सवितालाई इशानसँग छुट्टिएको महसुस भयो। सविता भन्छिन्, ‘मैले उसलाई मिस गरेँ। बसमा अरु साथीसँग त्यति घुलमिल थिइनँ, उही त रहेछ मेरो साथी भन्ने लाग्यो। अनि, उसको मोबाइलमा मिसकल गर्दै बसेँ। फर्कंदा त ऊसँगै बस्न मन लाग्यो, म पनि छतमा गएँ। उसको मोबाइलमा एयरफोन लगाएर दुवैले एउटा–एउटा कानमा गीत सुन्यौँ– लक्की अलिको गोरी तेरी आँखे कहें, रात भर सोयी नहीं...। यो गीतले ममा ऊप्रतिको प्रेमको भावना ल्याएको थियो ।’

यही गीत इशानको मोबाइलमा किन थियो त ?लक्की इशानका मनपर्ने गायक हुन्। इशान भन्छन्, ‘यो गीतमा कता–कता मैले सवितालाई पाउँथे, तर भन्ने मौका मिलिरहेको थिएन ।’ नगरकोटबाट फर्केको दुई–तीन दिनपछि इशानले सवितालाई फोन गरेर भने, ‘म तिमीलाई मन पराउँछु ।’ सविताले तत्कालै कुनै जवाफ दिइनन्। यति मात्रै भनिन्, ‘ठीकै छ भेटेर कुरा गरौँला ।’ भोलिपल्ट उनीहरूले जमलको एउटा क्याफेमा भेटे। सविताले भनिन्, ‘विवाहसम्म जाने हो भने ठीक छ, नत्र यत्तिकै ठीक छ। म फ्यान्टा (क्षणिकको अर्थमा) लभ चाहिँ गर्दिनँ।’ इशानले उनलाई विश्वस्त पारे, वाचा गरे– जीवनभरिको साथी बन्नेछु। त्यसपछि उनीहरूको प्रेमिल सम्बन्ध सुरु हुन्छ। इशानले प्रेमप्रस्ताव गरेको दिन सविताले अझै बिर्सेकी छैनन्– ०६४ जेठको १७ गते।

भावाभिव्यक्ति
पाषाण युगदेखि नै मानिसले भाव अभिव्यक्ति गर्ने सशक्त माध्यम बन्दै आएको छ, कला–साहित्य। चित्रकलाको इतिहास र उद्भव खोतल्न गुफाहरूसम्म पुग्नुपर्छ। स्पेनस्थित अल्तामिरा गुफाको उत्खननपछि त चित्रकलाको खोज–अनुसन्धानमा दुनियाँलाई चकित पार्ने खालका नयाँ तथ्य र रहस्यहरू बाहिर आए। भारतीय लेखक चिरंजी लाल झाको पुस्तक ‘विश्वकी चित्रकला’मा उल्लेख छ, ‘पाषाण युगमा मानिसको सांस्कृतिक विकासको दृष्टिगोचर हुन थाल्छ। यसका साथै मानवभित्र सौन्दर्यानुभूतिको पनि विकास हुन्छ, जसको अभिव्यक्ति गुफाहरूको भित्तेचित्र तथा त्यतिबेला मानिसले प्रयोग गर्ने हतियार आदिमा अंकित आकृतिका रूपमा हुने गर्दथ्यो।’

इशान–सविताको जोडीले चित्रकलाका माध्यमबाट आफूहरूको प्रेम, सपना, चाहना र भावनालाई व्यक्त गर्दै आएका छन्। एकपटक त इशानले सविताप्रतिको प्रेम व्यक्त गर्न कविताको सहारा लिएर ‘सरप्राइज’ दिए। गोर्खा एफएममा शेली राईले ‘पिस आवर’ कार्यक्रम चलाउँथिन्, रातको ११ देखि १२ बजेसम्म आउने यो कार्यक्रममा हिन्दी गीतहरू बज्थे। भर्खर–भर्खर प्रेममा परेकाले होला, यो कार्यक्रम इशान र सविता दुवैले सुन्थे। सविताले सुनिरहेका बेला शेली बोलिन्, ‘इशान परियारले आफ्नो डियरका लागि कविता पठाउनुभएको छ– शून्य रातको सिरेटोमा तिम्रो यादले... ।’ आफ्ना लागि समर्पित कविता सविताले २०६५ भदौ १० गते एफएममार्फत सुनेकी थिइन्, त्यसको १९ दिनपछि सविताले यसको जवाफ लेखेर इशानलाई दिइन्। यही कवितालाई पनि उनीहरूले चित्रको रूप दिएका छन्।

प्रेमको डुंगा
प्रदर्शनीमा राखिएका इशानका प्रत्येक चित्रमा डुंगा विम्बको रूपमा आएको छ। डुंगा एउटा किनारदेखि अर्को किनारमा पुग्ने माध्यम हो। मानिसको जीवन यात्रासँग जोडेर हेर्दा डुंगाको विम्बले विराट अर्थ दिन्छ। उनका चित्रमा डुंगासँगै संस्कृति, सम्पदा र सम्बन्धले सवार गरेका छन्। इशानलाई बोध छ– सम्पदा, संस्कृतिहरू मानिसको सभ्यताका डुंगा हुन्। मानिसको जीवन र सभ्यताको इतिहासले पनि कला–संस्कृतिकै सहारा या डुंगामा यात्रा गरिरहेको हुन्छ । कति चित्रमा उनले आफूहरूको जोडी र सपनाहरूलाई डुंगामा हालिदिएका छन्। इशान भन्छन्, ‘डुंगा गन्तव्यमा पुग्ने साधन हो। यसलाई मैले यात्राको विम्बको रूपमा चित्रमा ल्याएको छु। मेरा चित्रमा डुंगाले यात्रा मात्रै नभएर समय, विकास, सभ्यता र संस्कृतिलाई पनि संकेत गरेको छ।’ इशानले डुंगालाई विम्बको रूपमा स्नातकोत्तर दोस्रो वर्ष पढ्दादेखि प्रयोग गर्न थालेका हुन्। तर, डुंगाप्रतिको उनको चासो र साइनो भने सानै उमेरदेखि सुरु हुन्छ।

कास्कीको पोखरा–१५, टुटुङ्गामा घर भएका इशानले सात–आठ वर्षको उमेरमा फेवाताल र डुंगा देखेका थिए। विशाल पानीको तालमा डुंगाहरू देख्दा उनलाई अर्कै दुनियाँमा पुगेको अनुभव भएको थियो। सायद त्यो अवचेतन मनमा गढेछ क्यारे ! अहिले उनको चित्रको मेटाफोर बनेको छ, डुंगा। पोखरा छँदै उनी फेवातालको छेउमा गएर चित्र कोर्थे।

एकपटक उनले तालबाराही मन्दिरछेउ बसेर नियालिरहेका थिए। त्यहाँ डुंगामा बसेर तालबाराही मन्दिरको दर्शन गर्न जानेहरू र आउनेहरू थुप्रै थिए। उनलाई लाग्यो– एउटा डुंगामा असल वा खराब जस्तोसुकै मानिस बस्न सक्छ। डुंगाबारे चिन्तन गर्दै जाँदा उनी यो निष्कर्षमा पुगे– डुंगामा सवार मानिसहरूमा आत्मीयता हुनुपर्छ।

यता सविताको दर्शन– काइँयोले कपालका जगल्टा सुल्झाएझैँ समस्या सुल्झाउँदै आत्मीय यात्रा गर्नुपर्छ। उनीहरूको बुझाइ मिल्यो र यसपालिको युगल प्रदर्शनीको नाम नै राखियो– आत्मीयता। इशान भन्छन्, ‘कलाकार डायनामिक हुन्छ, हामीले भोलि अर्कै दर्शन र विम्बको सहारा लिन सक्छौँ।’ इशानको चित्रकला यात्रा श्रीसिद्ध मावि, फलेपाटनमा कक्षा २ पढ्दादेखि सुरु भएको हो। त्यतिबेला डाँफेको चित्र कोर्दा उनलाई शिक्षक (ऋषि भण्डारी) ले खुब प्रशंसा गरेका थिए। जीवनमा उनको कामले यतिविघ्न प्रशंसा पाएको त्यो नै पहिलोपटक थियो। स्कुलमा चित्रकला विषयको पढाइ नहुने भए पनि उनले अभ्यास गरिरहे।

८ कक्षा पढ्दा रेडक्रसले जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गर्‍यो, उनले भाग लिए र तेस्रो भए। यसपछि उनलाई झनै हौसला भयो, अन्य प्रतियोगितामा भाग लिइरहे– प्रथम, द्वितीय भइरहे। एसएलसीपछि उनी चित्रकार बुद्धि गुरुङ (हाल नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य)को सम्पर्कमा पुगे र झन्डै दुई महिनाजति चित्रकला सिके। यही सम्पर्क र सिकाइका कारण उनले सिर्जनशील कलाकार समूहको ‘पिएसएम आर्ट ग्यालरी’मा कर्मचारीको काम पाए। त्यहीँ काम गर्दै कालिका क्याम्पसबाट आइए र जनप्रिय क्याम्पसबाट बिए गरे, अंग्रेजी साहित्य र समाजशास्त्र विषयमा। तर, उनको रुचिको विषय चित्रकला थियो, अन्ततः उनी चित्रकला पढ्न ललितकला क्याम्पस पुगे। जहाँ सविता पनि चित्रकला पढ्न पुगेकी थिइन्।

काठमाडौं, टेकुकी सविताले ०५७ को एसएलसीमा ८० प्रतिशत ल्याएर विश्व निकेतन स्कुल टप गरेकी थिइन्। विशिष्ट श्रेणी ल्याउनेले साइन्स नै पढ्नुपर्छ भन्ने समाजमा जुन मान्यता छ, सविता पनि त्यसकै सिकार भइन्। आइएससी भर्ना भएकी उनी सरासर पास हुन सकिनन्, किनभने सरकारी स्कुल पढेकाले उनी अंग्रेजीमा कमजोर थिइन्। त्यसपछि उनी अंग्रेजी सिक्ने, त्रि–चन्द्र कलेजबाट बिए गर्ने धुनमा लागिन्। तर, उनको रुचि चित्रकलामा थियो। उनी सानैदेखि चित्र कोर्थिन्। उनको घरअगाडि ट्रक पार्किङ गरिएको हुन्थ्यो। ट्रकको बाहिरी भागमा हिमाल, पहाड आदि दृश्य हुन्थे। सविता ती दृश्यलाई जस्ताको तस्तै उतार्ने कोसिस गर्थिन्। उनलाई चित्रकला पढाउने क्याम्पस छ भन्ने पनि थाहा थिएन। थाहा पाएर त्यहाँ पुग्दा इशानसँग भेट भयो।

विवाह
चित्रकलामा इशानले राम्रो गर्दै गए। इन्टरमिडियटमा टियु नै टप गरे। त्यही साल प्रशान्त स्मृति अवार्ड पाए। सविताले पनि चित्रकलामा प्रगति गर्दै गइन्। सन् २०११ मा ‘क्यामेल आर्ट फाउन्डेसन’को प्रतियोगितामा उनको पेन्टिङ छानियो, उनी अवार्ड लिन भारतको कोलकाता जानुपर्ने भयो। यतिबेला सविताको परिवारले इसानलाई सविताको साथी भएर भारत जान भने। त्यतिबेलासम्म इशान सविताको घरमा आउने–जाने गर्थे। सविताको परिवारले उनीहरूबीच प्रेम छ भन्ने शंका गरिसकेको थियो। इशानको स्वभाव, बोली–व्यवहार, मेहनतलाई सविताको परिवारले राम्रो मान्थ्यो । इशानको गुजारा चित्र बेचेरै हुने गथ्र्यो। पोखरामा एकल चित्र प्रदर्शनी गरेर चित्र बेचेको पैसाले उनी काठमाडौं आएका हुन्। काठमाडौंमा उनले विभिन्न प्रतियोगिता जितिरहन्थे। ठमेलको निर्वाण आर्ट ग्यालरीलाई बिक्रीका लागि चित्र दिन्थे।

चित्रकलामा दुवैले स्नातकोत्तर गरिसकेपछि एकपटक इशान बिरामी परे। त्यतिबेला उनको हेरचाह गर्ने कोही भएन। यही बेला सवितालाई लाग्यो– अब बिहे गर्नुपर्छ। परिवारसँग सल्लाहपछि उनीहरुले भद्रकाली मन्दिरमा बिहे गरे– ०७२, २१ माघमा। बिहेमा सविताको परिवार, आफन्त र इशानको परिवार भेला भएको थियो। विवाहपछि उनीहरु टेकुमा फ्लाट लिएर बसे, चित्रकलाको साधनामा लागिरहे। आजसम्म कति चित्र कोरेँ भन्ने इशान र सविता दुवैलाई थाहा छैन। चित्र बेचेर, चित्रसँग सम्बन्धित काम गरेर यो दम्पतीले थानकोटमा घडेरी किनेको छ। छिटै आफ्नै घरको ग्यालरीमा चित्र कोर्ने दुवैको सपना छ ।
‘अनि बच्चा ?’ सविता भन्छिन्, ‘बच्चा भएको छैन। आउँदो नोभेम्बरमा सिद्धार्थ ग्यालरीमा मेरो सोलो एक्जिबिसन छ। त्यहाँ एक्जिबिसन गर्न पाउनु एउटा नेपाली कलाकारका लागि ठूलो सफलता हो। अहिले यसकै तयारीमा छु। त्यसपछि... ।’
इशान बीचैमा बोल्छन्, ‘सधैँ अर्को वर्ष, अर्को वर्ष भन्छिन्, ढिला भइसक्यो ।’
सविता जोडले हाँस्छिन्।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad